ad ad

बागमती


बागमतीमा संविधान दिवस : संविधान स्वीकार्न नसक्ने सभामुख, विपक्षी दल अनुपस्थित

बागमतीमा संविधान दिवस : संविधान स्वीकार्न नसक्ने सभामुख, विपक्षी दल अनुपस्थित

नेपालखबर
असोज ३, २०८१ बिहिबार १४:४४, मकवानपुर (हेटौंडा)

बागमती प्रदेश सरकाले बिहीबार (आज) संविधान दिवस 'भव्यताका साथ' मनायो।

संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा बागमती प्रदेश सरकारले पनि संविधान दिवस मनाएको हो।

तीन दिने कार्यक्रमकै घोषणा गरेर मंगलबारदेखि नै विविध कार्यक्रम गरेको बागमती प्रदेशले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा समारोह आयोजना गरेको थियो। 

कार्यक्रम स्थलमा सरकारमा सहभागी रहेका दलका कही सांसद र मन्त्रीहरू मात्रै उपस्थित भए। सरकारका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र तथा अन्य प्रतिपक्षी दलका कोही पनि सांसदको सहभागिता रहेन।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा आयोजित कार्यक्रमको निम्तो सबै सांसदहरूलाई पुगे पनि अनुपस्थित रहेको पाइएको हो। 

त्यसो त, प्रदेश सरकारले आफैले आयोजना गरेको कार्यक्रममा प्रतिपक्षी दलहरूले बहिष्कार नै गर्ने चलन बागमतीका लागि भने नौलो होइन। 

यसअघि प्रदेश सभाको वार्षिकोत्सव, गणतन्त्र दिवस लगायतका कार्यक्रमहरू प्रायः जुन दल प्रतिपक्षमा छ, त्यो दल कार्यक्रममै उपस्थित नहुने प्रचलन नै बसेको छ। 

यता, माओवादी केन्द्र बागमती संसदीय दलका नेता शालिकराम जम्कट्टेल आफूलाई सरकारमा सहभागी मन्त्रीहरू कसैको पनि फोन नआएको तर दलको कार्यालयमा निम्तोको चिठ्ठी पुगेको बताउँछन्।

‘प्रदेश सभामा रहेको संसदीय दलको कार्यालयमा चिठ्ठी पुगेको छ भन्ने खबर आएको थियो’, प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका जम्मकट्टेलले भने, ‘तर धादिङमा आज पार्टीको कार्यक्रम भएको कारण उपस्थित हुन सकिएन। भ्याउँदा संविधान जस्तो गरिमामय दिनको कार्यक्रममा उपस्थित हुँदा राम्रै हुन्थ्यो।’

गत साउन ९ गते हेटौंडाबाट फर्किएका उनी त्यसपछि हेटौंडा आउने विशेष काम नै नपरेको बताउँछन्।  

यता, प्रतिपक्षी कित्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने संविधान दिवस आफ्नो दलले बहिस्कार नै गरेको कारण प्रदेश सकारको समारोहमा उपस्थित नभएको स्वीकार गर्छ।

संविधानमै असहमति रहेको दल संविधान दिवसको समारोहमा उपस्थित भैरहनुपर्ने कुनै कारण नरहेको राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले बताए। 

राजनीतिक दलका सांसदहरू मात्रै होइन कार्यक्रममा प्रदेश सभाका सभामुख समेतले उपस्थिति जनाएनन्। राप्रपाबाट समानुपातिक प्रणालीबाट निर्वाचित भएर सदनमा पाइला टेकेका सभामुख भुवनकुमार पाठकले प्रदेशको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित हुने अवसर पाएका थिए। 

सभामुख भएपछि नैतिकताका आधारमा पार्टीबाट राजीनामा दिएर स्वतन्त्र बनेर सदन हाँक्नुपर्ने जिम्मेवारी बोकेका पाठक यसअघि गणतन्त्र दिवसमा समेत अनुपस्थित भएका थिए। आफ्नो कार्यकक्षमै पृथ्वीनारायण शाहको ठूलो तस्बिर सजाएका उनले लोकतान्त्रिक गणतन्त्रको दिवसहरू मान्न नसकेको पुष्टि गर्छ। 

त्यसो त, आज प्रदेश सरकारले संविधान दिवस मनाइरहँदा प्रदेशकै सभामुख ज्युको उपस्थिति किन रहेन? नेपालखबरको यो प्रश्नमा सभामुख पाठकले आज घरमा श्राद्धको तिथि परेको कारण उपस्थिति जनाउन नसकेको बताए।

‘यसमा मेरो कुनै स्वार्थ छैन,’ उनले भने, ‘सोह्र श्राद्धको तिथिमा घरमा आफैले श्राद्ध गर्नुपर्नेछ। सोही कारण कार्यक्रममा आउन नपाएको हुँ। यो कुरा मैले पहिल्यै मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइसकेको थिएँ।’

देश संघीयतामा गएपछि प्रदेश सरकारले यो आठौं संविधान दिवस मनाउँदै गर्दा यस्ता दिवसहरू सत्तारुढ दलहरूको मात्रै प्राथमिकतामा पर्नु गलत भएको राजनीतिज्ञहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .