ad ad

सुदूरपश्चिम


जसले गरगहना लुट्न बाटो ढुके, घाँस काट्न सघाउँछु भन्दै हत्या गरे

सुन बेच्न जाने र किन्नेसहित ६ जना पक्राउ
जसले गरगहना लुट्न बाटो ढुके, घाँस काट्न सघाउँछु भन्दै हत्या गरे

गोकुल जोशी
मंसिर ७, २०८० बिहिबार १५:३८, कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशी गत कार्तिक १९ गते दिउँसो घाँस काट्न घर नजिकैको जंगलतर्फ लागिन्। उनको घर बैजनाथ मध्यवर्ती सामुदायिक वन नजिकै छ। 

घाँस काट्न गएकी नारुदेवी बेलुकीसम्म पनि घर फर्किएनन्। परिवारले उनको खोजीका लागि ईलाका प्रहरी कार्यालय झलारीलाई खबर गरे। 

स्थानीय, परिवारका सदस्य तथा प्रहरीले जोशीको खोजी गर्दा पनि त्यस दिन उनको केही अत्तोपत्तो चलेन। अर्को दिन बिहान खोजी गर्ने क्रममा नारुदेवीको शव सामुदायिक वनभित्र फेला परेको थियो। 

उनले लगाएका गरगहना थिएनन्। शरीरमा घाउ थिए। मुखमा रगत लतपतिएको थियो। घटना शंकास्पद भएकोले प्रहरीले सुरुआतदेखि नै लागुऔषध सेवनकर्ता तथा शंकास्पद व्यक्तिमाथि सुक्ष्म रुपले अनुसन्धान थालेको थियो।

घटनाको अनुसन्धानका लागि मृतकका घर परिवार, छिमेकी तथा गाउँका शंकास्पद व्यक्तिहरुलाई निगरानी गरेर अनुसन्धान गरेको प्रहरी अपराधीसम्म पुगेको हो।

गरगहना लुट्नका लागि वृद्धाको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले बताए। 

‘घटनाको मुख्य योजनाकार र लुटेको सुन किन्ने व्यापारीसहित ६ जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘हत्यामा संलग्न कसुरदारले अपराध स्वीकार गरेको छ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न अभियुक्तसहित सुन बिक्री गर्न सघाउने र किन्ने ६ जनालाई सार्वजनिक गरेको हो।

प्रहरीको अनुसन्धानबाट घटनाको मुख्य नाइके झलारीकै महेश डगौँरा रहेको खुलेको छ। उनी यसअघि चोरी घटनामा संलग्न रहँदै आएका थिए। 

लागु औषध सेवनकर्ता रहेका उनले १४ कार्तिकमा साइकलमा तरकारी बेच्न गाउँघरमा घुम्ने भारतीय नागरिकलाई कुटपिट गरेर साइकलसहित २५० रुपैयाँ लुटेका थिए। 

१९ कार्तिकमा वृद्धाको हत्या घटनापछि उनी फरार रहेकाले प्रहरीको अनुसन्धान उनीतर्फ केन्द्रीत बनेको थियो। घटनापछि भारतको बङ्लोर भागेका डगौँरालाई प्रहरीले समातेको हो।

परिवारको समन्वयमा भारतबाट बोलाएर झलारी बजारमा अटोमा बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

गरगहना लुट्नका लागि बाटो ढुकेर हत्या गरेको डगौँराले प्रहरीसमक्ष स्वीकार गरेका छन्। प्रहरीका अनुसार मृतक नारुदेवीलाई एक्लै सामुदायिक वनभित्र जान देखेपछि बाटो ढुकेको डगौँराले पिछा गरेका थिए। 

सामुदायिक वनको प्रवेशद्धार भन्दा करिब ५ सय मिटर भित्र जंगलमा पुगेपछि नारुदेवीसँग ‘घाँस काटिदिन्छु’ भनेर हँसिया मागेका थिए, डगौँराले।

त्यसपछि उनले हँसिया फाल्दै नारुदेवीको घाँटीमा अठ्याए। मृतक नारुदेवीले हल्ला गर्न थालेपछि मुक्काले नाक हिर्काए। नारुदेवीको चुन्नीले घाँटी कसे। नाक, मुख च्यापेर नारुदेवीको हत्यापछि डगौँराले कानमा लगाएको मुन्द्रा, नाकको फुली लुटेका थिए।

त्यसपछि डगौँरा जंगलबाट लुक्दै निस्केर अटोमा झलारी हुँदै धनगढी गएको प्रहरीले जनाएको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीका लक्ष्मण चौधरीसँग डगौँराको यसअघि नै चिनजान थियो। चौधरीले बोराडाँडीमा एलएक्स क्लब सञ्चालन गरेका थिए। 

महेश हत्यापछि भागेर सुरुमा चौधरीको कोठामा पुगेको प्रहरीले जनाएको छ। महेशले लुटेर ल्याएको नाकको फुली र कानको मुन्द्रा लक्ष्मणलाई बिक्रीका लागि दिएका थिए। 

प्रहरीका अनुसार मृतक नारुदेवीबाट लुटेका गहना ४६ हजार रुपैयाँमा धनगढीमा बिक्री गरेर उनीहरु नेपालगञ्ज हुँदै बङ्लोर भागेका थिए।

सुन बेच्नमा सघाउने उनका साथी निरज भट्टलाई पनि प्रहरीले पक्राउ परेको छ। नाकको फुली र कानको मुन्द्रा बेचेर बङ्लोर भागेका उनीहरुले ३० मंसिरमा फेरि धनगढी पुगेर बुलाकी बेचेका थिए।

प्रहरीले बिक्री गरेको धनगढीका सुन पसलबाट मृतक नारुदेवीबाट लुटेका गरगहना पनि बरामद गरेको जनाएको छ। यस्तै, बिलबिनाका सुन खरीद गर्ने धनगढीका तीन जना सुन पसल सञ्चालक पनि पक्राउ परेका छन्। 

दिया सुनचाँदी पसलका सञ्चालक खगेन्द्रबहादुर सोव, बर्दादेवी ज्वैलर्सका इन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दीपेन्द्र सिजापती बिल नभइ सुन खरीद गरेको आरोपमा पक्राउ परेका हुन।

श्रीमती बिरामी भएको समस्या देखाएको आफूले बिल नहेरी सुन किनेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन्। 

मृतक नारुदेवीका छोरा मोहन राजले दिएको लुटपाट तथा कर्तव्य ज्यानको मुद्दामा उनीहरुलाई १० दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .