ad ad

खेल


तुलाधरको पुनरागमनले विवादको अर्को भुमरीमा एन्फा

तुलाधरको पुनरागमनले विवादको अर्को भुमरीमा एन्फा

लक्ष्मी जि.सी
पुस ५, २०८० बिहिबार १८:५९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) फेरि विवादमा तानिएको छ। त्यसो त वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएदेखि नै एन्फाका निर्णयहरु विवादित हुँदै आएका छन्।

नियमित कार्यक्रम सञ्चालन गर्न पनि नसकिरहेको चुकिरहेको एन्फाभित्र आन्तरिक द्वन्द्व, भागबण्डा र नियुक्तिका कारण विवाद हुने गरेको छ। 

आफू अनुकूल निर्णय गराउन अध्यक्ष नेम्वाङ अधिकांश बैठकअघि बहुमतको जोड–घटाउमा सक्रिय हुन्छन्। फुटबलकै नाममा विदेश यात्रामा पनि निस्किन्छन्। त्यसबाहेकको समयमा भने उनी कमै सक्रिय देखिन्छन्। 

पछिल्लो समय एन्फा विवादमा पर्नुको कारण हो, ए डिभिजन टोली संकटा क्लबका अध्यक्ष तथा आफ्नै पूर्वमहासचिव इन्द्रमान तुलाधरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति। 

नेम्वाङको जोडबलमा आफ्नै नियमावलीविरुद्ध पुस २ गते बसेको कार्यसमिति बैठकले तुलाधरलाई सीईओ नियुक्त गरेको थियो। तर त्यो निर्णय विवादमा पर्‍यो। 

तुलाधरले नेम्वाङसँग सहकार्य गर्न तयार रहेको उद्घोषका साथ एन्फा छिर्दा नेम्वाङकै समूहबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, सदस्यलगायत अर्को समूहबाट निर्वाचित पदाधिकारी सदस्य पनि निर्णयविरुद्ध उत्रेका छन्।  

उनीहरुले कार्यसमिति बैठकको भोलिपल्टै तुलाधारको नियुक्ति नियमावली विपरीत भएको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए। यो निर्णयका विरुद्ध अन्तिमसम्म लड्ने उद्घोष पनि खड्काले गरेका छन्। 

तुलाधरलाई आफूहरुले सीईओ नमान्ने र बहुमतका आडमा नियमावलीविरुद्ध निर्णय गरिनु गलत भएको बताउँदै वरिष्ठ उपाध्यक्ष खड्काले भनेका थिए, ‘यो निर्णयविरुद्ध अनुशासन समिति, राष्ट्रिय खेलकुद परिषद् (राखेप), मन्त्रालयमा जानेछौँ। त्यहाँबाट पनि भएन भने अदालत पनि जानेछौँ।’ 

तुलाधारको नियुक्तिको विरुद्धमा गतवर्ष भएको निर्वाचनमा दुई फरक समूहबाट चुनाव लडेका ३ पदाधिकारीसहित ९ जना कार्यसमिति सदस्य एकै ठाउँ भेला भएका हुन्। ९ जनाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेकै दिन तुलाधरले भने सीईओको पत्र बुझेका छन्। उनको यो नियुक्तिले आगामी दिनमा एन्फामा अझ बढी किचलो हुने संकेत देखिएको छ।

वरिष्ठ उपाध्यक्ष खड्कासहित, उपाध्यक्ष विराटजंग शाही, दीर्घ (कुमार) बहादुर केसी, सदस्यहरु पेमा डोल्मा लामा, रमेश व्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रवीन्द्र चन्द र रुपेश अधिकारी एकै ठाउँमा भेला भए। यद्यपि, पत्रकार सम्मेलनमा व्यञ्जनकार र शाही भने उपस्थित भएनन्। 

सीईओ नियुक्तिसँगै कार्यसमिति बैठकले गरेका अन्य ६ वटा निर्णय पनि विधान विपरीत रहेको भन्दै उनीहरुले विरोध गरेका छन्। 

खड्का नेतृत्वमा रहेको समूहले मध्यपुर युथ एसोसिएसनविरुद्धको कारबाही न्यायसंगत नभएको तथा कार्यसमिति बैठकमा महिला संघको प्रतिनिधित्व नगराउनुलाई पनि गलत भएको बताएका छन्। 

यस्तै विधान विपरीत राष्ट्रिय लिग खेल्ने ४ क्लबको मताधिकार खोसेको, सहायक महासचिव बसन्त अर्यालले राजीनामा दिएको भन्दै अध्यक्ष नेम्वाङले झुटो बोलेको आरोप पनि असन्तुष्ट पक्षले लगाएको छ। 

वरिष्ठ उपाध्यक्ष खड्काले नेम्वाङ नेतृत्वले आफूहरुलाई अनुशासनको कारबाही गर्न लागेको सुनेको बताउँदै आफू त्यसका लागि तयार रहेको समेत बताए। ‘विधानविपरीत भएको निर्णयको विरोध गर्दा कारबाही हुन्छ भने पनि हामी त्यसका लागि तयार छौँ,’ उनले भने।

गत वर्षको निर्वाचनमा कर्मा छिरिङ शेर्पा समूहलाई सघाएका तुलाधर पराजित भएपछि एन्फाबाट टाढिएका थिए। तर शनिबार तुलाधरले पत्रकार सम्मेलन गर्दै आफू वर्तमान अध्यक्ष नेम्वाङलाई सघाउन तयार रहेको बताएका थिए। 

यसअघि भदौ २५ गते तुलाधरले नै पूर्वअध्यक्ष शेर्पा र ए, बी र सी डिभिजन क्लबसँग मिलेर अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव असफल भएपछि तुलाधरले त्यसलाई नै आफ्नो एन्फा पुनरागमनको बिन्दु बनाए।

‘हामीले अध्यक्षलाई हटाउन प्रयास गरेका हौँ। सकेनौँ,’ उनले भनेका थिए, ‘त्यो विशेष साधारण सभाले असफल बनाइसकेको छ। अध्यक्षज्यूले सबैलाई समेटेर अघि बढ्ने भन्नुभएको छ। म मिलेर जान तयार भएको छु।’ 

मिलेर अघि बढ्न उत्साहित भएका तुलाधरकै नियुक्तविरुद्ध निर्वाचित पदाधिकारी र सदस्यगरी ९ जना उत्रिएपछि एन्फा अर्को विवादको भुमरीमा फस्ने देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .