ad ad

खेल


क्रिकेट र फुटबलमा एकै दिन नेपाली टोलीले दिएका तीन खुसी

एउटै खेलमा सिनियर र जुनियर टोलीका कप्तान बने ‘नायक’
क्रिकेट र फुटबलमा एकै दिन नेपाली टोलीले दिएका तीन खुसी

लक्ष्मी जि.सी
माघ २७, २०८० शनिबार २०:५९, काठमाडौँ

औपचारिक र अनौपचारिक फरक प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै शनिबार भएका तीन खेलमा नेपाली टोलीले जित निकाल्यो। 

क्रिकेटमा नेपालको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोलीले दुई फरक प्रतियोगितामा जित निकाल्दै समर्थकलाई खुसी दिए। 

यस्तै अनौपचारिक नै भए पनि नेपालको युवा फुटबल टोलीले शनिबार चिनको प्रान्तिय टोलीलाई हराउँदै खुसी थप्न सहयोग गरे। 

नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा भएको तीन खेलको एक दिवसीय सिरिजमा क्यानडालाई पराजित गर्दै एक खेल अगावै सिरिज जित्यो। 

पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको नेपाली टोलीले शनिबार भएको खेलमा ४ विकेटको जित निकाल्दै सिरिजमा २–० अग्रता बनाउँदा सिरिज आफ्नो पक्षमा पारेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्ट्यायो।

नेपालले एक खेल अगावै सिरिज जित्दा घरेलु मैदानमा तीन कीर्तिमान कायम भए। 

ओपनर अनिल शाहले नेपालका लागि ओडीआई क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान आफ्नो नाममा गरे। उनले १९ बलमा अर्धशतक पूरा गर्दै आशिफ शेखको कीर्तिमान तोडे। आसिफले गत वर्ष पपुवा न्यु गिनीविरुद्ध २१ बलमा अर्धशतक पूरा गरेका थिए। 

यस्तै, नेपालको जितमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र यू–१९ टोलीका कप्तान देव खनाल नायक बने। 

तेस्रो विकेटका लागि पौडेल र खनालले १ सय ५० रनको किर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ अघि बढाएका थिए। तेस्रो विकेटका लागि भएको यो अहिलेसम्मकै सर्वाधिक ठूलो साझेदारी हो। 

यसअघि सन् २०२३ मा नामिबियाविरुद्ध कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १ सय ३३ रनको साझेदारी गरेका थिए।

नेपालको जितका क्रममा ओडीआईमा दोस्रो पटक विशाल लक्ष्य भेट्टाएको हो। क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो। नेपालले यसअघि सन् २०२३ मा नामिबियाविरुद्ध पनि यही लक्ष्य पाएको थियो। 

आज नै महिला क्रिकेटमा नेपालले जित दर्ता निकाल्यो। 

मलेसियाको क्वालालाम्पुरमा भएको एसिसी महिला प्रिमियर कपमा नेपालले हङकङलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजय सुरुवात गरेको छ। 

हङकङले दिएको ९४ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

फुटबलतर्फ पनि शनिबार नेपाली युवा टोलीले जित निकाल्दै फुटबल समर्थकलाई खुसी दियो। 

चिनिया नयाँ वर्षको अवसरमा आयोजित चिनिया नयाँ वर्ष कप मैत्रीपुर्ण फुटबलमा नेपालले चीनको प्रान्तिय टोलीमाथि ५–१ को फराकिलो जित निकाल्यो। 

त्रिपुरेश्वरस्थित दरशथ रगंशालामा भएको खेलमा नेपालको जितमा समिर तामाङले दुई गोल गरे। सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीको नाममा एक एक गोल रह्यो। 

मैत्रीपूर्ण खेलमा नेपालको यू–२३ टोलीमा सिनियर टोलीका ४ खेलाडी सम्मिलित थिए। मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोलीले पोखरामा एक साता अभ्यास गरेको थियो। 

चीनको घरेलु प्रतियोगिता खेल्दै आएका चिनिया टोली भने १ महिनाको अभ्यास गरेर नेपाल आएको थियो। 

चिनियाँ नयाँ वर्षको आयोजनामा भएको मैत्रीपूर्ण फूटबल अफिसियल नभए पनि नेपाली युवा टोलीको जितले खुसी भने पक्कै दिएको छ। 

मैत्रीपूर्ण खेल नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको हो। 

प्रतियोगिताको सह–आयोजकमा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ संघ रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .