बागमती


बागमती प्रदेश : पछिल्लो १२ दिनमा मात्रै आगलागीका ५९ घटना, ८९ परिवारको बिचल्ली

एक मृत्यु, दुई घाइते
बागमती प्रदेश : पछिल्लो १२ दिनमा मात्रै आगलागीका ५९ घटना, ८९ परिवारको बिचल्ली

सुनिता विष्ट
बैशाख १३, २०८१ बिहिबार ८:५४, हेटौँडा

मंगलबार एकैदिन सिन्धुलीमा तीनवटा घर जलेर खरानी भए। आगलागीबाट १९ लाख रुपैयाँभन्दा बढीको क्षति भयो। गोलञ्जोर गाउँपालिका-६ गैरीगाँउस्थित बनेली सामुदायिक वनमा लागेको डढेलो गाउँमा सल्किँदा तिलकलाल श्रेष्ठ, बेद कोइराला र इन्द्रलाल श्रेष्ठका घर जलेका हुन्। अहिले उनीहरूका परिवार घरबारविहीन भएका छन्। 

यही वैशाख ४ गते मकवानपुरको हेटौँडा-६ मा आत्माराम चौलागाईँको घरमा आगलागी लाग्यो। गोठमा बिजुलीको तार सर्ट हुँदा सल्किएको आगोले चौलागाईँको पक्की घर जलायो। घरभित्रका अन्नपात, ४ लाख रुपैयाँ, १५ तोला सुनलगायत सबै सम्पत्ति स्वाहा भयो। चौलागाईँ परिवारको बिल्लीबाठ भयो। 

यस्तै बुधबार मात्रै नुवाकोटको किस्पाङ गाउँपालिका-३ स्थित सातदोबाटो सामुदायिक वनमा डढेलो लाग्यो। त्यो आगो नजिकै रहेको इन्द्रबहादुर तामाङको कुखुराको खोरमा पनि सल्कियो। दुईवटा खोर नष्ट हुँदा लाखौँको क्षति भयो।

यी त केही प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय आगोलागीका घटना हुने क्रम ह्वात्तै बढेको छ। जसबाट भौतिक मात्रै होइन, मानवीय क्षतिसमेत भइरहेको छ।

बागमती प्रदेशका १३ जिल्लामा (काठमाडौँ उपत्यकाबाहेक) यस आर्थिक वर्षमा मात्रै आगलागीका ३४५ वटा घटना भएका छन् त्यसमा परेर ६ जनाको मृत्यु भएको छ। 

विशेषगरी चैत र वैशाखमा आगलागीको घटना ज्यादा भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय (हेटौँडा) ले जनाएको छ।

प्रहरीका अनुसार वैशाख लागेयता आगलागीका घटना बढेका छन्। प्रदेशका १० जिल्लामा वैशाख १ देखि ११ गतेसम्ममा मात्रै आगलागीका ५९ वटा घटना भएका छन्। जसमा परी ७३ घर/गोठ नष्ट भए भने १ जनाको मृत्यु भयो। साथै दुईजना घाइते भएका छन्।

आगलागीका कारण केवल १२ दिनमा ८९ परिवार पीडित बनेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।

आगलागीमा परेर यस अवधिमा ४१ करोड ३२ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। यस्तै आगोमा परेर १९ वटा पशुचौपाया मरेका छन्। जसमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १३, मकवानपुरमा ३ र सिन्धुलीमा ३ पशुचौपाया मरेको प्रहरीले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रविकुमार पौडेलले भने, ‘वैशाख महिनाको यस अवधिसम्म ५९ वटा आगलागीका घटना भएका छन्। यस्ता आगलागी प्राय: असावधानी तथा स्थानीय जंगलहरूबाट सल्केको आगोका कारण हुने गरेको पाइएको छ।’

उनका अनुसार यस आर्थिक वर्षअन्तर्गत हालसम्म आगलागीमा परी ६ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। यस्तै कूल २५६ घर/गोठ क्षति भएका छन्। जसका कारण ३७५ परिवार घरबारविहीन भएको प्रहरीको तथ्यांक छ। 

प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना सिन्धुलीमा भएका छन्। यस अवधिमा आगलागीमा परी सिन्धुलीमा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। अनि ६७ घरगोठ क्षति भएका छन्।

यस्तै काभ्रेपलाञ्चोकमा यस आर्थिक वर्षको अहिलेसम्म आगलागीबाट ५७ परिवारको घरबार उजाडिएको छ। यस क्रममा एक जनाको मृत्युसमेत भएको छ भने ७ जना घाइते भएका छन्।

यस्तै मकवानपुरमा हालसम्मको अवधिमा ४० घरगोठमा आगलागी भएको छ। 

यस्तै चितवनमा १० घरगोठ आगलागीबाट क्षति हुँदा धादिङमा १९, नुवाकोटमा ११, रसुवामा ६, सिन्धुपाल्चोकमा २०, दोलखामा ४ र रामेछापमा ४७ घरगोठमा क्षति पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार धेरैजसो आगलागीका घटना विद्युत् सर्टका कारण भएका छन्। आगोजन्य पदार्थ बालबालिकाको हातमा पर्दा पनि कतिपय आगलागीका घटना भएको प्रहरीले जनाएको छ।

पराल, भुस बाल्दा, वेल्डिङ गर्दा तथा जंगलमा चुरोट खाएर जथाभाबी मिल्काउनेजस्ता लापरबाहीका कारण डढेलो तथा आगलागी हुने गरेको प्रहरी बताउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .