खेल


विश्वकपमा सोमपाल : लगातार दोस्रोपटक खेल्ने एक्ला नेपाली खेलाडी

विश्वकपमा सोमपाल : लगातार दोस्रोपटक खेल्ने एक्ला नेपाली खेलाडी

सोमपाल कामी । तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
बैशाख २४, २०८१ सोमबार १०:३, काठमाडौँ

जेठ २२, २०८१। मंगलबारको रात।

घडीले ९ः१५ को संकेत गर्नेछ अनि टेक्ससको ग्रान्ड प्राइरी स्टेडियमले गाउनेछ– सयौँ थुंगा फूलका हामी ...। 

यो दृश्य नेपालीहरुले टेलिभिजनको पर्दामा एकैसाथ हेरिरहेका हुनेछन्। नेदरल्यान्ड्ससँगको खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा आयोजित टी–२० विश्वकपको यात्रा सुरु हुनेछ। 

यसअघि बंगलादेशमा नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। यो एक दशकमा नेपाली क्रिकेटमा कति खेलाडी आए, कति बीचैमा हराए। 

नेपालको लागि यो दोस्रो अवसर हो। र, दुवैपटक मौका पाउने एक्ला खेलाडी बन्दै छन् सोमपाल कामी।  

 सन् २०१४ को विश्वकपमा चटगाउँमा अफगानिस्तानविरुद्ध २ विकेट लिएपछि सोमपाल। तस्बिर : आईसीसी

त्यतिबेला नेपालले विश्वकप खेलेको टोलीका पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, विनोद भण्डारी, शक्ति गौचन, शरद भेषावकरलगायतका खेलाडी क्रिकेटमै भए पनि अहिले फरक भूमिकामा छन्।

तर सोमपाल भने अझै ब्याट र बलसँगै छन्। 

नेपालले १० वर्षपछि विश्वकपको ढोका खोल्दा पहिलो पटक विश्वकप खेलेका अधिकांश खेलाडी मूलपानी क्रिकेट मैदानमै थिए। उनीहरूसँगै वर्तमान टोलीले खुसी बाँडेको थियो। 

सन् २०१४ मा विश्वकप खेलेका टोलीबाट विकेट किपर विनोद भण्डारी र यिनै तीव्र गतिका बलर सोमपाल मात्र यो पटक विश्वकप खेल्ने छनोट टोलीमा थिए। विनोद छनोट हुन सकेनन्, सोमपाल सफल भए।

‘गोल्डेन मोमेन्ट’ 
यसपटकको विश्वकपमा छनोट भएको क्षण सोमपालका लागि एउटा ‘गोल्डेन मोमेन्ट’ बनिदियो।  

यो त्यही क्षण थियो जतिबेला नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै १ दशकपछि विश्वकपको ढोका खोलेको थियो।

‘त्यो बेलामा सिनियर खेलाडी सबै त्यहाँ थिए। सबै जना खुसी भएको त्यो समय ‘गोल्डेन मोमेन्ट’ थियो’, सोमपाल सम्झिन्छन्, ‘विश्वकपमा छनोट हुँदा हामीले भोक पनि बिर्सेका थियौँ।’

अझ सोमपाल त खुसीले गाडीमा नाच्दै गएको बताउँछन्। छनोट प्रतियोगिताको फाइनलमा हारे पनि नेपाल विश्वकपमा पुगिसकेको थियो।

दोस्रोपटक विश्वकपमा छनोट हुँदा कोही असाध्यै खुसी भएको थियो भने त्यो व्यक्ति ‘सोमपाल’ नै थिए। किन कि उनको एउटा ‘ड्रिम’ पूरा भएको थियो। एउटा भिन्नै आनन्दको क्षण। 

उनी भन्छन्, ‘त्यो बेला साथी र परिवारको फिलिङ्स फरक थियो। जसले गर्दा कहीँ न कहीँ भावुक हुन पुगेछु। मेरो एउटा ड्रिम पूरा भएको ‘स्पेसल मोमेन्ट’ नै थियो।’

छनोट हुँदैखेरि सोमपाललाई विश्वकप खेल्न गइरहेको महशुस भएको थियो। 

‘नयाँ पुस्तालाई मोटिभेट गर्छौँ’
लगातार दोस्रोपटक नेपालबाट विश्वकप खेल्ने पहिलो खेलाडी बन्दै गरेका सोमपाललाई दुई फरक अनुभवको अवसर छ। सन् २०१४ मा उनी ‘जुनियर’ सदस्य थिए, अहिले उनी टोलीकै ‘सिनियर’ छन्। 

१० वर्षमा फेरि नेपाललाई विश्वकपमा प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको उनी सुनाउँछन्। 

‘विश्वकपमा छनोट हुँदा कति साथी खुसीले रोएका थिए। हामी पनि विश्वकप खेल्न सक्छौँ भन्ने भएको थियो’, उनले सम्झिए। 

त्यसो त यसअघिको विश्वकपमा पनि सोमपाललाई खेल्न सक्छौँ भन्ने लागेको थियो। करण र उनी घाइते भएका थिए। 

‘त्यो बेला एक खेल राम्रो खेल्न नसक्दा विश्वकपमा छनोट हुन सकेका थिएनौँ’, उनी भन्छन्।  

विश्वकपको तयारीका लागि वेस्ट इन्डिज जानुअघि सोमपाल सन् २०१४ को विश्वकप हेरेर ‘मोटिभेट’ भएका खेलाडीहरु अहिलेको टोलीमा रहेको बताउँछन्।

अब अहिलेको विश्वकप हेर्नेलाई मोटिभेट गर्ने उनको भनाइ छ। यो विश्वकपपछि स्कुलबाट एकेडेमीबाट नयाँ नयाँ खेलाडी आउने उनको विश्वास छ। 

‘तयारी राम्रो छ, टोली बलियो छ’ 
नेपालबाट खेल्न पाउनु आफ्नो लागि भाग्य भएको बताउँछन् सोमपाल।

‘म भाग्यमानी छु, नेपालबाट खेल्छु। नेपालबाट खेल्दा जहाँ जान्छौँ, समर्थकहरु भएकै हुन्छन्’, उनी भन्छन्। 

यसपटक अमेरिकामा पनि धेरै समर्थक हुने उनको आशा छ। 

विश्वकपअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड र वेस्ट इन्डिजसँग अभ्यास खेल खेलेको थियो। 

आयरल्यान्डसँगको दुई खेलमा जित निकालेको नेपालले वेस्टइन्डिज ‘ए’सँग पनि प्रतिस्पर्धात्मक खेल देखायो।  

वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० सिरिजमा नेपालले ३–२ को नतिजा निकालेको थियो। 

यो तयारीले विश्वकपमा सहयोग पुगेको उनी सुनाउँछन्। सोमपालका अनुसार योभन्दा राम्रो तयारी हुन सक्दैन। यसपटक विश्वकपमा राम्रो खेल्ने उनको भनाइ छ।  

संघारमै आइपुगेको विश्वकपमा नेपाली टोली बलियो रहेकोमा सोमपाल ढुक्क छन्। 

उनी भन्छन्, ‘हामीसँग सधैँ ब्याकअप हुन जरुरी छ। बेन्च राम्रो छ। यो बेला विश्वकप खेल्न १० वर्ष लाग्यो अब यस्तो वर्ष नलागोस् भन्ने हो।’ 

सन् २०१४ को नेपाली टोली (क्यान)

१० वर्षअघिको त्यो विश्वकप
नेपालले सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दा सोमपाल टोलीमा नयाँ खेलाडी थिए। 

भर्खरै राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी त्यसबेला राम्रो नेपाली बोल्न पनि जान्दैनथे। विश्वकपअघि उनले धेरै खेल खेलेका पनि थिएनन्। 

त्यो समयमा सोमपाल आफैँलाई पनि विश्वकपमा छनोट हुन्छु भन्ने विश्वास थिएन। अघिल्लो विश्वकपमा सोमपालसँगै अविनाश, करण, अमित भट्टराई थिए। तर सोमपालले मौका पाए। 

विश्वकप खेल्ने टोलीमा स्थान बनाए पनि सुरुवाती ११ मा स्थान बनाउनेबारे उनले अनुमान समेत गरेका थिएनन्। तर उनी सुरुवाती ११ मा स्थान बनाउन सफल भए। 

सन् २०१४ को विश्वकप खेल्दाको क्षण सुनाउँदै उनी भन्छन्, ‘त्यो समयमा म एकदम उत्साहित थिएँ। त्यो बेलामा ड्रेसिङ रुमबाट बाहिर आउँदा मान्छेले मेरो नाम लिएका थिए। सोमपाल.. सोमपाल..गुल्मी एक्सप्रेस.. भनिरहेका थिए।’ 

यो सुनेपछि सोमपाललाई ‘मेरो नाम पनि थाहा रहेछ’ भन्ने महसुस भएको थियो। ‘दोस्रो ओभरमा विकेट लिएँ, त्यो बेला अर्कै महशुस भएको थियो’, उनले सम्झिए। 

यसपटक पहिलेभन्दा अब्बल प्रदर्शनको प्रतीक्षामा छन् सोमपाल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .