ad ad

सुदूरपश्चिम


नयाँ गठबन्धनको असर प्रदेशतिर, सुदूरपश्चिम सरकारबाट बाहिरिँदै एमाले

नयाँ गठबन्धनको असर प्रदेशतिर, सुदूरपश्चिम सरकारबाट बाहिरिँदै एमाले

गोकुल जोशी
असार २०, २०८१ बिहिबार १५:१८, कञ्चनपुर

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिन थालेको छ।

नेकपा एमाले नेतृत्वबाट निर्देशन आएपछि अहिले सुदूरपश्चिम संसदीय दलको बैठक डाकेर समर्थन फिर्ता लिने र मन्त्री फिर्ता बोलाउने विषयमा छलफल भइरहेको एक सांसदले बताए।

‘पार्टीबाट समर्थन फिर्ता लिन भनेर निर्देशन आइसकेको छ। हामी अहिले छलफल गरिरहेका छौँ,’ ती सांसदले भने, ‘समर्थन फिर्ता लिने निर्णय गर्छौँ।’

सुदूरपश्चिममा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीकोे नेतृत्वमा प्रदेश सरकार छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारमा सामेल आफ्ना तीन मन्त्रीलाई पनि फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको हो।

२८ जेठमा एमालेका सुरेन्द्र बहादुर पाल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए। त्यसै दिन बिना विभागीय मन्त्री नियुक्त भएका वीरबहादुर थापा र हिरा सार्कीले १६ असारमा मात्रै विभाग पाएका थिए।

मुख्यमन्त्री सोडारीले थापालाई वन, वातावरण तथा सहकारी मन्त्रालय र सार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए। १८ असारमा सत्ता गठबन्धनमा उलटफेर आएसँगै एमाले प्रदेश सरकारबाट बाहिरिन लागेको हो।

एमालेबाट प्रदेश सरकारमा सामेल मन्त्री फिर्ता हुने भएपछि सुदूर पहाडको भ्रमणमा रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की धनगढी फर्किंदैछन्। अन्य दुई मन्त्री धनगढीमै छन्।

यद्यपी मुख्यमन्त्री दीर्घबहादुर सोडारी संघीय राजधानी काठमाडौँमा भएकाले बिहीबारै राजीनामा बुझाउनेमा अन्योल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .