ad ad

सुदूरपश्चिम


टीकापुर हत्याकाण्डका ९ वर्ष, रेशम भन्छन् : राजबन्दीको नाममा अरुको रजाइँ

टीकापुर हत्याकाण्डका ९ वर्ष, रेशम भन्छन् : राजबन्दीको नाममा अरुको रजाइँ

गोकुल जोशी
भदौ ७, २०८१ शुक्रबार १३:५०, कञ्चनपुर

प्रहरी र एक नाबालकको ज्यान जाने गरी कैलालीको टीकापुरमा मच्चिएको हत्याकाण्डको ९ वर्ष पूरा भएको छ। वि.सं. २०७२ साल भदौ ७ गते आजैकै दिन थरुहट आन्दोलनले उग्ररुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान गएको थियो।

त्यो त्रासदीपूर्ण घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी राष्ट्रपतिबाट कैद माफी पाएर अहिले खुला राजनीतिमा छन्। 

रेशमलाई तीन तहकै अदालतले टीकापुर हत्याकाण्डका मुख्य दोषी मानेको छ। जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको सजाय सर्वाेच्च अदालतले पनि सदर गरेको थियो।

तर, राजनीतिक सौदाबाजी गरेर सरकारले रेशमलाई जेलमुक्त गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाह गरेका थिए।

टीकापुर हत्याकाण्डपछि भूमिगत भएकै बेला रेशम कैलाली १ बाट चुनाव जितेककका थिए। 

त्यसपछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। अदालतले टीकापुर घटनामा  दोषी रहेको फैसला सुनाएपछि रेशमको जेलको बाटो तय भएको थियो। 

जेलमै भएको बेला रेशमले आफू संरक्षक रहेर श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको गठन गरेर २०७९ को चुनावमा सहभागी भयो। 

नाउपाले कैलालीका तीन र बर्दियाको एक क्षेत्रमा प्रतिनिधिसभाको चुनाव जित्यो। त्यस्तै प्रदेश र स्थानीय तहमा पनि चुनाव जितेर आफ्नो बलियो प्रभाव जमायो। 

नाउपाका सांसदहरुले संघ र प्रदेशमा मन्त्री बन्ने मौका पाए। टीकापुर घटनापछि चौधरी मुल धारको राजनीतिमा छाए। कैदमुक्तपछि खुला राजनीतिमा सक्रिय भएका रेशम र उनकी श्रीमती रञ्जिताबीच तिक्तता बढ्यो।

नाउपाभित्र उनीहरुबीच तीव्र शक्ति संर्घष चल्यो। श्रीमती रञ्जिताको दाबी हुँदा हुँदै महाधिवेशनमा एकल उम्मेदवारी दिएर रेशम अध्यक्ष बने। तर निर्वाचन आयोगले उनलाई मान्यता नदिएर रञ्जितालाई नै अध्यक्षमा पुनःस्थापित गरेको थियो।

नउपा पार्टीभित्रको श्रीमान श्रीमतीको विवाद अदालतसम्म नै पुगेको छ। रेशमले आजको दिनलाई टीकापुरबासीका लागि कालो दिन भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘थारु विद्रोह भएको दिन। हाम्रो श्री सम्पत्ति लुटिएको, आगजनी भएको दिन।’

कारागारबाट रिहाई भएको करिब डेढ वर्ष हुँदा पनि फुलबारी एफएमको दैलो टेक्न नसकेको उनले उल्लेख गरेका छन्। 

उनका अनुसार आगजनीका भगनावशेष यथावत छन्। राजबन्दीको नाममा अरुले रजाइँ गरेको रेशम आरोप छ।

‘राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरांस गरेको हुँ। छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीको नाममा अरुले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .