ad ad

खेल


दुई वर्षपछि नयाँ नाममा महिला लिग

दुई वर्षपछि नयाँ नाममा महिला लिग

लक्ष्मी जि.सी
फागुन १५, २०८० मंगलबार १०:३४, काठमाडौँ

पछिल्लो दुई वर्ष घरेलु महिला फुटबल गतिविधिलाई शून्य पारेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष नयाँ नाममा महिला लिग आयोजना गर्ने घोषणा गरेको छ।

यसअघि राष्ट्रिय महिला लिगको नाममा सञ्चालन हुने गरेको लिगलाई यसपटक नाम परिवर्तन गरी एन्फा महिला फुटबल लिग/च्याम्पियनसिप भनिएको छ।

सोमबार बसेको एन्फाको साधारण सभाले पारित गरेको क्यालेन्डरमा महिला फुटबल लिग/च्याम्पियनसिप समावेश छ।

यद्यपि यसअघिको महिला लिगभन्दा फरक अवधारणामा एन्फा लिग ल्याइएको एन्फा प्रवक्ता सुरेश शाहको भनाइ छ। 

उनले भने, ‘क्यालेन्डरमा नभएको कुरालाई अहिले नै ग्यारेन्टी गर्न त सकिँदैन तर योभन्दा राम्रो अरु के गर्न सकिन्छ भन्ने हो। यद्यपि अहिले फाइनल भएको विषय यही नै हो।’

उनले थपे,‘राष्ट्रिय महिला लिगका लागि हामीसँग अवधारणा छैन। क्लब लाइसेन्सिङमा प्राप्त क्लबहरूसँग महिला टोली पनि हुनपर्ने भन्ने छ। त्यो बाटोबाट क्लबले आफैँ तयारी गर्‍यो भने त्यो मोडलबाट जान सकिन्छ। त्यस्तो भयो भने डिभिजन महिला लिग पनि सुरु गर्नुपर्ने हुन्छ। तर अहिले त्यो अवस्था छैन। अब यो एन्फा लिगको अवधारणमा भने प्रदेशबाट नै आउँछ। योभन्दा फरक अवधारणा के छ भन्नेबारे भने अध्ययन गरेर फेरि नयाँ निकाल्नुपर्छ।’

एन्फाले सोमबार ल्याएको २०८०/८१ को वार्षिक क्यालेन्डरमा राष्ट्रिय महिला लिगको स्थानमा एन्फा महिला लिग/च्याम्पियनसिप राखिएको छ। 

पहिलो चरणमा हुने लिगमा ७ प्रदेशले सिंगल राउन्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष ३ मा रहने टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। 

छनोट चरणमा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। छनोट चरणमा कूल २१ खेल खेलाइने एन्फाको क्यालेन्डरमा उल्लेख छ। छनोट चरणका खेल आगामी चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म हुनेछ। 

दोस्रो चरणका खेल भने २०८१ जेठदेखि असारसम्म हुने तालिका राखिए पनि मिति भने तोकिएको छैन। 

पहिलो चरणबाट छनोट भएर आउने तीन प्रदेश र ३ विभागीय टोलीले अन्तिम चरणमा खेल्नेछन्। त्यसमा कुनै विदेशी क्लबलाई पनि सहभागिताका लागि आग्रह गरिनेछ।

तत्कालका लागि १ विदेशीय टिम राखेर ७ टोलीबीच प्रतिस्पर्धा गराउने योजना एन्फाले बनाएको प्रवक्ता शाहले जानकारी दिए। डबल राउन्ड रोविनमा हुने लिगमा ३० भन्दा बढी खेल खेलाइनेछ। 

वि.सं.२०७६ अघि क्षेत्रीय टोलीले स्पर्धा गर्ने गरेको राष्ट्रिय महिला लिगमा त्यसपछि भने नगरपालिकाका टोली सहभागी गराइएको थियो। 

यसअघि महिला लिगको नाममा हुने गरेको राष्ट्रिय लिगमा छनोट भएका नगरपालिकाका टोली र विभागीय टोलीले प्रतिस्पर्धा गर्थे। 

२०७६ मा भएको राष्ट्रिय महिला लिगमा चन्द्रपुर, वालिङ, विराटनगर र चौदण्डीगढी गरी ४ नगरपालिका र ३ विभागले प्रतिस्पर्धा गरेका थिए।

२०७८ मा भएको डबल राउण्ड रोविनको महिला लिगमा भने ३ विभागीय र ५ नगरपालिकाले भाग लिएका थिए। डबल राउन्ड रोविनको महिला लिगमा चन्द्रपुर, धनगढी, विराटनगर, वालिङ र ललितपुरले स्पर्धा गरेका थिए। 

तर एन्फाले यो पटक घोषणा गरेको एन्फा महिला फुटबल लिग/च्याम्पियनसिपमा प्रदेशका टोलीले स्पर्धा गर्नेछन्। प्रदेशको टोली बनाउने जिम्मा प्रदेशलाई दिईने प्रवक्ता शाह बताउँछन्।

उनले थपे, ‘पहिलो चरणमा प्रदेश स्वतन्त्र भयो, त्यहाँ जिल्ला लिग गराएर हुन्छ कि छनोट गरेर हुन्छ कि त्यहाँ प्रदेशको टोली बनाउने भयो, त्यो मध्यबाट शीर्ष ३ टोली दोस्रो चरणमा जानेछ, त्यसपछि विभागीय टोली र विदेशी टिममा जो पनि हुन सक्छ, एक टोली आउन सक्छ। अनि ७ टोलीबीच स्पर्धा हुनेछ।’

यो वर्ष पनि साफ र एएफसीकै भरमा रहेको महिला फुटबललाई आफूहरूले प्राथमिकतामा राखेको दाबी प्रवक्ता शाहले गरेका छन्। 

उनले भने, ‘एएफसी र साफका कार्यक्रमले महिला लिगको तालिका व्यस्त छ, हामीले खाली समयमा महिलाका प्रतियोगितालाई प्राथमिकताका साथ राखेका छौँ।’

एन्फाले यो पटक महिला फुटबलका लागि भनेर यू-१८ महिला युथ लिगको घोषणा गरेको छ।

२०८१ को मंसिर-पुसमा हुने युथ लिगमा सबै टोलीलाई खुला रुपमा प्रतिस्पर्धाका लागि बोलाइनेछ। यसमा जोसुकैले पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। यसमा एकै प्रदेशबाट धेरै टोलीले पनि स्पर्धा गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .