ad ad

खेल


कमल ऐरी, जसले चोटलाई जितेर उत्कृष्ट पुनरागमन गरे

कमल ऐरी, जसले चोटलाई जितेर उत्कृष्ट पुनरागमन गरे

तस्बिर : नेपाल क्रिकेट संघ


लक्ष्मी जि.सी
चैत २३, २०८० शुक्रबार ७:३२, काठमाडौँ

चोटपछि पुनरागमन गरेका तीव्र गतिका बलर कमलसिंह ऐरी मैदानमा पुरानै लयमा देखिएका छन्।

सन् २०२२ मा घरेलु मैदानमा भएको खेलमा घाइते भएका कमललाई मैदान फर्किन निकै समय लाग्यो।

मलेसियाविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा लड्दा कमलको कुमको हड्डी अर्थात् ब्युटी बोन भाँचिएको थियो।

आदिल अन्सारीको बलिङका क्रममा बल रोक्न डाइभ हान्दा लडेका उनको हड्डी भाँचिएको थियो।

सुरुमा ६ महिनापछि मैदान फर्किने बताइयो। त्यसपछि उनले फेरि अर्को चोट बोक्न पुगे। तर दुवै चोटबाट मुक्त भएर नेपालको 'ए'' टोलीमा पुनरागमन गरेका कमलले पुरानै लय समातेका हुन्।

नेपाल 'ए' टोलीबाट आक्रामक खेल देखाउँदै आएका कमलले आयरल्यान्ड 'ए'विरुद्ध घातक बलिङ गरिरहेका छन्।

सुदूरपश्चिमको कञ्चनपुरका कमलले आयरल्यान्डविरुद्धको तीन खेलको टी–२० मा उत्कृष्ट प्रदर्शन गरे। ओडीआईमा पनि उनले त्यही लयलाई निरन्तरता दिएका छन्।

आयरल्यान्डविरुद्धको पहिलो ओडीआई खेलमा उनले ह्याट्रिकसहित चार विकेट झारे।

घातक बलिङ गरेका कमलले ६.३ ओभरमा १ मेडन राख्दै केबल २१ रन दिए। कमलले ३९ औँ ओभरमा ह्याट्रिक विकेट लिए।

३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै उनले ह्याट्रिक पूरा गरे। कमलले पहिलो बलमा लियाम म्याककार्तीलाई आउट गरे। दोस्रो बलमा क्याथु हकपफ्रेस र तेस्रो बलमा वेन ह्वाइटलाई बोल्ड आउट गरे।

त्यसअघि उनले २९ ओभरको तेस्रो बलमा कप्तान निल रकलाई एलबीडब्लु धरापमा पारे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ३८.३ ओभरमा १ सय ५७ रनमा समेटिएको थियो।

चोटका कारण लामो समय मैदान बाहिर रहेका कमलले आयरल्यान्डविरुद्धको टी–२० खेलबाटै नेपाली टोलीमा पुनरागमन गरे।

आयरल्यान्डविरुद्धको पहिलो टी–२० खेलमा ३ विकेट लिँदै कमलले आफू सिनियर टोलीमा फर्किन तयार रहेको संकेत गरे। दोस्रो खेलमा १ तथा तेस्रो टी–२० मा पनि १ विकेट लिए।

टोलीमा पुनरागमन गरेका उनले पहिलो खेलपछि भनेका थिए, ‘पहिलो बल फाल्नुभन्दाअघि मेरो मुटुको धड्कन बढिरहेको थियो, तर पहिलो बल फालेपछि नर्मल भइहालेँ। लामो समयपछि प्रतिस्पर्धात्मक खेलमा उत्रिन पाएको थिइनँ। दोसो बलमा विकेट लिँदा खुसी लाग्यो।’

टोली बाहिर रहँदा आफूलाई गाह्रो भएको उनले सुनाए। मैदान बाहिर रहँदा कहिले अवसर मिल्ला र खेल्न पाइएला भन्ने उनलाई लागेको थियो। तर एकपछि अर्को चोट लाग्दा भनेकै समयमा मैदानमा पुनरागमन गर्न नपाएको उनले सुनाए।

‘सुरुमा चोट हुँदा अलिकति ब्रेक मिले जस्तो भएको थियो। तर लामो समय हुँदा धेरै कुरा फिल गरेँ, जुन व्यक्त गर्न सक्दिनँ’, उनले भने।

कमलले २०७६ माघमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा डेब्यु गरेका थिए।

ओडीआईमा कमलले आयरल्यान्ड 'ए'विरुद्धको पहिलो खेलमै ह्याट्रिकसहित ४ विकेट लिए।

खेलपछि उनले भने, ‘ह्याट्रिक विकेट सोचेको थिइनँ। मलाई एउटा बाउन्सर हानेपछि सरप्राइज गर्न योर्कर फालेको थिएँ, विकेट आयो। दुई विकेट लिएपछि ह्याट्रिक लिन्छु भन्ने सोचेको थिएँ।’

पहिलो ओडीआई खेलमा हार भोग्नुको कारण खुलाउँदै भने, ‘चेस गर्नुपर्ने रन थोरै थियो। ब्याटरले बल खेल्ने सोचेको भए सजिलो हुन्थ्यो। तर त्यो हुन सकेन।’

निकै कम बोल्ने कमललाई पुनरागमनबारे सोध्दा भने, ‘कमब्याकलाई यत्तिकै लिएर खेलिरहेको छु। पहिलेका म्याचहरूभन्दा अहिले विश्वास बढेको छ। सिनियर टिमबाट कलअप आउँछ भने म तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .