ad ad

खेल


देशमा महिला फुटबल शून्य, अन्तर्राष्ट्रिय प्रतियोगिताकै भर


लक्ष्मी जि.सी
फागुन ८ , काठमाडौँ

पछिल्लो दुई वर्ष घरेलु महिला फुटबल अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राथमिकतामा छैन। 

केही वर्ष अघिसम्म घरेलु महिला फुटबल नियमित आयोजना हुन्थ्यो। जुन अहिले शून्यप्रायः छ। गत वर्ष असारमा एन्फामा नयाँ नेतृत्व आएयता महिला फुटबलमा सिनियर वा उमेर समूह, कतै पनि एउटै प्रतियोगिता भएको छैन। यसबीचमा सिनियर र उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र भाग लिएका छन्।

असोजमा चीनको हाङझाओमा भएको १९ औँ एसियाली खेलकुद (एसियाड) मा महिला राष्ट्रिय टोलीले भाग लिएको थियो। त्यसको ५ महिनापछि नेपालले पश्चिम एसियाली फुटबल महासंघद्वारा आयोजित साउदी अरबमा आयोजना हुने वाफ महिला च्याम्पियनसिप खेल्दैछ। 

एसियाडपछि राष्ट्रिय टोलीका ७ जना खेलाडी मात्र नियमित रुपमा खेल्दै आएका छन्। फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साम्बा राष्ट्रिय टोलीमा सामेल हुन साउदी पुगेकी छिन्। भारतीय महिला लिग खेलिरहेका ६ खेलाडी स्वदेश फर्केर टोलीका साथ वाफ खेल्न निस्किएका हुन्। 

राष्ट्रिय र उमेर समूहका अन्तराष्ट्रिय प्रतियोगितालाई छाड्ने हो भने पछिल्लो २ वर्ष महिला फुटबलका लागि निराशाजनक रह्यो। 


२०७८ मा दुई चरणमा महिला लिग आयोजना गर्ने भनिएको थियो। चितवनमा पहिलो चरणका खेलहरु भए। विराटनगरमा गर्ने भनिएको दोस्रो चरणको खेल हुन सकेन। अनि पहिलो चरणकै अंक तालिकाका आधारमा एन्फाले विजेता घोषणा गर्‍यो। महिला टोलीले गत वर्ष भदौमा घरेलु मैदानमा नै साफ च्याम्पियनसिप खेल्यो। 

त्यसको एक वर्षपछि यो वर्षको असोजमा एसियाड खेलेको हो। यसरी हेर्दा तीन वर्षदेखि नेपाली महिला फुटबल अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र निर्भर छ।

घरेलु फुटबल गतिविधि शून्य हुँदा र अन्तर्राष्ट्रिय प्रतियोगिताको मात्र भर पर्दा खेलाडीमा त्यसको असर देखिएको टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा सुनाउँछिन्। 

‘विगत २ वर्षदेखि घरेलु प्रतियोगिता नहुँदा त्यसको असर देखिएको छ। हामीले भारतमा खेलेकाले केही अनुभव लिन पाएका छौँ,’ एन्जिला भन्छिन्, ‘यहाँ हुने खेलाडीको सेल्फ ट्रेनिङले मात्र पुग्दैन। लिग नहुँदा खेलाडी मोटिभेट पनि हुँदैनन्।’ 

एन्जिलासहित ६ खेलाडीले भारतीय लिग खेल्दै आएका छन्।  

एसियाडपछि एकै पटक पाँच महिनाको अन्तरालमा हुन लागेको वाफ महिला च्याम्पियनसिपलाई पनि एन्जिलाले अवसरका रुपमा लिएकी छिन्। 

‘नेपालमा धेरै प्रतियोगिता नभए पनि वाफले मौका दिएको छ। एसियन गेम्सपछि नयाँ च्याम्पियनसिप खेल्दैछौँ,’ उनले थनिन्, ‘यो हाम्रो लागि नयाँ अवसर हो। यो पटक राम्रो भयो भने फेरि पनि जाने मौका पाउन सक्छौँ।’ 

आन्तरिक प्रतियोगिता र प्रशिक्षणमा खासै चासो नराखेको एन्फा नेतृत्वले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल नतिजाको अपेक्षा भने राख्ने गरेको छ। वाफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३ नयाँ खेलाडीलाई टोलीमा समेटेका छन्। 

उमेर समूहबाट खेलिसकेका डिफेन्डर सविना चौधरी, मिडफिल्डर सरस्वती हमाल र फरवार्ड चन्द्रा भण्डारीले पहिलो पटक सिनियर टोलीमा मौका पाएका छन्। मुख्य प्रशिक्षक तामाङ भन्छन्, ‘भविष्यलाई हेरेर हामीले उनीहरुलाई टोलीमा समावेश गरेका हौँ।’

पहिलो पटक टोलीमा पर्दा नयाँ खेलाडी उत्साहित छन्। ‘सिनियर दिदीहरुसँग खेल्दा अलिक डर लाग्ने रहेछ,’ सविनाले भनिन्, ‘यहाँको प्रशिक्षणको स्तर बढी हुने रहेछ। मौका पाएँ भने राम्रो खेल्नेछु।’ 

मिडफिल्डर सरस्वतीले यति छिटै राष्ट्रिय टोलीमा पर्ने अपेक्षा आफूले नगरेको सुनाइन्। उनले भनिन्, ‘आफूलाई प्रमाणित गर्ने अवसरको रुपमा यसलाई लिएको छु। मौका पाएँ भने राम्रो गर्न सक्छु भन्ने छ।’

जुनियर खेलाडीहरु नै सिनियर टोलीमा आउने बताउँदै सरस्वतीले थपिन्, ‘अझै नयाँ खेलाडी टोलीमा आउनका लागि घरेलु प्रतियोगिता बढीभन्दा बढी हुनुपर्दछ।’  

नियमित सदस्य मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बू यसपटक टोलीमा छैनन्। चोटका कारण सरु र रेनुकाले वाफ च्याम्पियनसिप गुमाएका हुन्।  

एसियाडमा भियतनामसँगको खेलमा सरुको घुँडामा चोट लागेको थियो। एसियाडकै तयारीमा ब्युटीबोनमा लागेको चोट बल्झिएपछि रेनुका टोलीबाहिर छिन्। मुख्य प्रशिक्षक तामाङ र कप्तान एन्जिला दुवैको नजरमा अनुभवी रेनुका र सरुको अभाव टोलीमा खट्कनेछ। 

त्यसका बाबजुद एन्जिला टोलीले वाफ च्याम्पियनसिप जित्नेमा आशावादी छिन्। ‘हामीलाई जित्ने अवसर पनि छ। वरीयतामा हामीभन्दा तल रहेका देशहरु छन्। यद्यपि, उनीहरुको खेल हेर्न पाएका छैनौँ,’ उनले भनिन्, ‘हामीलाई जित्ने अवसर छ। तर ओभर कन्फिडेन्ट छैनौँ।

मुख्य प्रशिक्षक तामाङले पनि घरेलु प्रतियोगिता नहुँदा त्यसको असर टोलीमा परेको अनुभव गरेका छन्। ‘नियमित प्रतियोगिता नहुँदाको असर परेको छ नि। वाफकै लागि प्रशिक्षण सुरु गर्दा खेलाडीहरु बोधो देखेँ,’ उनले थपे, ‘एसियाडपछि खेल नहुनु विडम्बना हो।’ 

वाफ च्याम्पियनसिपबाट फर्केपछि प्रशिक्षणका लागि महिला खेलाडीले मैदानमा उत्रिन सम्भवतः अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नुपर्ने हुन सक्छ। एन्फा केन्द्रीय कार्यसमितिको तीन दिनसम्म चलेको बैठकमा  महिला फुटबलका विषयमा कुनै निर्णय भएन। 

तस्बिर/भिडिओ : सरोज नेपाल

फागुन ८, २०८० मंगलबार ११:२६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .