गुण्डागर्दीका कारण विवादमा आइरहने दीपक मनाङेका नामले परिचित राजीव गुरुङ गण्डकी प्रदेशको मन्त्री नियुक्त भएका छन्।
आफ्नो कुर्सी जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाए र त्यसको बागडोर मनाङेलाई सुम्पिए।
लामो समय आपाराधिक गतिविधिमा रहेका मनाङे केही वर्षयता राजनीतिमा पनि उत्तिकै सक्रिय छन्। उनीविरुद्ध ज्यानसम्बन्धी मुद्दा अदालतमा छ।
गत चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित मनाङे पछि एमालेमा प्रवेश गरेका थिए। अहिले फेरि उनले आफूलाई स्वतन्त्र बताउँदै आएका छन्।
बिहीबार मन्त्रीको शपथपछि उनले खेलकुद क्षेत्रमा केही न केही गरेर देखाउने बताए।
‘पहिलादेखि खेलकुदसँग नजिक थिएँ, युवा तथा खेलकुदमा आबद्धहरुलाई पहिलादेखि नै रोजगार दिइरहेको थिएँ। मन्त्रालयको टिम पनि राम्रो छ,’ मन्त्री नियुक्त भएपछि मनाङेले भने, ‘धेरै कुरा गर्न पर्ने देश होइन, दुईचार वटा कुरा गर्ने राम्रो गर्ने हो। मेरा केही योजनाहरु छन्, त्यसमा सरकारले सहयोग गरे युवाहरु विदेश जान पर्दैन।’
खेलकुदसँग मनाङेको नाता भने पुरानै हो। घरेलु फुटबलमा स्थापित ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लबका उनी सल्लाहकार समेत हुन्। उनले पटकपटक क्लब व्यवस्थापकको भूमिकामा पनि काम गरेका छन्।
पटकपटक क्लब व्यवस्थापकका रुपमा पोखरा पुगेका स्मरण गर्दै उनले भने, ‘खेलाडीका लागि एक्स्ट्रा डाइट म आफैँले ल्याउँथे। ५ किसिमका गेडागुडी र राँगाको पुच्छरको सुप बनाएर खुवाउने गरेको थिएँ। त्यही खाएर नै उनीहरुले खेल्ने हुन्। १८ सयमध्ये १२ सय रुपैयाँमा होटलमै तिर्नुपर्छ। बाँकी ६ सयले के गर्ने? स्पोर्टसमा डाइट (खुराक) नै मुख्य हो। त्यसैले सहयोग गर्थेँ, अरुलाई पनि सहयोग गर्न भन्थे।’
मनाङेको मन्त्री नियुक्तिले थुप्रैमा राजनीतिप्रति वितृष्णा जागेको छ। तर, खेलकुद क्षेत्रका केही व्यक्ति भने उत्साहित भएका छन्।
सांसद भएपछि पनि कुटपिटमा संलग्न भएका कारण उनी केही दिन पक्राउ परे। मनाङेले २०७६ माघ ७ गते कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए। मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनमा मनाङेले गुरुङलाई झापड हानेका थिए। मनाङबाट भाग लिन आएको क्लबका खेलाडीलाई मैदान उपलब्ध नगराएको, खर्च नदिएको र सम्झाउँदा नटेरेको भन्दै मनाङेले गुरुङमाथि हातपात गरेको सार्वजनिक रुपमै स्वीकार गरेका थिए।
मनाङे प्रदेशको खेलकुदमन्त्री बनेपछि कास्की एन्फा अध्यक्ष गुरुङले राम्रो काम गरेमा उनलाई मान्न आफूलाई कुनै समस्या नभएको बताएका छन्।
‘मन्त्री जो आएपनि मान्न पर्छ, केही गर्छु भनेरै आएका होलान्। राम्रो काम त गर्लान्, उनले राम्रो काम गरे मान्ने हो, नराम्रो काम गरे किन मान्ने?’ उनले भने, ‘यो राजनीतिक विषय हो। व्यक्तिगत सम्बन्ध भन्दा पनि संस्थामा बसेपछि संस्थागत रुपमा सोच्नपर्छ। यो पार्टी त्यो पार्टी भन्दा पनि राम्रो काम गर्नुपर्छ।’
करातेका पुराना खेलाडी दीपक गोदार भने मनाङेको नियुक्तिबाट उत्साहित छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका कास्की जिल्ला अध्यक्ष गोदारले मनाङेबाट आफूहरुले धेरै आशा गरेको बताए।
‘त्यो बेलामा दीपक मनाङे डन भनेर चिनिँदा पनि उहाँले खेलाडीलाई धेरै सम्मान गर्नुहुन्थ्यो। त्यस्तो सम्मान अरु कसैले खेलाडीलाई गरेनन्,’ गोदारले भने, ‘२०६१ सालमा ज्ञानेन्द्र बर्थ डे कप र अल नेपाल च्याम्पियनसिप कराते प्रतियोगितामा काठमाडौँ जाँदा उहाँले खेलाडीलाई कस्तो सुविधा दिनुपर्छ भनेर ख्याल गर्नुभएको थियो। आशा र भरोसा छ। हिजोका दिनमा पनि हामी खेलाडीलाई सहयोग गर्ने मान्छे हो, आज मन्त्री हुनुभएको छ। अरु पोलिटिकल मान्छेभन्दा पनि उहाँ वास्तविक खेल र खेलाडीलाई माया गर्ने मान्छे हो।’
प्रतिक्रिया