पोर्चुगिज तथा अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान कायम गरेका छन्।
साउदी प्रो लिगको एक सिजनमा ३५ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका हुन्।
३९ वर्षीय रोनाल्डोले अल नासरकै पूर्व फरवार्ड अब्देरराजक हमदल्लाहको कीर्तिमान तोडेका हुन्। हमदल्लाहले सन् २०१८–१९ मा ३४ गोल गरेका थिए।
सोमबार राति भएको खेलमा अल इत्तिहादलाई ४–२ ले पराजित गर्दा रोनाल्डोले २ गोल गरेका थिए।
यो दुई गोलसँगै रोनाल्डो साउदी प्रो लिगको सर्वाधिक गोलकर्ता बनेका हुन्। उनले यो सिजन लिगका ३१ खेलमा ३५ गोल गर्दा ११ असिस्ट दिएका थिए।
सन् २०२३ को जनवरीमा म्यानचेष्टर युनाइटेड छाडेर अल नासार पुगेका रोनाल्डोले क्लबका लागि ६९ खेलमा ६४ गोल गरेका छन्।
यो सिजन अल नासर साउदी प्रो लिगमा दोस्रो स्थानमा रह्यो। अल नासरले ३४ खेलबाट ८२ अंक जोडेर दोस्रो स्थानमा रह्यो।
Shares
प्रतिक्रिया