सुदूरपश्चिम


अस्पताल हिँडेका आमाछोरा कर्णाली नदीमा मृत फेला, श्रीमान् प्रहरीको निगरानीमा

अस्पताल हिँडेका आमाछोरा कर्णाली नदीमा मृत फेला, श्रीमान् प्रहरीको निगरानीमा

फाइल तस्बिर।


गोकुल जोशी
चैत २५, २०७९ शनिबार १९:४९, कञ्चनपुर

अछामस्थित कर्णाली नदीमा आमाछोरा मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–४ की २२ वर्षीया कमला कुमारी बुढा र उनका ५ महिने शिशु (छोरा) कर्णाली नदीको किनारमा मृत अवस्थामा भेटिएका छन्।

कमला १६ चैत्रदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीय ज्ञानमन्दिर मेडिकलमा उपचारका लागि जान्छुँ भनेर छोरासहित घरबाट हिँडेकी उनी त्यसपछि बेपत्ता थिइन्। 

हराएको ९ दिनपछि अछाम प्रहरी आमाछोराको शव कर्णाली नदीको किनारमा फेला पारेको हो।  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् धर्मबहादुर साउँद  र मृतक कमलाबीच पारिवारिक खटपट रहेको खुलेको छ। मृत्युको एकिन कारण भने खुल्न सकेको छैन। श्रीमान् धर्मबहादुर प्रहरीको निगरानीमा रहेका छन्।

‘प्रारम्भिक रुपमा घटना प्रकृति हेर्दा पानीमा डुबेर मृत्यु भएको जस्तो देखिन्छ, अहिले हामी शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदैछौँ,’ प्रहरी निरीक्षक कैलाश बिष्टले भने, ‘परिवारसँग सोधपुछ र पोष्टमार्टम रिपोर्टले घटना बारे थप खुलाउला।’

शव भेटिएको खबर पाएपछि नजिकको स्थानीय प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अमर बहादुर खड्काको नेतृत्वमा ४ जना प्रहरी परिचालन भएका थिए। 

शव भेटिएको त्रिवेणाी भन्ने ठाउँ सो प्रहरी चौकीबाट ६ घण्टाको दुरीमा छ।
त्यसपछि घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको प्रहरी टोली पनि घटनास्थलमा खटिएको थियो। 

अहिले घटनास्थलको मुचुल्का बनाएर प्रहरी शव पोष्टमार्टमका लागि मंगलसेन ल्याइरहेको छ। भौगोलिक विकटता र सदरमुकामबाट घटनास्थल टाढा हुँदा सो टोलीसँग सम्पर्क हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .