खेल


इतिहास रच्नबाट चुक्यो महिला फुटबल टोली, फाइनलमा जोर्डनसँग पराजित

११ औँ फाइनलमा पनि उपविजेतामा सीमित
इतिहास रच्नबाट चुक्यो महिला फुटबल टोली, फाइनलमा जोर्डनसँग पराजित

नेपालखबर
फागुन १८, २०८० शुक्रबार ०:३, काठमाडौँ

साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनल भिडन्तमा नेपाल इतिहास रच्नबाट चुकेको छ।

जोर्डनसँगको भिडन्तमा ३८ वर्ष लामो उपाधिको खडेरी तोड्ने नेपालको प्रयास एक पटक फेरि असफल भएको छ। खेलको निर्णय टाइब्रकेरमा हुँदा नतिजा ५-३ ले जोर्डनको पक्षमा गयो।

टाइब्रेकरमा नेपालकी अमृता जैसी पेनाल्टीमा चुक्दा नेपाल पराजित हुन पुग्यो। नेपालका लागि गीता राना, दीपा शाही, हिरा भुजेलले गोल गरे। 

जोर्डनकी आलिया अल मजाली, मायसा जब्राह, नउर जकास, सारा अबु सबाह,रोउजबहान फर्जीले गोल गरे। 

नेपाललाई हराउँदै जोर्डन छैटौँ पटक च्याम्पियन बनेको हो। जोर्डनसँग पराजित भएसँगै नेपालले खेलेको ११ औँ फाइनलमा आएर पनि उपविजेतामा नै सीमित बनेको छ। 

साउदी अरबको जेद्दातस्थित किङ अब्दुल्लाह स्पोर्ट्स् सिटी रिसर्भ स्टेडियममा निर्धारित समयमा २–२ को बराबरी भएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो। 

खेलको पहिलो हाफमा जोर्डनलाई दबाबमा राखेको नेपालले दोस्रो हाफमा भने केही लय गुमाउन पुग्यो।  

पहिलो हाफको २९ औँ मिनेटमा रेखा पौडेलको लामो क्रस जोर्डनका खेलाडीलाई लाग्दै आएको बललाई सविता रानाले पोष्टको जाली चुमाएकी थिइन्। 

खेलको ७४ औँ मिनेटमा लाना फेरासको गोलमा जोर्डन खेलमा फर्किएको थियो। मैदानको मधयभागबाट आएको लामो प्रहारलाई लानाले पोष्टको गति दिदा नेपालकी कप्तान तथा गोलरक्षक एञ्जिता तुम्बाप्पो सुब्बाले रोक्ने मौका पाइनन्। 

त्यसको दुई मिनेटमा नै जोर्डनकी सराह अबु सबाहको लामो प्रहार क्रसबारमा लाग्दै बाहिरियो। त्यसकै रिबाउण्डमा जोर्डनकी कप्तान मायसाले गोल गरेपनि रेफ्रीले पहिले नै अफसाइड दिएका थिए। 

तर खेलको ८९ औँ मिनेटमा सराह अबुको गोलमा जोर्डनले अग्रता दोब्बर पार्यो। उनले कप्तान मायसाको पासमा गोल गरेकी थिइन्। 

खेलको इन्ज्युरी समयमा नेपालले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई डिफेन्डर गीता रानाले खेर जान दिइनन्। राष्ट्रिय टोलीका लागि गीताले तेस्रो गोल गरिन्।   

आमन्त्रित टोलीका रुपमा च्याम्पियनसिप खेल्न साउदी पुगेको महिला टोलीले फेरि उपविजेतामा नै सीमित बनेको छ। 

च्याम्पियनसिपमा अपराजित रहेर फाइनल खेलेको नेपाल पाँच पटकको च्याम्पियन जोर्डनसँग स्तब्ध भएको हो। 

च्याम्पियनसिपमा नेपालकी गोल मेसिन सावित्रा भण्डारी साम्बा सर्वाधिक गोलकर्ता बनिन्। वाफमा ९ गोल गरेकी साम्बा फाइनलमा भने अनुपस्थित रहिन्। व्यवसायिक लिगका लागि सेमिफाइनल सकेर साम्बा फ्रान्स पुगिसकेकी छिन्। 

नेपालले यसअघि २०१०, २०१२, २०१४ र २०१९ र २०२२ को साफ च्याम्पियनसिप फाइनल खेलेको थियो।

यस्तै सन् २०१०, २०१६, २०१९ को दक्षिण एसियाली खेलकुद (साग) तथा २०१८ को हिरो गोल्डकप र २०१९ को नादेफ्दा कपको फाइनल खेलेको थियो। तर यी सबै प्रतियोगितामा नेपाल उपविजेतामा सिमित बनेको थियो। त्यही सुचीमा अब वाफ च्याम्पियनसिप पनि थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .