बागमती


राक्सिराङ गाउँपालिकाको अभियान– घरघरमै पुगेर स्थानीय सरकारका सेवा

राक्सिराङ गाउँपालिकाको अभियान– घरघरमै पुगेर स्थानीय सरकारका सेवा

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १३:३४, हेटौँडा

आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको छ। घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा दिन थालिएको हो। 

‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँपालिकाले सोमबार ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवाको सुरुवात गरिएको हो। ४ नम्बर वडा कार्यालयमा पुगी सोमबार एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा र नि:शुल्क औषधि वितरण गरिएको थियो। साथै सोही स्थानबाट स्थानीयलाई तरकारीका बीउ वितरणका साथै पशुका रोगविरुद्धका औषधिसमेत नि:शुल्क उपलब्ध गराइएको थियो। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टोली गाउँघरमै पुगी घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको हो। 

ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र नि:शुल्क औषधिसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरका छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको छ। सोमबार मात्रै ६ वटा परिवारलाई घरघरमै जस्तापाता पुर्‍याइएको मल्लले बताए।

एकीकृत शिविरमै व्यवसाय दर्ता, अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको छ। ८० वर्षभन्दा माथि उमेरका नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारी घरघरमै पुगी पोषिलो आहार तथा उपयोगी सामग्रीसमेत हस्तान्तरण गरेका छन्।

सोमबारको एकीकृत शिविरमा २ सय १९ जनाको नि:शुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो भने २०४ जनाले आयुर्वेद सेवाका साथै औषधि प्राप्त गरेको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए। शिविरमा गर्भवतीलाई भिडिओ एक्सरेका साथै पोषिलो पीठो वितरणसमेत गरिएको थियो । ११ जना गर्भवतीले उक्त सेवा लिएका थिए। 

५ जना महिलालाई परिवार नियोजनको अस्थायी साधन आयूसीडी र इम्प्लान्ट लगाइएको थियो। 

कृषि र पशुतर्फ २०० जनाभन्दा बढीले सेवा लिएका थिए। पशु सेवातर्फ गाईभैँसी, बाख्रा, कुखुराका औषधि र कृषितर्फ ७ थरीका तरकारीका बीउ नि:शुल्क वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक कृष्ण डुम्रेले बताए। एकीकृत शिविरअन्तर्गत नै ४ नम्बर श्री आधारभूत विद्यालयको घेराबार तथा तारजाली योजनाको अनुगमन गरी स्थलगत रुपमै भुक्तानी दिइएको थियो। सोमबार नै ४ नम्बर वडाका विभिन्न विद्यालयको अनुगमनसमेत गरिएको उपाध्यक्ष वनस्तम थिङले बताए। 

गाउँपालिकाले चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा चैत १४ गते र चैत २२ गते वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा एकीकृत शिविरको आयोजना गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .