ad ad

सुदूरपश्चिम


सडक विस्तारमा टाउको दुखाइ बने महेन्द्रनगरका यी २२ सटर

सडक विस्तारमा टाउको दुखाइ बने महेन्द्रनगरका यी २२ सटर

गोकुल जोशी
मंसिर ११, २०८० सोमबार १६:३७, कञ्चनपुर

फराकिलो कालोपत्रे सडकको दुवैतर्फ लहरै पसल छन्। सडकको बीचमै उबडखाबड बाटो छ। त्यहाँ सडक नजिकै रहेका सटरले बाटो साँघुरो छ।

व्यस्त बजारको सडकले चर्चेको भूभागका ती २२ सटर यतिखेर सडक विस्तार कार्यका लागि टाउको दुखाइ बनेका छन्।

यो भीमदत्त नगरपालिका–४, महेन्द्रनगर बजारको मुख्य क्षेत्र मदनचोकको दृश्य हो। बजार क्षेत्रमा सडक स्तरोन्नतिको काम चलिरहेको छ।

जसले महेन्द्रनगरका सडक फराकिलो बनेका छन् भने सडकबत्तीले सहर झिलिमिली बनेको छ। तर मदनचोकका ती २२ सटरको अवरोधले त्यस क्षेत्रमा सडक विस्तार तथा कालोपत्रेको काम अवरुद्ध बनेको हो।

‘अन्यत्र लगभग अब काम सकिन लागेको छ। मदनचोकका सटर नहट्दा त्यहाँ सडक विस्तारको काम अघि बढ्न सकेको छैन,’ निर्माण कम्पनी जेडआईसी लामाका प्रतिनिधि भूपेन्द्रबहादुर सिंह भन्छन्, ‘पटक पटक नगरपालिकालाई भनेका छौँ। तर कहिले हटाउने भन्ने विषयमा कुनै जानकारी आएको छैन।’

मदनचोकका ती सटरमा तत्कालीन महेन्द्रनगर नगर विकास समितिबाट भाडामा लिएर वर्षौंदेखि व्यवसाय सञ्चालन हुँदै आएका छन्। आफूहरूको उचित व्यवस्थापनविना सटर भत्काउँदा व्यापारीको उठीबास लाग्ने अवस्था रहेको व्यापारीहरू बताउँछन्।

‘सुरुमा हाम्रो व्यवस्था हुनुपर्छ। व्यापारका लागि उचित ठाउँ दिनुपर्छ,’ मदनचोकका व्यापारी मानबहादुर कार्की भन्छन्, ‘व्यवस्थापन गरेर सटर भत्काउनमा हाम्रो कुनै आपत्ति छैन, हामीलाई व्यापारका लागि ठाउँ नदिएर भत्काइयो भने हाम्रो उठीबास हुन्छ।’

ती सटरको अवरोधले सडक स्तरोन्नतिको काम अघि बढ्न नसक्दा एसियाली विकास बैंक (एडीबी)को लगानी खेर जाने खतरा छ। बजार क्षेत्रकै सडक उबडखाबड हुँदा बजार आउजाउ गर्ने सर्वसाधारणले सास्ती भोगिरहेका छन्।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एडीबीको सहयोगमा सुदूरपश्चिमका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा स्तरोन्नतिको काम चलिरहेको छ।

भीमदत्त नगरपालिकालाई एडीबीले विनियोजना गरेको करिब तीन अर्ब बजेटमध्ये पहिलो चरणमा एक अर्ब लगानीमा सडक कालोपत्रे, फुटपाथ, साइकल लेन र ढल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

महेन्द्रनगरदेखि मझगाउँ विमानस्थलसम्मको सडक स्तरोन्नतिको काम सकिएको छ। सडक फराकिलो बनाउँदा विद्युत् र टेलिफोनका पोल तथा ढल निकासका लागि बनाइएका नाली खुला छोड्दा दुर्घटनाको जोखिम बढेको छ।

भीमदत्त नगरपालिका–४ का अध्यक्ष सुशीलकुमार भट्ट केही दिनमै सटर भत्काएर सडक विस्तारको काम अघि बढ्ने बताउँछन्।

उनका अनुसार मदनचोकका व्यापारीलाई बजार नजिकै रहेको भृकुटी माध्यमिक विद्यालय नजिकैको क्षेत्रमा स्थानान्तरण गरिनेछ।

‘सटर भत्काउनका लागि पूरै प्रक्रिया भएको छ। चाँडै भत्काएर विकास निर्माणको कामलाई अगाडि बढाउँछौँ,’ उनले भने, ‘बीचमा दसैँ-तिहारले ढिलो भयो, अब हुँदैन, सटर भत्काउने पक्षमा सबै सकरात्मक छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .