खेल


म्यानचेस्टर सिटी र आर्सनलले जितेको दिन युनाइटेड पराजित

म्यानचेस्टर सिटी र आर्सनलले जितेको दिन युनाइटेड पराजित

नेपालखबर
फागुन १३, २०८० आइतबार १२:३४, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा जारी सिजनका दुई उपाधि दाबेदार म्यानचेस्टर सिटी र आर्सनलले जित दर्ता गराएका छन्। 

गएराति भएका खेलमा आर्सनललले न्युक्यासल युनाइटेडलाई फराकिलो अन्तरले हराउँदा सिटीले भने बर्नमाउथविरुद्ध कठिन जित दर्ता गराएको छ।

दुवै क्लबले यी जितपछि उपाधि होडमा आफ्नो पकड कायमै राखेका छन्। दुवैको जितले शीर्ष स्थानमा रहेको लिभरपुलमाथि दबाब बढाको छ। 

बर्नमाउथलाई हराएपछि सिटीले लिभरपुलसँगको अंकदूरी १ मा झारेको छ। 

आर्सनलले न्युक्यासललाई ४–१ ले हराउँदा लगातार ६ खेलको जितलाई निरन्तरता दियो। तर खेलमा अग्रता भने आर्सनलले स्वेन बोटमेनको आत्मघाती गोलबाट लिएको थियो। त्यसपछि काइ हभार्ट्जले २४ औँ मिनेटमा अग्रता २-० मा पुर्‍याए।

दोस्रो हाफमा पनि आर्सनलले दबाब बनाइरह्यो। उसका लागि खेलको ६५ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै अग्रता ३-० बनाए।

त्यसको ४ मिनेटमै जेकब किवियोरले गोल गरेर ४–० मा पुर्‍याए। तर खेलको अन्तिम समयमा जो विलोकले न्युक्यासलका लागि १ सान्तवना गोल फर्काए।

उता सिटीले वर्नमाउथलाई १–० ले पराजित गरेको छ। सिटीको जितका लागि खेलको २४ औँ मिनेटमा फिल फेडेनको गोल नै पर्याप्त भयो।

यी जितपछि सिटी ५९ अंकसहित दोस्रो स्थानमा छ। आर्सनल ५८ अंकसहित तेस्रोमा छ। लिभरपुल ६० अंकसहित पहिलोमा छ।

शनिबार सिटी र आर्सनल विजयी हुँदा यो सिजन खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ। युनाइटेडलाई फुलहमले २-१ ले हराएको हो। 

गएरातिकै अरु खेलमा एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४-२ ले हराउँदा क्रिस्टल प्यालेसले बर्नलीविरुद्ध ३-० को जित निकाल्यो। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .