बागमती


ढोग गर्ने ‘खगेन्द्रप्रसाद’ र इमानदार ‘रुद्रकली’ : यस्ता छन् कतारलाई दिन लागिएका हात्ती

ढोग गर्ने ‘खगेन्द्रप्रसाद’ र इमानदार ‘रुद्रकली’ : यस्ता छन् कतारलाई दिन लागिएका हात्ती

सुनिता विष्ट
बैशाख ११, २०८१ मंगलबार १५:२६, हेटौँडा

नेपालले कतारलाई जोडी हात्ती उपहार दिन लागेको छ। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइने तयारी सरकारले गरेको छ। 

दुवै उस्तै उमेरका र उत्रै ज्यान भएका कारण ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ को जोडी पठाउने निर्णय सरकारले गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

‘दुईवटा हात्ती कतार पठाउने भन्ने कुरा भएको धेरै वर्ष भैसकेको थियो,’ सूचना अधिकारी तिवारीले भने, ‘यो वर्ष भने लगभग पूर्ण तयारी नै भैसकेको अवस्था छ। दुईवटा लाने भनेको धेरै समय भैसके पनि कुन कुन पठाउने भन्ने निक्र्यौल भने लगभग एक महिनाअघि मात्रै भएको हो। उता लगेर प्रजनन् गराउन पनि हुने भएकोले एउटै उमेरका उत्रै ज्यानका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ पठाउने भन्ने निर्णय भएको हो। सोही अनुसार हामी तयारी अवस्थामै छौँ।’ 

त्यसो त, कतारमा हात्ती राख्नका लागि उचित हावापानीको अवस्थाको अध्ययन गर्न निकुञ्जका प्राविधिक टोली नै पुगेर आएको थियो। हात्तीका लागि उपयुक्त व्यवस्थापन देखेपछि नेपालको हात्ती कतार पठाउन योग्य रहने उक्त प्राविधिक टोलीले निष्कर्ष निकालेका थिए। 

निकुञ्जका सूचना अधिकारी तिवारीले थपे, ‘नेपाल सरकारले ‘एमओयू’ गरेपछि कतार पठाउने प्रक्रिया सुरु हुन्छ।’

२०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धता अनुसार हात्ती उपहार दिइन लागिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीप्रसाद ढुंगानाले बताए। 

उनका अनुसार ५ वर्षभन्दा कम उमेरका ती हात्ती कतारलाई उपहारस्वरुप पठाउन तयार भए पनि अहिले नै अन्तिम सम्झौता हुने सम्भावना छैन।

‘कतारमा हात्ती राख्नका लागि उपयुक्त ठाउँ छ कि छैन भन्नेबारे चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली कतार पुगेरै अध्ययन गरेर आइसकेको छ,’ प्रवक्ता ढुंगानाले नेपालखबरसँग भने, ‘यद्यपि अहिले नै हात्ती पठाइहाल्ने स्थिति भने बनिसकेको छैन। राजासँगै हात्ती पठाउने होइन। दुई देशबीचको कागजी प्रक्रिया पूरा भएपछि मात्रै पठाउने हो।’

प्रवक्ता ढुंगानाका अनुसार हात्ती लैजान कतारबाट महत्वपूर्ण एउटा फाइल नेपाल आइपुग्नै बाँकी छ। उक्त फाइल आएपछि मात्रै हात्ती लैजाने टुंगो लाग्ने छ। 

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कतारको सम्बन्धित निकायसँग ‘एमओयू’ गर्ने भनेर ड्राफ्ट तयार पारेर परराष्ट्र मन्त्रालय पठाइसकिएको थियो। तर कतारको ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतीको व्यापार महासन्धि’ (साइटिस) व्यवस्थापन निकायले साइटिस सचिवालयबाट स्वीकृति लिई नसकेकाले तत्काल ‘एमओयू’ हुने सम्भावना कम छ,’ ढुंगानाले भने।

‘सबै प्रक्रिया मिलेपछि कतारले हात्ती अट्ने कन्टेनर बनाएर कार्गो विमान मार्फत लैजाने हो। यसको प्रबन्ध कतार सरकारले नै गर्छ, सहजीकरण नेपाल सरकारले गर्ने हो,’ उनले भने।

खगेन्द्रप्रसाद र रुद्रकली लिएर निकुञ्जको प्राविधिक टोली सहित माउतेहरू पनि केही समयका लागि कतार नै जाने प्रबन्ध मिलाइने निकुञ्ज बताउँछ। उनीहरूले कतारका कर्मचारीलाई केही समय हात्तीको सुसार कसरी गर्ने भन्नेबारे सिकाउने छन्। त्यसपछि नेपालबाट गएका माहुतेहरू नेपाल आउनेछन्।

इमान्दार ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
२०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो खगेन्द्रप्रसाद। खगेन्द्रप्रसाद अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किंदै छन्। ५ वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आएका छन्। 

कोशीकलीले जन्म दिएपछि खगेन्द्रलाई तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको थियो। हात्ती प्रजनन् तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रमध्येको एक खगेन्द्रप्रसादले पर्यटकहरूलाई फूलमाला लगाइदिएर आशीर्वाद दिनुका साथै नमस्ते र ढोग गर्ने गरेको माहुतेहरूको भनाइ छ।

यता, चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा हुर्कंदै गरेकी रुद्रकली ५ वर्षको भई। हात्ती प्रजनन् केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली ३ महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो। पूजाकलीको मृत्युपछि उसलाई कुनै समस्या नहोस् भनेर कम्तीमा दुई जनाले रुद्रकलीको रेखदेख गर्दै आइरहेका छन्।

निडर स्वभावको रुद्रकलीलाई माहुतेले इमानदार हात्तीका रुपमा लिन्छन्। निकुञ्जका अनुसार खगेन्द्रप्रसादको तल १ हजार १ सय ९० किलोग्राम छ भने रुद्रकलीको तौल १ हजार २ सय किलो। दुवै स्वस्थ छन्। इमान्दार, स्वस्थ र विदेशमा पनि सहज रुपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार स्वरुप पठाउन लागिएको हो।

हालसम्म नेपालले विभिन्न देशहरूलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ। सरकारले हालसम्म सबैभन्दा धेरै २६ वटा गैँडा उपहार दिइएको छ।                                       

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .