बागमती


राज्यकोषको ढुकुटीमा सभामुखको रजाइँः कार्यकक्ष सजावटमा १० लाख, आवासमा ४४ लाख खर्च

राज्यकोषको ढुकुटीमा सभामुखको रजाइँः कार्यकक्ष सजावटमा १० लाख, आवासमा ४४ लाख खर्च

फाइल तस्बिर : सजावट गर्नुअघिको कार्यकक्षमा सभामुख भुवनकुमार पाठक।


सुनिता विष्ट
बैशाख १६, २०८१ आइतबार १५:१, हेटौँडा

गणतन्त्र र प्रदेश खारेजीको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यही व्यवस्था र संरचनाका पद र सुविधा लिन भने पछि पर्दैन।

यसै क्रममा बागमती प्रदेश सभाको नेतृत्व पनि राप्रपाले लिएको छ। अर्थात् यहाँ राप्रपाबाट निर्वाचित सांसद भुवनकुमार पाठक सभामुख छन्। 

उनी बागमती प्रदेश सभाको दोस्रो सभामुखका रूपमा गत पुसमा निर्वाचित भएका हुन्। तर पहिलो कार्यकालका सभामुख सानुकुमार श्रेष्ठ (एमाले) ले बिताएको कार्यकक्षको सुविधाले उनलाई पुगेन। 

त्यसैले उनले लाखौँ खर्चेर सभामुखको कार्यकक्षको साजसज्जा पूरै परिवर्तन गराएका छन्। फर्निचर, कार्पेट, वाल फिनिसिङदेखि गलैँचासम्म। 

सचिवालय भवनमा संरचना निर्माण तथा मर्मतसुधार शीर्षकको बजेटबाट सभामुख पाठकले लाखौँ रकम आफ्नो कार्यकक्ष सिंगारपटारमा ओइर्‍याएका हुन्। 

सभामुख कार्यकक्ष सजावटका लागि झण्डै १० लाख रुपैयाँ खर्च भएको प्रदेश सभाको लेखा शाखाले जनाएको छ।

लेखा शाखा प्रमुख बालकृष्ण अधिकारीका अनुसार सभामुखको कार्यकक्ष चिटिक्क पार्न ९ लाख ८८ हजार ११ सय रुपैयाँमा आर.बी.एस. कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो। 

२०८० पुस २३ गते काम थालेको कन्ट्रक्सनले कार्यकक्षका सबै सामान हटाउँदै बीचमा पार्टिसन रहेको दुई कोठालाई एउटै बनाएर नयाँ डेकोरेसन बनाएको छ। 

जसमा महँगा सामान प्रयोग गरिएका कारण झण्डै १० लाख रुपैयाँ खर्च भएको हो।

लेखा शाखा प्रमुख अधिकारीका अनुसार मर्मतबापतको उक्त रकम प्रदेश सभाले २०८० चैत २ मा कन्ट्रक्सनलाई भुक्तानी गरिसकेको छ।

कार्यकक्ष चिटिक्क मात्र होइन, सभामुख पाठकलाई हरेक सामान ब्रान्डेड नै चाहिने प्रदेश सभाका एक कर्मचारीले बताए।

‘उहाँ अलि ठूलै घरानाको हुनुहँदो रहेछ। सबै सामान महँगो तिरेर भए पनि ब्रान्डेड नै होस् भन्ने चाहनुहुन्छ,’ ती कर्मचारीले नेपालखबरसँग भने। 

सभामुख पाठक र उपसभामुख अप्सरा चापागाईँका कार्यकक्ष एउटै तलामा आपनेसामने छन्। आफ्नो कार्यकक्ष मर्मतमा झण्डै १० लाख खर्चिएका सभामुख पाठकले उपसभामुख चापागाईँको कार्यकक्षलाई भने उपेक्षा गरेका छन्।

आवासमा ४४ लाख खर्च

झन्डै १० लाख खर्चेर कार्यकक्ष चिरिच्याट्ट पारेका सभामुख पाठकले हेटौँडा-१०, राप्तीरोडमा रहेको सरकारी आवास मर्मतका लागि पनि झन्डै लाख रुपैयाँमा ठेक्का दिइसकेका छन्। 

कम्पाउन्ड वाल निर्माण, रंगरोगन तथा भित्री सजावट गर्न ४४ लाख ६२ हजार ३० रुपैयाँमा ठेक्का लगाएर काम सुरु भइसकेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ। 

आवास मर्मत पनि सचिवालय सभा भवनमा संरचना निर्माण तथा मर्मत सुधार शीर्षकको बजेटबाट भइरहेको लेखा शाखा प्रमुख अधिकारीले बताए।

उनका अनुसार उक्त बजेट सभामुख, उपसभामुख र प्रदेश सचिवका आवासमा कम्पाउन्ड बनाउने योजनाअन्तर्गत विनियोजन भएको हो।

तर उपसभामुखको आवास मर्मत पछि गर्ने भन्दै सभामुख पाठकले हाल भने आफ्नै आवासमा मात्रै काम गर्न निर्देशन दिएको स्रोत बताउँछ। 

२०३६ सालदेखि नै राजतन्त्र र पञ्चायतका पक्षमा लागेका पाठकको यो कदमले उनलाई सामन्तवादको आरोप नलाग्ला भन्न नसकिने राजनीतिक विश्लेषक बताउँछन्। 

छाडेका छैनन् महामन्त्री पद
सभामुख निर्वाचित भएपछि दलगत जिम्मेवारीबाट अलग हुनुपर्ने प्रावधान छ। तर उनले अहिलेसम्म राप्रपाको महामन्त्री पदबाट राजीनामा नदिएको एक नेता बताउँछन्। 

सभामुख पाठक राप्रपाको समानुपातिक कोटाबाट पहिलोपटक प्रदेश सभा छिरेका हुन्।

२०३६ सालको जनमत संग्रहका बेला उनी पञ्चायत समर्थक नेपाल राष्ट्रिय छात्र संगठनको अध्यक्ष बने। त्यहीँबाट राजनीति अघि बढाएका उनी त्यसपछि पञ्चायत समर्थक युवक संगठनको सचिव बने।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायत पक्षधरले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेपछि उनी त्यही पार्टीको युवा संगठनको अध्यक्ष बने।

२०५९ सालमा राप्रपाको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए।

२०६४ सालमा कमल थापाले राप्रपा नेपाल गठन गरेपछि उनीसँगै रहेका पाठकले २०७८ सालको राप्रपा एकता महाधिवेशनमा थापाकै प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिए। 

अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग हारे पनि पाठक भने महामन्त्रीमा विजयी भए। 

यसअघि पाठकले राप्रपाको सहायक महामन्त्री, प्रवक्ता र संगठन विभागको प्रमुख भएर काम गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .