खेल


स्वीकृतिबिना बेलायत जान लागेका एन्फाका १५ पदाधिकारीलाई खेलकुदमन्त्रीले रोके

स्वीकृतिबिना बेलायत जान लागेका एन्फाका १५ पदाधिकारीलाई खेलकुदमन्त्रीले रोके

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १९:८, काठमाडौँ

बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी लिएका छन्।

मन्त्री श्रेष्ठले सो विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटवल संघ एन्फाका महासचिवसँग आज छलफल गरेका हुन्।

भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले आज रातिसम्म भिसा आउने बताए। भिसा लिनकै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले जानकारी दिए।

एन्फाले मैत्रिपूर्ण खेलका लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृति दिएको सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराए। यस बाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिका लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे। उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए। तर एन्फाले उनीहरूको भिसाको लागि बेलायती राजदूतावासमा सिफारिस गरेको पनि बताए।

राष्ट्रिय खेलकुद ऐन अनुसार खेलाडी तथा पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्ने निर्णय युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले गरेका छन्। स्वीकृति नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन्।

युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृतिबिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .