ad ad

खेल


सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनैपर्ने चुनौती

सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनैपर्ने चुनौती

फाइल तस्बिर


लक्ष्मी जि.सी
माघ १२, २०८० शुक्रबार ६:४५, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपमा नेपाल र अफगानिस्तान पहिलो पटक भिड्दै छन्। 

समूह चरणको अन्तिम खेलमा शुक्रबार दिउँसो नेपाली युवा टोलीले अफगानिस्तानसँग खेल्दै छ। 

इस्ट लन्डनमा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। 

अघिल्ला दुई खेलमा पराजित नेपाल र अफगानिस्तान दुवै टोलको नजर सुपर सिक्समा छ। आजको खेलमा पराजित हुने टोली सुपर सिक्स पुग्ने छैन।

समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्डले सुपर सिक्स यात्रा पक्का गरिसकेका छन्। अब नेपाल र अफगानिस्तानमध्ये एक टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। त्यसका लागि यी दुवै टोलीलाई जित चाहिएको छ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १ सय ८१ रनको फराकिलो हार भोगेको थियो। दोस्रो खेलमा भने न्युजिल्याण्डले १ विकेटको साघुँरो जित निकालेको थियो। 

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। 

न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका अर्जुन कुमाल पाकिस्तानविरुद्ध चल्न सकेनन्। पाकिस्तानविरुद्ध अर्जुन ६ रनमै आउट हुँदा नेपाल दबाबमा आएको थियो। 

कप्तान देव खनालले कप्तानी पारी खेल्न नसके पनि न्युजिल्यान्डविरुद्ध ३६ र पाकिस्तानविरुद्ध २३ रन बनाएका थिए।  

अफगानिस्तानविरुद्ध भने अर्जुनले खुलेर खेल्ने आशा गरिएको छ। यसअघि डिसेम्बरमा भएको एसिया कपमा अर्जुनले सर्वाधिक ९१ रन बनाएका थिए। 

एक महिनाअघि नै आमनेसामने भएका कारण नेपाल र अफगानिस्तान दुवैलाई एक अर्काको कमजोरी र बलियो पक्ष थाहा छ। 

त्यसैले नेपाली खेलाडी सम्हालिएर खेल्न आवश्यक छ। अफगानी टोली पनि नेपाली खेलाडीसँग सजग हुनेछन्। 

अफगानिस्तानविरुद्ध आकाश चन्द र सुवास भण्डारीबाट बढी आशा गरिएको छ। किनकी पाकिस्तानविरुद्ध उनीहरुले उत्कृष्ट प्रर्दशन गरेका थिए। 

उता अफगानिस्तानका ब्याटर जम्सिद जड्रान र नुमान शाह नेपालका लागि टाउको दुखाइ बन्न सक्छन्। एसिया कपमा जड्रानले १ सय ६ रनको पारी खेल्दै रिटार्यड आउट लिएका थिए। नुमानले ६० रनको विष्फोटक प्रर्दशन गरेका थिए। 

अल्लाह मोहम्मद गजानफर र खलिल अहमदबाट पनि नेपाली ब्याटर जोगिएर खेल्न आवश्यक छ। 

सिनियर टोलीका अनुभवी अलराउण्डर गुल्सन झा विश्वकपमा चल्न सकेका छैनन्। अनुभवीका रुपमा टोलीमा राखिएका गुलशनबाट सोचेजस्तो प्रर्दशन हुन सकेकोे छैन। एसिया कप र विश्वकप दुवै खेलमा गुलशनको प्रर्दशन बिर्सनलायक छ। 

हेड टु हेड
यू–१९ विश्वकपमा नेपाल र अफगानिस्तान पहिलो पटक भिड्न लागेका हुन्। यसअघि डिसेम्बरमा भएको यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो। 

आजको खेलमा नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ। अफगानिस्तान भने त्यही लयलाई निरन्तरता दिँदै लगातार दोस्रो पटक हराउन चाहान्छ। 

नेपाली टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेशप्रसाद कँडेल, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, तिलकराज भण्डारी, आकाश चन्द, दीपक बोहोरा, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशालविक्रम केसी र विपिन रावल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .