देशको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौ रेजर्सबीच प्रतिस्पर्धा हुँदै छ।
करिब १ महिना चलेको एनएसएलले भोलि पहिलो च्याम्पियन पाउनेछ। फाइनल खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।
लिगको पहिलो च्याम्पियन बन्ने दाउमा रहेका दुवै टोली एनएसएसमा तेस्रो पटक भिड्दै छन्। पहिलो चरण र प्ले अफको दुवै खेलमा धनगढीले बाजी मारेको थियो।
प्ले–अफको पहिलो खेलमा धनगढीले काठमाडौंलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको थियो। शीर्ष २ मा रहने टोलीले प्ले अफमा पराजित भएपछि एलिमिनेटर खेल्दै पुनः फाइनल पुग्ने एउटा मौका थियो।
सोही मौकालाई उपयोग गर्ने क्रममा ललिपुर सिटी एफसीलाई बिहीबार ३–० ले हराउँदै फाइनल पुगेको हो। जसका कारण काठमाडौं र धनगढीबीच पुनः फाइनल तय भएको छ।
ललितपुर बुटवल लुम्बिनीलाई १–० ले हराउँदै एलिमिनेटरमा पुगेको थियो। लुम्बिनीलाई हराएको भोलिपल्ट काठमाडौंसँगको एलिमिनेटरमा ललितपुर चुकेको थियो।
काठमाडौंको तुलनामा धनगढीले दुई दिन बढी विश्राम पाएका कारण पनि खेलमा राम्रो प्रदर्शन गर्नसक्ने सम्भावना रहन्छ। कम समय आराम पाएको काठमाडौले यसअघिका दुई खेलमा भोगेको हारको बदला लिँदै उपाधि जित्ने प्रयासमा हुनेछ।
मुख्य त दुई टोली विदेशी खेलाडीले गर्ने प्रदर्शनका आधारमा उपाधि दाबेदारीको सम्भावना बलियो हुने देखिन्छ।
राष्ट्रिय टोलीका दुई गोलरक्षकको भीडन्त
काठमाडौं र धनगढी राष्ट्रिय फुटबल टोलीका दुई गोलरक्षकको कप्तानीमा मैदान उत्रिँदै छन्। काठमाडौंको कमानी मार्की प्लेयर समेत रहेका विकेश कुथुले सम्हाल्नेछन्।
काठमाडौसँग विकेशसहित तेज तामाङ, विश्वास श्रेष्ठ, सुदिल राई, आशिष गुरुङ, छिरिङ गुरुङ, आशिष राई तथा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन्।
यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन्।
ह्यामस्ट्रिङका कारण राष्ट्रिय टिमका सदस्य सन्जोक राई ललितपुरसँगको एलिमिनेटर खेलमा बेन्चमा थिए।
यी हुन् काठमाडौंका मुख्य हतियार
काठमाडौंका मुख्य हतियारका रुपमा रहेका सञ्जोक राई, तेज तामाङ र फ्लोरेन्ट पनि रिकभर भइरहेका छन्।
चोटपछि सञ्जोकको मनोबल अलिक कमजोर भए पनि अहिले प्रशिक्षणमा राम्रो गरिरहेको टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए।
उनले भने, ‘लगातार दुई खेलमा भोगेको हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छौँ। काठमाडौंमै भएको सुपर लिगमा काठमाडौंले उपाधि घरमा नै राख्ने लक्ष्यमा छौँ। खेलाडीहरु पनि उच्च मनोबलमा भएका कारण पनि फाइनलमा राम्रो प्रदर्शन गर्नेछौँ।’
यता घरेलु फुटबलमा पहिलोपटक टोलीको कप्तानी सम्हालेका विकेश कुथुका लागि पनि भोलिको खेल महत्वपूर्ण छ। यद्यपि फुटबल टिम गेम भएकाले सोहीअनुसार प्रदर्शन गरेर जित्ने लक्ष्यमा रहेको उनले बताए।
उनले भने, ‘लिगमा हार जित र बराबरीबाट धेरै पाठ सिक्दै यहाँसम्म आएका छौँ, त्यसलाई नै सदुपयोग गर्दै उपाधि उचाल्ने योजनामा छौँ।’
कस्तो छ धनगढी टोली?
धनगढी भने राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलरक्षक तथा आइकोनिक खेलाडी किरण चेम्जोङको कप्तानीमा खेल्नेछ।
धनगढीसँग कप्तानसहित विशाल राई, दिनेश राजवंशी, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन्।
यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन छन्। विदेशी खेलाडीमा ओलावाले ओलाडिपो आफिज र फ्रान्कलिन कुटे टाल्ला छन्।
लिग चरण र प्ले–अफमा काठमाडौंलाई पराजित गरे पनि विपक्षी टोलीलाई कमजोर रुपमा नलिएको धनगढीका सहायक प्रशिक्षक फुजे तोपाले बताए।
‘खेलाडीहरु फिट रहेका कारण पनि भोलि सशक्त प्रदर्शन गर्नेछौँ। प्रतिद्वन्द्वीलाई सम्मान गर्र्दै भोलि उपाधिको लागि नै भिड्नेछौँ’, उनले भने।
यस्तो छ दुई टोलीको फाइनलसम्मको यात्रा
लिगमा बढी समय आराम पाएको धनगढीले भोलिको खेलमा सशक्त प्रदर्शन गर्ने आशा छ।
यद्यपि काठमाडौं पनि कमजोर टोली भने पक्कै होइन। प्ले–अफमा काठमाडौंले सुरुवाती अग्रता बनाए पनि धनगढीले बराबरी गोल फर्काएपछि निर्धारित समय बराबरीमा सकिएको थियो।
त्यसपछि थप गरिएको ३० मिनेटको समयमा धनगढीले एक गोल थपेपछि काठमाडौंविरुद्ध संघर्षपूर्ण जित निकालेको थियो।
टोलीका कप्तान तथा आइकोनिक खेलाडी किरण चेम्जोङले राष्ट्रिय टोली होस् वा घरेलु फुटबल आफ्नो लागि दुवै बराबरी रहेको सुनाए। राष्ट्रिय टोलीबाट फाइनल खेल्दा र क्लबबाट खेल्दा उस्तै मनोबल रहेकाले भोलिको खेलमा पनि यसअघिको नतिजालाई नै निरन्तरता दिने योजनामा रहेको चेम्जोङले बताए।
उनले थपे, ‘लगातार काठमाडौंलाई पराजित गर्दा उच्च मनोबलमा छौँ तर कमजोर मानेका भने छैनौँ।’
धनगढी पहिलो खेलमा विराटनगरसँग ३–० ले पराजित हुँदै लिग यात्रा सुरु गरेको थियो। दोस्रो खेलमा काठमाडौंलाई ३–० ले नै हराएको धनगढीले तेस्रो खेलमा ललितपुर सिटी एफसीसँग एक–एक गोलको बराबरी गरेको थियो।
एफसी चितवनसँग ३–० ले नै विजयी भएको धनगढीले पोखरा थन्डर्सलाई भने १–० ले पाखा लगाएको थियो। लिग चरणको आफ्नो अन्तिम खेलमा बुटवल लुम्बिनीसँग १–० ले हार भोगेको थियो।
लिग चरणको खेलमा काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो। दोस्रो खेल धनगढीसँग ३–० ले गुमाएको काठमाडौंले पोखरा थन्डर्ससँग भने गोलरहित बराबरी खेलेको थियो।
बुटवल लुम्बिनीलाई १–० ले हराएको काठमाडौंले विराटनगर सिटी एफसीलाई भने ५–४ ले हराएको थियो।
लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई भने १–० ले हराउँदै शीर्ष स्थानमा रहँदै प्ले–अफमा पुगेको थियो।
पहिलो चरणका ६ खेलमा ४ मा जित, १ मा बराबरी र एक खेलमा हार भोगेको काठमाडौंले १३ अंक बटुलेको थियो।
समान खेलबाट ३ मा जित, १ मा बराबरी र २ खेलमा पराजित धनगढी १० अंकमा दोस्रो स्थानमा रहेर प्ले–अफमा पुगेको थियो।
नेपाल स्पोर्ट्स म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी एनएसएलमा ७ सहरका ७ टोलीको सहभागी छन्।
प्ले–अफमा पुगेकाबाहेक विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स भने पहिलो चरणबाट बाहिरिएका थिए।
एनएसएलको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट उदीयमान युवा खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्। (सबै तस्बिरः नेपाल सुपर लिग)
Shares
प्रतिक्रिया