ad ad

खेल


विश्वकपअघि नेपालको एसियाकप यात्रा : इतिहास रच्ने योजनामा युवा टोली


लक्ष्मी जि.सी
मंसिर २१ , काठमाडौँ

अर्को महिना दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपअघि नेपाली युवा क्रिकेट टोलीले फेरि एकपटक आफ्नो क्षमताको परीक्षा गर्दै छ।

शुक्रबारदेखि यूएईमा हुने एसीसी यू-१९ एसियाकपमा खेल्दै नेपालले विश्वकपअघि आफ्नो क्षमता देखाउने भएको हो। एसियाली क्षेत्रका पावर हाउससँग नेपाली टोलीले फेरि एकपटक आफूलाई अब्बल प्रमाणित गर्ने अवसर छ।

एसियाकपमा नेपालले भारत र पाकिस्तानसँगै अफगानिस्तानसँग समूह चरणमै खेल्ने छ।

अघिल्लो महिना मलेसियामा भएको एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै नेपालले एसियाकपमा स्थान बनाएको थियो। त्यसअघि गत फागुनमा घरेलु टोली यूएईलाई हराउँदै नेपालले सन् २०२४ को जनवरी फेब्रुअरीमा हुने यू-१९ विश्वकप तय गरेको थियो।

नेपाली क्रिकेट टोली पछिल्लो समय लगातार सफलताको सिँढी चढिरहेको छ। सिनियर टोलीले पाइरहेको सफलताबाट प्रेरित युवा टोली पनि त्यही बाटोमा अघि बढिरहेको छ।

भिडिओ

उमेर समूहमा नेपालले खेलेका पछिल्ला दुई प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ। च्याम्पियन छवि बोकेको नेपाल एसियाकपमा पनि त्यही नतिजा दोहोर्‍याउन चाहन्छ।

त्यति मात्र होइन, उमेर समूहमा यसअघि नै टेस्ट टोलीलाई हराइसकेको नेपाल उच्च मनोबलमा हुनेछ। सिनियर टोलीमा पनि अनुभव बटुलिसकेका देव खनाल कप्तान रहेको नेपाली युवा टोली एसियाकपमा भारत र पाकिस्तानसँग खेल्न पाउँदा उत्साहित छ। नेपालको उमेर समूहबाट तीन शतक प्रहार गर्ने देव एक्ला हुन्।

यसअघिको टोलीबाट अलराउन्डर र गुल्सन झा, बाँया हाते ब्याटर विपिन रावल, लेगस्पिनर तिलक राजभण्डारीलाई समेट्दै मुख्य प्रशिक्षक जगत् टमाटाले टोली घोषणा गरिसकेका छन्। यी खेलाडीले एसियाकपका लागि स्थान बनाउँदा तीव्र गतिका बलर दुर्गेश गुप्ता, मिलन बोहोरा र दीपक बोहरा टोलीमा अटाउन सकेनन्।

नयाँ तीन खेलाडीको आगमनले टोली अझै सशक्त भएको कप्तान खनाल बताउँछन्। पहिलोपटक भारत र पाकिस्तानसँग खेल्न लागेका देव उत्साहित रहेको सुनाउँछन्।

उनले भने, ‘टोलीको आवश्यकताअनुसार नै तीन खेलाडी थपिएका हुन्, उनीहरूको आगमनले टोली ब्यालेन्स छ। एसियाकपमा हाम्रो लक्ष्य टेस्ट टोलीलाई हराएर सेमिफाइनलमा जाने हो।’

नेपालले यूएईमा लगातार दोस्रोपटक खेल्न लागेको हो। यसअघि यूएईमै प्रिमियर कप खेलेको नेपालले एसियाकप पनि त्यहीँ खेल्न लागेको हो। तर पहिले र अहिलेका मैदान फरक छन्।

यसअघि एसियाकपमा नै सिनियर टोलीले भारत र पाकिस्तानको सामना गरिसकेको छ। त्यो समयमा सिनियर टोलीबाट भारत र पाकिस्तानसँग खेलिसकेका गुल्सन झा फेरि यू-१९ टोलीबाट खेल्दै छन्। गुल्सन सन् २०२१ पछि फेरि यू-१९ टोलीमा फर्किएका हुन्।

उनले एकै वर्ष दुईपटक भारत र पाकिस्तानको सामना गर्दै छन्। गुल्सनले यसलाई आफ्ना लागि अवसर मानेका छन्। गुल्सन उत्कृष्ट खेल खेलेर राम्रो नतिजा ल्याउने योजनामा छन्। यू-१९ समूहमा पनि गुल्सन सिनियर टोलीमाजस्तै अलराउन्डर भूमिकामा हुनेछन्।

टोलीका खेलाडीहरुले निकै मेहनत गरिरहेको गुल्सन सुनाउँछन्।

उनले भने, ‘टोली ब्यालेन्समा रहेको महसुस गरेँ। आफ्नो अनुभवलाई प्रयोग गर्दै टोलीलाई जिताउन लाग्नेछु, नजिता आफ्नो हातमा नभए पनि मिहिनेत त आफ्नो हातमा छ, त्यसैले टोलीलाई राम्रो नतिजा दिलाउने प्रयास गर्नेछु।’

यसअघि पनि यू-१९ नेपालले भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेशजस्ता टेस्ट टोलीलाई हराइसकेको छ। त्यसैले नेपाल त्यो इतिहास दोहोर्‍याउने योजनामा छ।

एसियाकप पछि नेपालले यू-१९ विश्वकप खेल्नेछ। विश्वकपको समूह चरणमै नेपालले पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग खेल्नेछ।

यसअघि श्रीलंकामा विश्वकप हुने भनिए पनि पछि दक्षिण अफ्रिकामा सारिएको हो।  

घरेलु मैदानमा दुई साताको प्रशिक्षणपछि नेपाली टोली बुधबार यूएई जाँदै छ। भारत पाकिस्तानसँग खेल्ने सबै खेलाडीको रहर हुने भएकाले टोली उत्साहित रहेको मुख्य प्रशिक्षक जगत् टमाटा बताउँछन्।

टेस्ट राष्ट्रसँग खेल्न लागेकाले टोलीमा केही परिवर्तन गरिएको टमाटाको भनाइ छ। 

उनले भने, ‘नेपालका बेस्ट खेलाडीहरुलाई टोलीमा राखेका छौँ, तयारी राम्रो भएको छ। एसियाकप हाम्रा लागि राम्रो अवसर हो। यसले विश्वकपमा राम्रो सहयोग पुग्नेछ। अभ्यासका लागि युवा टोलीले सिनियर टोलीसँग खेलेको थियो। जुन खेलले खेलाडीहरू उत्साहित छन्।’

एसियाकपमा नेपालले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। त्यसैले पनि यो टोलीबाट क्रिकेट समर्थकले ठूलो अपेक्षा राखेका छन्।

युवा टोलीले विश्वकप छनोटदेखि एसियाकप छनोटसम्म लगातार १० खेलमा जित हासिल गरेको छ। त्यसैले पनि युवा टोलीको मनोबल उच्च छ।

तस्बिरहरू : सरोज नेपाल

तस्बिर/भिडिओ : सरोज नेपाल

मंसिर २१, २०८० बिहिबार १०:३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .