ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा माओवादीको परामर्श बैठकमा उठ्यो संसदीय दल विवाद

सुदूरपश्चिममा माओवादीको परामर्श बैठकमा उठ्यो संसदीय दल विवाद

गोकुल जोशी
भदौ १२, २०८१ बुधबार २१:२६, कञ्चनपुर

सत्ता बर्हिगमनमा परेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रदेश दौडाहमा छन्। सत्ता छोडेपछि पार्टीभित्रै उपमहासचिव जनार्दन शर्माको घेराबन्दीमा परेका दाहाल पदाधिकारी बोकेर प्रदेश राजधानी पुगिरहेका छन्।

प्रदेश राजधानीमा परामर्श बैठक डाकेर दाहाल प्रदेश पदाधिकारी र प्रदेशमा कार्यरत केन्द्रीय सदस्यसँग छलफल गरिरहेका छन्।

उपमहासचिव शर्माले माओवादी अध्यक्ष दाहालले नेतृत्व छोड्नु पर्नेलगायत विषय समेटेर स्थायी कमिटी बैठकमा पेश गरेको प्रस्तावपछि सृजित विवादलाई दाहालले मत्थर पार्न खोजिरहेका छन्।

माओवादी पदाधिकारीको जम्बो टोलीका साथ प्रदेश राजधानी डुलेर माओवादी एकताबद्ध रहेको सन्देश दिने र त्यहाँका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसँग छलफल गर्ने ध्याउन्नमा दाहाल छन्।

तथापी दाहालले माओवादी नेतृत्व छोड्नु पर्ने आवाजको सामना सुदूरपश्चिममा पनि गर्नु पर्‍यो।

माओवादी अध्यक्ष दाहाल पदाधिकारीको जम्बो टोली लिएर बुधबार बिहान सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पुगे। सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसँगको परामर्श बैठक सुरु भएको छ। 

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी भएका छन्।

बिहीबारसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी पनि सहभागी छन्।

पहिलो दिन बुधबारको परामर्श बैठकममा अध्यक्ष दाहालले सत्ता गठबन्धन फेरिनुको कारण र पार्टीको अवस्थाका विषयमा सुदूरपश्चिममा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई ब्रिफिङ गरे।

त्यस क्रममा उनले भ्रष्टाचारविरुद्ध कदम चालेकै कारण प्रतिक्रियावादी शक्ति मिलेको बताएका थिए।

‘सुशासनको पक्षमा काम गर्दा भ्रष्टाचारी आत्तिएर एक्कासी सत्ता गठबन्धन फेरियो। प्रतिकृयावादी शक्ति मिले,’ दाहालले परामर्श बैठकमा राखेको धारण उद्धृति गर्दै एक सहभागीले भने, ‘ओली रुपान्तरण भएको ठानेको थिएँ। त्यस्तो सोचे जस्तोे रहेनछ।’

सुरुमा आफूले धारणा राखेपछि दाहालले पार्टीको आगामी कदमका विषयमा बैठकका सहभागीसँग राय मागे। पहिलो दिनको माओवादी परामर्श बैठकमा माओवादी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको विवादलाई प्राथमिकता दिएर चर्को रुपमा उठान गरे।

बुधबारको छलफलमा माओवादी सुदूरपश्चिमका सचिव जनक बुढा, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामी, अक्कलबहादुर रावल, शिवसिंह ओली र रमेश धामीलगायत ८० जनाले आफ्नो धारण राखे।

तीमध्ये केहीले दाहाल नेतृत्वको विकल्प खोज्नु पर्नेमा छलफल गर्नु पर्ने बताए। पार्टी क्षयीकरण हुँदै गएको हुँदा नेतृत्व परिवर्तनको बहस गर्नुपर्ने माओवादी नेता टेकेन्द्र भट्टले बताए।

माओवादी सुदूरपश्चिमभित्र विवादले पनि परामर्श बैठकमा प्रवेश पायो। माओवादी सुदूरपश्चिमका पाका नेता खगराज भट्टलाई जिम्मेवारीविहीन बनाउँदै उनको इन्चार्ज र संसदीय दल नेता खोसिएको छ।

बहुमत सांसद आफ्नो पक्षमा जुटाउँदै सांसद मानबहादुर धामीले भट्टलाई दल नेताबाट हटाए। गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएर सहइन्चार्जमा दाहालकी बुहारी बिना मगर आउँदा भट्ट हात खाली भए।

माओवादी अध्यक्ष दाहालले दल नेता भट्टलाई बनाउनु पर्ने भन्दै जारी गरेको लिखित सर्कुलर कार्यान्वयन भएको छैन। सहभागीहरूले संसदीय दलमा देखिएको विवाद परामर्श बैठकबाटै समाधान गर्नु पर्ने बताएका थिए।

गत असार ४ गते अध्यक्ष दाहालले पार्टी बलियो र एकताबद्ध बनाउन दलको नेता भट्टलाई नै बनाउनुपर्ने भन्दै निर्देशन दिए।

त्यो मौखिक निर्देशन कार्यान्वयन नभएपछि असार १२ गते अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर प्रदेश अध्यक्ष र इन्चार्जलाई उक्त निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका थिए।

तर संसदीय दलका नेता मानबहादुर धामी बहुमत सांसदको सर्मथनमा दल नेता चुनिएको भन्दै बहुमत जुटाएर आफूलाई हटाउनु पर्ने अडानमा छन्।

संसदीय दलका नेता भट्टलाई माघ २२ मा हटाउँदा सभामुख बाहेकका १० सांसद मध्ये भट्टको पक्षमा ४ जना सांसद रहेका थिए। धामीको पक्षमा ६ सांसद रहेका थिए।

अहिले माओवादी सुदूरपश्चिम संसदीय दलमा खगराज र मानबहादुर समूहमा ५/५ सांसद छन्। खगराजको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर रहेका छन्।

मानबहादुरको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .