ad ad

खेल


दर्शक तान्न संघर्षरत घरेलु फुटबलः एनएसएल हुँदा पनि रंगशाला खाली

नगद पुरस्कार दिँदै फ्रेन्चाइजी क्लबहरू
दर्शक तान्न संघर्षरत घरेलु फुटबलः एनएसएल हुँदा पनि रंगशाला खाली

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
पुस २, २०८० सोमबार २१:४१, काठमाडौँ

विश्वमा फुटबल लोकप्रिय हुनुको महत्त्वपूर्ण कारणमध्ये दर्शकको उपस्थिति हो। व्यावसायिक फुटबल वा राष्ट्रिय टोलीको खेलमा हुने समर्थकको उपस्थितिले पनि विश्वमा फुटबलको लोकप्रियता आकलन  गर्न सकिन्छ। 

नेपालमा पनि फुटबल लोकप्रिय खेलमध्ये हो। केही वर्षअघिसम्म नेपालमा फुटबललाई लोकप्रिय खेलमा नम्बर एक वा दोस्रो समूह खेल भन्न सकिने अवस्था थियो। 

तर, पछिल्लो केही वर्षमा राष्ट्रिय क्रिकेट टोलीप्रति समर्थकहरूको रुचि बढ्दो देखिन्छ। नेपालमा खेलको लोकप्रियताको आधिकारिक सर्वेक्षण भएको छैन। तर, पछिल्लो वर्ष क्रिकेटमा दर्शकको आकर्षण चुलिएको छ।

राष्ट्रिय क्रिकेट टोलीले त्रिवि मैदान र  मूलपानीमा खेल्दा क्षमताभन्दा बढी दर्शक पुग्ने गरेका छन्। लोकप्रियता मापनका एउटा आधार त्यसलााई मान्न सकिन्छ। त्यति मात्रै होइन, क्रिकेट  टोलीले विदेशी भूमिमा खेल्दामा पनि त्यहाँ नेपालीको बाक्लो उपस्थिति हुने गरेको छ। 

दर्शकको उपस्थिति हेर्दा क्रिकेट, भलिबल र फुटबल नेपालमा लोकप्रिय खेलमा पर्दछन्। मोफसलमा फुटबल, भलिबल लोकप्रिय छन्। 
सानाठूला प्रतियोगितामा दर्शकको बाक्लो उपस्थिति हुने गरेको छ। राष्ट्रिय टोलीको सफलताले पनि दर्शकको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्छ। कम्तीमा क्रिकेटले प्राप्त गरिरहेको सफलता र समर्थकहरूको रुचिबाट यति भन्न सकिन्छ। 

पछिल्लो डेढ दशकयता फुटबलमा दर्शकको रुचि कम हुँदै गएको खेल अधिकारी नै स्वीकार गर्छन्। डेढ दशकअघिसम्म राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्दा स्टेडियम भरिने गरेको थियो। 

त्यतिमात्रै होइन, मनाङ मस्र्याङ्दी, थ्री स्टार, पुलिसलगायत टोली लिग वा नकआउटमा एक अर्काविरुद्ध खेल्दा टिकट काट्नेको लामै लाइन हुन्थ्यो।

काठमाडौंमा अहिले नकआउट फुटबल नभएको झण्डै दशक भइसकेको छ। ए डिभिजन लिग हुन्छ तर, दर्शकको उपस्थिति निराशाजनक छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही वर्षअघि लिगमा दर्शकको आकर्षणका लगि पुरस्कार व्यवस्था गरेबाट लोकप्रियता खस्किँदै गएको बुझ्न गाह्रो हुँदैन। त्यसका  वावजुद फुटबल अहिले पनि लोकप्रिय खेलमध्ये एक हो।  

अहिले दशरथ रंगशालामा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चलिरहेको छ। साढे दुई वर्षअघि कोभिडका कारण बिनादर्शक एनएसएल आयोजना भएको थियो। त्यसबेला टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। 

दर्शक घरमा सीमित भएको अवस्थामा त्यसबेलाको एनएसएलको प्रत्यक्ष प्रसारणको भ्युअर्सबाट फुटबल अझै लोकप्रिय रहेको अनुमान गरिएको थियो। त्यसले एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड  इभेन्ट्स म्यानेजमेन्ट उत्साहित थियो। दर्शक एनएसएल हेर्न आतुर रहेको आयोजकको अनुमान थियो। 

तर, दोस्रो संस्करण हुँदा अनुमान गरिए जस्तो दर्शकको उपस्थिति हुन सकेन। केही खेलमा दर्शकको सन्तोषजनक उपस्थिति हुने गरेको छ। तर, समग्रमा एनएसएल पनि दर्शक तान्न सफल हुन सकेको छैन। 

साँझमा फ्लड लाइटमा र कार्यालय समय सकिएपछि फुटबल सञ्चालन गर्दा दर्शकको उपस्थिति बाक्लो हुने आशा थियो। तर,  तीन हजार क्षमताको भीआईपीतर्फ क्षमताभन्दा आधा भन्दा पनि कम र साधारण प्याराफिटतर्फ बीचको भागमाबाहेक सिट खाली नै हुने गरेको छ। 

लामो इतिहास र सामुदायिक आधारमा खडा भएका ए डिभिजन लिगका क्लबहरूको खेलमा त दर्शकको अभाव हुने गरेको पृष्ठभूमिमा दुई संस्करणमात्रै आयोजना भएको एनएसएलमा धेरै समर्थकको अपेक्षा गर्न सकिन्न। 

फुटबल मनोरन्जनका लागि मात्रै हेरिन्न। आफूलाई मन पर्ने क्लबलाई समर्थन गर्न पनि हेरिन्छ। अहिले नै एनएसएलका टोलीको फ्यान फलोइङ बढ्न समय लाग्छ। कारण हरेक वर्ष हुने भनिएको एनएसएल यस पटक साढे दुई वर्षमा हुँदैछ। 

एन्फाको अस्थिर क्यालेन्डरबीच सुरु एनएसएलले थोरै मात्रै भए पनि दर्शक रंगशाला पुग्ने बहाना मिलेको छ। एनएसएल आयोजक र सहभागी ९ टोली पनि समर्थकलाई रंगशालासम्म ल्याउन आ–आफ्नो ठाँउबाट प्रयास गरिरहेका छन्। विभिन्न अफर र स्किम चलाइरहेका छन्। 

त्यसको केही प्रभाव खेलमा देखिन्छ पनि। बुटवलको लुम्बिनीका मार्की खेलाडी एरिक विष्ट एनएसएलमा पछिल्लो समय दर्शकको संख्या बढी रहेको मान्छन्। प्ले अफमा पुग्ने टोलीको अबको केही खेलमा टुंगो लाग्नेछ। एनएसएल आयोजक एनएसएएमका निर्देशक श्रेयांश काकीले दर्शकलाई रंगशाला ल्याउन प्रयास गरिरहेको बताएका छन्। त्यसका बावजुद सोचेजस्तो दर्शक नआउनुमा उनी केही कारण देख्छन्। 

‘पहिलो सिजनमा कोभिड १९ का कारण लकडाउनको समयमा एनएसएल भएको थियो। त्यो समय टेलिभिजनमा भ्युअरसिप धेरै थियो। यो वर्ष स्टेडियम पुग्ने दर्शकहरूको संख्या बढिरहेको छ। टिभीमा पनि दर्शकहरू उत्तिकै हुनुहुन्छ’, उनले भने, ‘घरेलु खेलमा रगंशाला भरिने चलन कमै छ। यो पटक चिसो समयमा खेल हुँदैछ। अरु वर्ष सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा खेलहरू सकिन्थे। यो पटक नोभेम्बरको अन्तिममा लिग सुरु गर्नुपरेको छ। नेपालको विश्वकप छनोटका कारण लिग ढिला भयो।’ 

दर्शकलाई रंगशालामा ल्याउन सहभागी टोलीले गरिरहेको प्रयासको निर्देशक कार्कीले प्रशंसा गरेका छन्। फ्यान फलोइङ एकै रातमा नहुने भन्दै उनले त्यसका लागि केही समय दिनुपर्ने बताउँछन्। 

विभिन्न सहरका नाममा एनएसएल टोली रहेकाले क्षेत्रीयताका आधार, खेलाडी, मालिकसँगको सम्बन्ध, प्रायोजनका आधारमा टोलीका समर्थक बन्ने क्रम छ। आयोजकले एउटा खेलका लागि हरेक क्लबलाई २ सय पास उपलब्ध गराउँदै आएको छ। त्यसबाहेक क्लबहरूले आफ्नो तर्फबाट छुट्टै निःशुल्क टिकट बाढ्ने गरेका छन्।  

दर्शकको सहजताका लागि एनएसएल आयोजकले सप्ताहन्तमा लिग गर्ने सोच गरेको थियो। त्यसले दर्शक संख्या बढ्ने सम्भावना रहने आशा थियो। राष्ट्रिय टोलीका खेलाडी विश्वकप छनोटमा व्यस्त रहेकोले पनि यसपटक सोचे भन्दा ढिला एनएसएल सुरु गर्नुपरेको निर्देशक कार्की बताउँछन्। 

उनले थपे, ‘हामीले समय धेरै पाएको भए विकेन्डमा गर्ने थियौं। यो वर्ष जाडोको धेरै उता नजाउ भनेर छिटो सक्न लागेको हो। आउने वर्षमा समयमै एनएसएल गर्ने प्रयास गर्नेछौं।’ 

दर्शक तान्न क्लबको रोचक अफर
दर्शकलाई रंगशालामा ल्याउन क्लबहरूले अनेक अफर ल्याइरहेका छन्। केही क्लबले सामाजिक सञ्जालमार्फत स्किम सार्वजनिक गरेका छन्। समर्थक ल्याउने मामिलामा ललितपुर सिटी एफसीले प्रयास गरेको छ। अन्य क्लबका खेल हुँदा सुनसान जस्तो देखिने रगंशाला ललितपुरको हुँदा बेग्लै रौनक हुने गर्छ। नेवारी परम्परागत बाजा र गीतसहित दर्शकले खेलको मजा लिने गरेका छन्। हुटिङ पनि सुन्न पाइन्छ। 

ललितपुरले दर्शकका लागि एकै खेलमा दुई हजार टिकट निःशुल्क बाँडेको थियो। ललितपुरविरुद्धको खेलमा चितवनले पनि एक हजार टिकट निःशुल्क वितरण गरेको थियो। 

करेन्ट चाउचाउले बुटवल लुम्बिनीलाई प्रायोजन गरेको छ। त्यसैले लुम्बिनीले करेन्ट चाउचाउको एउटा खोल ल्याउनेलाई खेलको एउटा टिकट उपलब्ध गराउँदै आएको छ। केही क्लबले फेसबुक पेजमा क्विज खेलाएर टिकट बाँडिरहेका छन्। 

फुटबलमा दर्शकलाई १२ औं खेलाडी मानिन्छ। दर्शकको उपस्थिति र समर्थकले खेलाडीको मनोबलमा सकारात्मक प्रभाव पार्ने गर्छ। खेलाडी दर्शकको बीचमा खेल्न उत्साहित हुन्छन्। हाफ टाइममा बज्ने क्लबको थिम गितहरू बज्दा होस् वा खेलका दौरान समर्थकको हुटिङले मैदानमा छुट्टै जोश आउने बुटवलका एरिक बताउँछन्। 

‘दर्शकले जित वा हारमा पनि साथ दिने गरेकोमा एरिक खसी देखिन्छन्। राम्रो खेल्दा पोजेटिभ रेस्पोन्स आउँछ,’ उनले भने, ‘नराम्रो खेल्दा मोटिभेसनल टाइपको म्यासेज पनि आउँछ। बाहिर भेट्दा पनि ठिक छ अर्को खेलमा राम्रो गर्नु भन्नुहुन्छ । त्यसले खुसी लाग्छ।’

आयोजकको प्रयास
लिगको सुरुवातमा अपेक्षा गरेअनुसारको दर्शक नआएपछि एनएसएल आयोजकले खेलको समय नै परिवर्तन गरेको थियो। साढे ५ बजेको समयलाई आधा घन्टाअघि सारेर साँझ ५ बजेबाट सुरु हुने गरेको छ। चिसो बढ्दै जाँदा दर्शकको सख्या घट्दै गएपछि समय परिवर्तन गरे पनि त्यसको  प्रभाव खासै देखिन्न। दर्शकका लागि फुट पार्कको व्यवस्था पनि छ।

आयोजकले हरेक खेलमा ‘फ्यान अफ दि म्याच’ भनेर हरेक खेलमा एक दर्शकलाई पुरस्कृत गर्दै आएको छ। खेलमा उत्कृष्ट फोटो खिचाउने दर्शकलाई छनोट गरेर ५ हजार रुपैयाँ दिने गरिएको छ। उनले प्लेयर अफ दि म्याचसँग फोटो खिच्ने मौका पनि पाउँछन्। 

पछिल्लो केही खेलबाट सेन्टर अफ दि पिचको नयाँ स्किम ल्याएको छ। ललितपुर र एफसी चितवनको खेलबाट सेन्टर अफ दि पिच सुरु भएको हो। जसमा आइएमई पेमार्फत डिजिटल टिकट किनेका दर्शकमध्येबाट एकजनालाई छनोट गर्दै आएको छ। छनोट हुने दर्शकलाई हाफ टाइममा मैदानको सेन्टरबाट खाली पोष्टमा गोल गर्न मौका दिइन्छ। गोल गर्न सफल दर्शकले ५ हजार रुपैयाँ प्राप्त गर्छन्। 

क्लबले फ्यानसँग एसोसियट गर्ने, ब्राण्डले आफ्नो प्रोडक्टसँग एसोसिएट गर्यो भने अझै दर्शक बढ्ने निर्देशक कार्कीको आशा छ। भन्छन्, ‘हामीले, क्लब र प्रायोजकले आ आफ्नो ठाउँबाट  प्रयास गर्ने हो भने विन विन सिच्युसन बन्न सक्छ।’  

एनएसएलमा दर्शक ल्याउन क्लबहरूले गरेको प्रयास राम्रो रहेको ललितपुरका  कप्तान अनन्त तामाङ बताउँछन्। ‘अहिले नेपाली फुटबलको अवस्था सोचेको भन्दा फरक छ। समर्थक नेपाली फुटबलसँग अलिक निराश भएजस्तो लाग्छ’, उनले भने, ‘त्यही भएर क्लबहरूले समर्थकका लागि जस्तो प्रयास गरिरहनु भएको छ। त्यो एकदमै राम्रो हो।’ 

‘क्लबहरूले निःशुल्क टिकट दिनुलाई भने अनन्त राम्रो मान्दैनन्। थोरै टिकट निःशुल्क दिइएको छ’, उनले थपे, ‘अहिले पैसा तिरेर आउने दर्शक पनि धेरै हुनुहुन्छ।’ 

दर्शक बढाउन काठमाडौँ रेजर्सले भने फरक अभ्यास गरिरहेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले  बताए। आफ्नो खेलमा रेजर्सले विद्यायल र कलेजका विद्यार्थीलाई रंगशाला लाने गरेको छ । एनएसएल आयोजकसँगको सहकार्यमा विद्यार्थीलाई निशुल्क रुपमा खेल देखाउँदै आएको छ। 

त्यस्तै सामाजिक सञ्जालमा क्विज खेलाएर त्यसको विजेतालाई पास दिने गरेको छ। लक्की ड्रमा परे पनि टिकट लिन नआउने पनि रहेको अनुभव उपाध्यायले सुनाए। भन्छन्, ‘हाम्रो टार्गेट भनेको कर्पोरेज हाउस हो, कर्पोरेट हाउसको आफ्नै दर्शक भएका कारण फोकस त्यही गरिरहेका छौँ। सँगै स्कुल, कलेजका विधार्थीलाई पनि  फुटबलको मजा लिने मोका दिने प्रयास गरिरहेका  छौँ।’ 

फुटबलमा सकारात्मक भन्दा बढी नकारात्मक समाचार हुने गरेकाले दर्शकको रुचि कम भएको हुन सक्ने उपाध्यायको आकलन छ । नियमित र प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता भएमा विस्तारै दर्शक रंगशाला फर्कन सक्ने आशा गर्न सकिने उनी बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .