खेल


गल्फ संघले फाल्दो जुनियर टुर नेपाल च्याम्पियनसिप आयोजना गर्ने

३ क्वालिफायर्स भियतनाम जान पाउने
गल्फ संघले फाल्दो जुनियर टुर नेपाल च्याम्पियनसिप आयोजना गर्ने

नेपालखबर
चैत २२, २०८० बिहिबार १६:४०, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँगको सहकार्यमा नेपाल गल्फ एसोसिएसनले फाल्दो जुनियर टुर नेपाल च्याम्पियनसिपको आयोजना गर्ने भएको छ। 

रोयल नेपाल गल्फ क्लबमा हुने उक्त च्याम्पियनसिप यही चैत २८ देखि ३० गतेसम्म हुनेछ। 

चार वर्षको लामो समयपछि ५४ होल्स इभेन्ट हुनलागेको हो। सन् २०१२ यता यो प्रतियोगिता हुँदै आएको छ। निक फाल्दोले सन् १९९६ मा फाल्दो शृंखला बनाएर युवाहरुलाई गल्फमा अवसर प्रदान गरेका थिए। 

विश्वव्यापी रुपमा २७ देशमा ३७ वार्षिक प्रतियोगिताहरु भइसकेका छन्। यो प्रतियोगितामा १२ देखि २१ वर्षका युवायुवतीले सहभागी हुन पाउँछन्। युवातर्फ १२–१६, १७–२१ र युवतीतर्फ खुल्ला गरी ३ विधा रहेका छन्। 

प्रतियोगिताबाट हजारौँ प्रतिभाशाली गल्फ खेलाडीले फाइदा पाउने बताइएको छ। तीन क्वालिफायर्सले लगुना ल्याङ भियतनाममा हुने फाल्दो सिरिज एसिया ग्रान्ड फाइनलमा सहभागिता जनाउन पाउनेछन्। 

यो प्रतियोगितामा पछिल्लो संस्करणको १२–१६ विधाका विजेता सभव आचार्य प्रमुख आकर्षण रहनेछन्। देशभरबाट ३० युवा गल्फ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरिएको छ। 

१२ वर्षमुनिको विधामा केही खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसका विजेताले भने भियतनाममा अवसर पाउनेछैनन्। 

फाल्दो सिरिजका विगतका विजेताहरुमा रोरी म्याकलरोय र यानी सेङ, प्लस टुर विजेताहरु निक डाउगर्टी, ओलिभर फिसर, मार्क वारेन, जोन पेरी, रसिद खान, मेलिसा रेड र फ्लरेन्टिना पार्कर छन्। 

नेपालमा हुने प्रतियोगितामा धरान र पोखराबाट ४/४ खेलाडी आउनेछन् भने चितवनबाट पनि सहभागिताको सम्भावना रहेको छ। 

प्रतियोगिताका लागि आउने खेलाडीको यात्रा र आवास खर्च नेपाल गल्फ संघले व्यहोर्नेछ। भियतनाम र स्पेनमा हुने एसियन ग्रान्ड फाइनलमा ३ विधाका विजेता जानेछन् भने यो प्रतियोगिता आयोजनाका लागि १० लाख रुपैयाँ खर्च हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .