ad ad

बागमती


मनहरी गाउँपालिकाका अध्यक्षले आफ्नै तलब खर्चेर बनाइदिए सोनीलाई घर

अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेर जम्मा गर्छन् तलब
मनहरी गाउँपालिकाका अध्यक्षले आफ्नै तलब खर्चेर बनाइदिए सोनीलाई घर

सुनिता विष्ट
असोज १, २०८१ मंगलबार १७:४, मकवानपुर (हेटौंडा)

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती २०७९ बैशाखको स्थानीय तह निर्वाचनमा होमिँदा उनको चुनावी एजेण्डा थियो, ‘निर्वाचित भएपछि राज्यकोषको रकम आफूले नलिएर जनताको सेवामा खर्च गर्ने।’

सोही एजेण्डालाई मूर्त रुप दिएका गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो तलब भत्ता वापतको रकमले मनहरी गाउँपािलका ५ बसन्तपुरकी एकल महिला सोनी राईलाई एककोठे घर निर्माण गरेर हस्तान्तरण गरेका छन्। 

मनहरी – ५ बसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहेकी सोनी राईलाई पक्की घर बनाएर मंगलबार हस्तान्तरण गरिएको हो। 

गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो तलब भत्ता वापत्‌को रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन्।

तलब जम्मा गर्नका लागि उनले आफ्नो व्यक्तिगत बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका हुन्। सोही कोषबाट विभिन्न क्षेत्रमा सामाजिक सेवा गर्दै आएका गाउँपालिका अध्यक्षले आफ्नो तलब भत्ता वापत्‌को रकमले मनहरीकै एकल महिला राईलाई घर बनाइदिएर हस्तान्तरण गरेका हुन्। 

विगत ८ वर्ष अघि सोनीका श्रीमान नरबहादुर राई काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि बसन्तपुरमा सानो छाप्रोमा जीवनयापन गर्दै आएकी थिइन्।

घामपानी समेत नछेक्ने छाप्रोमा बस्दै आएकीउनलाई अध्यक्ष कालाखेतीले घर निर्माण गरिदिएका हुन्। लामो समय छाप्रोमा बस्दै आएकी सोनी अध्यक्षको खर्चमा घर बनाइदिए पछि दंग छिन्। 

‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ,’ सोनीले आँखामा टिलपिल आँसु बनाउँदै भनिन्, ‘श्रीमान् हुँदा सानो काठको घर बनाएर त्यहीँ बस्दै आएका थिायौँ। उहाँको मृत्यु भएपछि काठको घर पनि कुहिएर भत्कियो। यतै नजिकै काठ र जस्ताले बारेको साना छाप्रोमा बस्दै आएको थिएँ। पानी चुहिन्थ्यो। हावाहुरीले समस्या पार्थ्यो। तपाईंहरू सबैको सहयोगले घर बन्यो, धेरै धेरै धन्यवाद। म एकदमै खुसी छु,’ सोनीले भनिन्।

त्यसोत, सोनुलाई ओत लाग्ने घर नभएको र आफैँ बनाउन सक्ने अवस्था नभएको भन्दै उनका छिमेकीहरूले अध्यक्ष कालाखेति समक्ष जानकारी गराएका थिए।

उनीहरूको पहलबाटै घर बनाएर राख्न सहज भएको स्थानीय शान्ता अधिकारी बताउँछिन्। 

‘सोनी दिदीको अवस्था हेर्नै नसकिने थियो, बस्नलाई निकै समस्या भोगिरहनुभएको थियो,’ अधिकारीले भनिन्, ‘उहाँको अवस्था र दुख देखेर हामी निकै चिन्तित थियौँ। ज्यालादारीबाट जीवन चलाइरहनु भएको छ। अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुभयो।’  

यता, गाउँपालिका अध्यक्ष कालाखेतीले एकल महिला बर्खामा चुहिने छाप्रोमै दिन काटिरहेको खबर पाएपछि अध्यक्ष कालाखेतीले तलब वापतको रकमले नै घर बनाइदिने निर्णय गरेको बताउँछन्।

२ लाख १५ हजार रुपैयाँ लागतमा निर्माण भएको घरको खर्च सबै आफ्नै तलब भत्ता वापतकै रकम खर्चिएको कालखेती बताउँछन्।

‘मैले चुनावी मैदानमा होमिएकै बेला तलबभत्ता वापतको रकम तपाईंहरूकै सेवामा समर्पित गर्छु भन्ने वाचा गरेको थिएँ, त्यही बाचा पूरा गरिरहेको छु,’ उनले भने, ‘यसअघि पनि मैले उपचार गराएर अस्पतालको रकम तिर्न नसक्दा डिस्चार्ज हुन नसकेको बिरामीको रकम तिरेर घर ल्याएँ। विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छु।’

उनले थपे, ‘सोनी दिदीको अवस्थाको बारेमा पनि त्यहाँका स्थानीयहरुले जानकारी गराउनुभयो। म उहाँको घरमै गएर हेरेँ। स्थिती निकै दयनिय देखेपछि स्थानीयहरुले जानकारी गराउनुभयो। म उहाँको घरमै गएर हेरेँ। स्थिती निकै दयनिय देखेपछि मेरो तलब भत्ता वापत जम्मा हुने कोषको रकमले उहाँलाई एककोठे पक्की घर बनादिने निर्णय गरेको थिएँ। त्यो पूरा गरेर साँचो हस्तान्तरण गर्न पाएँ। मनमा शान्ति मिलेको आभाष भएको छ।’

२९ वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा मनहरीको अध्यक्ष पदमा होमिएका अध्यक्ष कालाखेतीले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए। 

निर्वाचित भएपछि सरकारी सवारी समेत प्रयोग नगरेका उनले यसअघि तलब वापतको रकम विपन्न परिवारका लागि उपचारमा सहयोग, विभिन्न चाडपर्वमा रासन सामग्री हस्तान्तरण जस्ता कार्यमा खर्च गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .