ad ad

राजनीति


ओलीले ‘सबै अस्त्र प्रयोग गर्नू’ भनेपछि बालेन पक्ष– वैकल्पिक नेता बन्न रोके ‘रिभोल्ट’ हुनसक्छ

इन्द्रजात्रा भव्य बनाउने योजना बुन्दै थिए बालेन, प्रधानमन्त्री सहभागी हुने भएपछि लम्ब्याए भारत बसाइ
ओलीले ‘सबै अस्त्र प्रयोग गर्नू’ भनेपछि बालेन पक्ष– वैकल्पिक नेता बन्न रोके ‘रिभोल्ट’ हुनसक्छ

प्रधानमन्त्री केपी ओली र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच टकराव झन् बढ्दै गएको छ


सागर न्यौपाने
असोज ३, २०८१ बिहिबार ९:२, काठमाडौँ

२०८१ जेठ २१ मा गिरीबन्धु टि स्टेटको जग्गाका विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै स्टाटस लेखेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओली र देशको राजधानी काठमाडौँ महानगरका मेयर बालेनबीचको यो टकराव चुलिदै जाँदा कुनै विन्दुमा सम्झौतामा टुंगिने वा मुठभेडतर्फ मोडिने खतरा पनि छ। 

गिरीबन्धु टि–स्टेटमा नीतिगत भ्रष्टाचारदेखि काठमाडौँको न्युरोडमा पार्किङसम्बन्धी विवादमा वडाध्यक्ष उचाल्ने काम ओलीले गरेको शाहको बुझाइ छ। जेठ १८ मा उनले त्यही संकेत गर्दै स्टाटस लेखेका थिए।

खोला किनारको मापदण्डसम्बन्धी सर्वाेच्च अदालतको परमादेशमा महानगरविरुद्धको गतिविधि तथा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि लागेको बाल श्रमशोषणको मुद्दा डिसमिस गराउन सक्रिय रहेको भन्दै मेयर शाहले ओलीको नामै किटान गरेर स्टाटस लेखे। 

जेठयता मात्र शाहले ओलीलाई लक्षित गर्दै कम्तीमा १० वटा स्टाटस लेखेका छन्।

निकटहरूका अनुसार काठमाडौँको मेयरको चुनाव जितेर आएदेखि ठाउँठाउँमा ओलीले असहयोग गरेको भन्दै शाह रुष्ट बन्दै गएका हुन्। त्यही कारण सामाजिक सञ्जाल फेसबुकबाटै शाहले ओलीप्रति असन्तुष्टि प्रकट गरिरहेका उनी निकट बताउँछन्। 

त्यतिबेलादेखि जारी असहयोग झन् बढ्दै गएको उनले महसुस गरेका छन्।

पछिल्ला दिन प्रधानमन्त्री ओलीले पनि आफ्ना नेता कार्यकर्तालाई मेयर शाहको विरोध गर्न निर्देशन दिए।

‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ,’ ओलीले भनेका छन्, ‘निक्लिनु पर्‍यो नि मैदानमा, बोल्न पर्छ। आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्छ।’

काठमाडौँबासीले भव्यपूर्वक मनाउने इन्द्रजात्रामा समेत ओलीसँग एउटै मञ्चमा देखिनुपर्ने भएपछि शाह उपस्थित भएनन्। जबकि उनले काठमाडौँलाई सांस्कृतिक सहरका रूपमा ब्रान्डिङ गर्ने घोषणा गरेका थिए। 

अघिल्लो वर्ष नै इन्द्रजात्रालाई विश्वव्यापी बनाउन भन्दै शाहले विभिन्न देशका नगरप्रमुख काठमाडौँ बोलाएका थिए। काठमाडौँ उपत्यकावासीले खास महत्त्व दिएर मनाउने इन्द्रजात्रालाई उनले प्राथमिकता दिएको देखिन्थ्यो। 

सोही अनुसार अघिल्लो वर्ष धूमधामले इन्द्र जात्रा मनाउँदा मेयर शाहले वाहवाही पाएका थिए। त्यसबेला जात्रामा सहभागी हुन पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई समेत उनको व्यक्तित्वले छायामा पारेको चर्चा भएको थियो। 

तर, यसपटक असोज १ गते इन्द्र जात्रामा उनी अनुपस्थित भए। उनको सचिवालय सदस्यका अनुसार एकहप्ताको कार्यक्रम बनाएर भारत पुगेका मेयर शाहको निर्धारित कार्यक्रम भदौ ३० सम्म थियो। उनी ३१ गते काठमाडौँ आइपुग्ने तयारी थियो।

इन्द्रजात्रामा सहभागी हुने र भव्य बनाउने उनको योजना त्यो बेला परिवर्तन भयो, जब प्रधानमन्त्री ओली जात्रामा सहभागी हुने उनले जानकारी पाए। अनि, उनले भारत बसाइ लम्ब्याए।

यसले ओली र मेयर शाहबीचको तिक्तता व्यक्तिगत तहमै पुगेको देखाउँछ।

किन यस्तो भयो त?

मेयर शाहलाई सहयोग गरिरहेका एक सल्लाहकार सदस्यले नेपालखबरलाई बताएअनुसार ओलीले पटकपटक असयोग गरेपछि मनमुटाव बढेको हो।

‘पार्टी अध्यक्ष हुँदा र प्रधानमन्त्री हुँदा पनि केपी ओलीले काममा गरेको अवरोध मुख्य कारण हो,’ ती सल्लाहकारले भने, ‘पार्टी पंक्ति र स्वार्थसमूहबाट बढी प्रभावित हुने, उनीहरूको लागि काम गर्ने, देशको लागि काम नगर्नेमध्ये ओलीजी पनि हुनुभयो।’ 

त्यसो त शाहले अन्य नेतालाई गाली नगरेका होइनन्। उनले सामाजिक सञ्जालमा लेखेका कतिपय शब्द निकै विवादमा पनि परेका छन्।

तर, यही विषयलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष प्रचण्ड लगायतले खासै चासो देखाएका छैनन्। 

ओलीले भने प्रतिक्रिया मात्र होइन, संगठित रूपमै प्रतिवाद गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

‘पुराना नेता सबैलाई टार्गेट गरेको हो, त्यसमा पनि बढी फ्रन्टमा केपी ओली आउनुभएको हुनाले उहाँसँग परेको हो,’ ती सल्लाहकारले भने।

मेयर शाह आम नेपालीको अपेक्षा अनुसार चलिरहेको निकटस्थहरूको दाबी छ।

‘पब्लिकले वैकल्पिक नेता उनलाई मानेका छन्। पुराना भर्सेस् नयाँ अर्थात् खराब भर्सेस् असल भन्नेमा वैकल्पिक नेता म हुँ भनेर दाबी गर्नुभएको देखिन्छ,’ ती सल्लाहकार थप्छन्, ‘पुराना नेतातर्फ राजनेता म नै हुँ भन्ने ओलीलाई परेको छ। तर, बालेनलाई आम पब्लिकको साथले वैकल्पिक राजनीतिको राजनेता म नै हुँ भन्ने लागेको देखिन्छ।’ 

पछिल्लो समय नेपालका पुराना दल र नेताप्रति आम जनतामा असन्तुष्टि बढ्दै गइरहेको छ। त्यही निराशाको जगमा कुनै दल र भरपर्दाे साथबिना शाह उदाएका थिए। यद्यपि, निर्वाचित भएर महानगरको मेयर भएयता उनले कायापलट गर्ने काम अघि बढाएका छैनन्। 

यही विषयमा प्रधानमन्त्री ओली र उनले नेतृत्व गरेको नेकपा एमालेका नेता कार्यकर्ताले शाहविरुद्ध प्रश्न गरिरहेका छन्। शाहले महानगरको बजेट परिचालन गर्न नसकेकोदेखि उनीमाथि व्यक्तिगत तवरका विभिन्न आरोप नै लगाएका छन्। 

यसले तिक्तता झन् बढाउन भूमिका खेलेको छ। 

तर, जनताले आफ्ना हरेक कामलाई साथ दिएको शाहको निष्कर्ष रहेको निकटस्थहरूको भनाइ छ।

‘नेताहरू उनीहरूका कार्यकर्ताले चाहेको काम गर्छन्,’ ती सल्लाहकार भन्छन्, ‘बालेनले पनि फलोअर्सले जे चाहेका छन्, त्यही गरिरहेका छन्। फलोअर्सले विद्रोह गर्नुपर्छ भने बालेन विद्रोहमा जान तयार हुन्छन्। वैकल्पिक नेता बन्ने क्रममा कसैले अवरोध गर्छन् भने भोलि रिभोल्ट पनि हुनसक्छ।’

मिलनविन्दु झन् टाढा
भदौ २७ गते सरकारले देशभरका सहसचिवहरूको सरुवा गर्‍यो। त्यसमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार पनि सरुवा भए।

यसबाट मेयर शाह खुसी छैनन्। आफुले मन पराएका युवा प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवाको विषयलाई शाहले ओलीले फेरि असहयोगको नयाँ अध्याय सुरु गरेको रुपमा अथ्र्याएका छन्।

‘अब हुने कार्यक्रममा कत्तिको सहयोग हुन्छ हेर्छौँ, मेयरसापको काम रोक्न थाले व्यक्तिगत तहमा रहेको विवाद संस्थागत तहमा पुग्छ,’ उनका सचिवालयका एक सदस्यले भने, ‘मेयरको पछि लाग्न आफ्ना नेता/कार्यकर्तालाई प्रधानमन्त्री ओलीले दिनुभएको निर्देशन गम्भीर हो, अब मिलनविन्दु के भेटिएला र!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .