होटल सोल्टीको त्यो दुर्लभ जागिर, जसले खोल्यो मेरो हङकङ यात्राको ढोका

होटल सोल्टीको त्यो दुर्लभ जागिर, जसले खोल्यो मेरो हङकङ यात्राको ढोका

सन् असीको दशकमा होटल सोल्टीको स्टाफ क्रिसमस पार्टीमा सहकर्मी राजकुमार रानासँग लेखक कमल पौड्याल (बायाँ)


कमल पौड्याल
असार १७, २०८० आइतबार १९:२१, हङकङ

हङकङ र नेपालको सिधा हवाई दुरी करिब ३ हजार किमि र समय साढे दुई घण्टाको मात्र फरक हो। लगभग एउटै खालको ऋतु र मौसम हुने भए पनि नेपालमा मनसुन नआएर हाहाकार हुँदा हङकङमा भने साउनेझरी सुरु भएजस्तै देखिन्थ्यो यसपालि। 

क्यासल पिकको थुम्को, गोल्ड कोस्ट, जुहाइ र मकाउको आकासभरि कालो बादल, मेघ गर्जन सहित बिजुली चम्कँदै दर्के पानी परेको दृश्य मलाई हङकङमा अति नै मनपर्छ। यसपालि मे ३१ को बिहान हङकङमा करिब ३ घण्टामै १० हजार पटक बिजुली चम्केको यहाँको जलवायु विज्ञान विभागले जनाएको थियोे। हङकङका लगभग सबै घर चट्याङ सुरक्षित मानिन्छन्। तर यसपालि भने चुन मुनको गगनचुम्बी भवनको नेपाली परिवार बसेकै चाहिँ अपार्टमेन्टको पर्खालमा चट्याङ लागेको समाचार टेलिभिजनमा समेत आयो। धन्न मानवीय क्षति भने भएन। अझ झरीपछिको इन्द्रेणी त सामाजिक सञ्जालमा तुरुन्तै फैलिन्छन आजकल। 

बाल्यकालमा धादिङ जिल्लाको केवलपुर गाउँमा घरको पालिमा उभिएर यस्तै दृश्य हेर्दा पल्ला घरको सानाबाले इन्द्र भगवानले कहाँकहाँ पानी पर्यो भनेर हेर्दा बिजुली चम्केको हो अनि खजुरोले उत्तानो परेर भगवानलाई जिस्काएपछि भगवानले रिसाएर वाण हान्दा चट्याङ परेको भन्दा पत्याइन्थ्यो। 

हङकङको झ्यालबाट यो अनुपम प्राकृतिक दृश्य हेर्दै छोरी कायालाई बिजुली चम्कनु र चट्याङबारेका यी मेरा बाल्यकालका र नयाँ वैज्ञानिक तथ्यबारे बताइरहँदा बेन्जु चाहिँ ल्यापटप कोट्याउँदै थिइन्। आर्थिक विष्यामा धेरै चासो राख्ने उनले हाम्रो प्राकृतिक एकाग्रता भंग गर्दै सिप्रदी ट्रेडिङ, सिद्दार्थ राणा र सूर्य नेपालको आयकर इमानदारीबारे फतफताउन सुरु गरिन्।

मैले दयाहाङ राइकै फिल्मी शैलीमा भनेँ, ‘कुनै समयमा मलाई झुलाउनु झुलाएर जागिर नदिने त्यो सिप्रदीको कुरा नगर। जतिसुकै कमाओस् कि तिरोस् हाम्लाई के मतलब?’

उनले थपिन्, ‘सबै यस्तै इमानदार भैदिए भने देशको अर्थतन्त्रको लागि त राम्रो हो नि। त्यो बेला सिप्रदीमा जागिर पाएको भए सायद तपाईं हङकङ आउनुहुन्थेन। जे भो राम्रो भो। तपाईंलाई जागिर चाहिएको थियो तर उनीहरूको आवश्यकता तपाईंबाट पूरा नहुने देखेर पनि हुनसक्छ।’

कुरा त सही नै हो। 

म फेरि तुङचुङको आकासमुनि ठिक करिब ४ दशकअगाडिको स्थापना कालको सिप्रदी ट्रेडिङ, प्रभाकर शमशेर राणा र दिवाकर विक्रम राणाको अफिसको दैलो धाइरहँदाको घनचक्करमा डुबुल्की मार्न थालेँ। 

विसं २०३९/४० सालतिरको कुरा हो। बिहानको कलेजपछि दिउँसो जागिरको खोजीमा भए पनि नमिल्दासम्म जिन्दगी फुर्सदिलो थियोे। काठमाडौं जैसीदेवलको कोठामा मसँगै बस्ने गाउँले साथी श्रीकृष्ण बिडारीले कतैको भनसुनबाट नेपाल परिवार नियोजन संघमा अस्थायी जागिर पाएका थिए भने अर्का सहपाठी रामप्रसाद बिडारी असनको टाइपिङ केन्द्रमा टाइप सिकेर पार्ट टाइम पनि गर्थे त्यहीँ नै। सोर्सफोर्स बिना जागिर पाउनु निकै मुस्किल थियोे त्यो बेला। हुन त देशको हालत अहिले पनि त्यस्तै नै छ। 

गोदावरीकी ठूली दिदीको ससुरा होमप्रसाद आचार्य राजा त्रिभुवनकै पालादेखि पुजारीको रुपमा नारायणहिटी दरबारमा जागिरे हुनुहुँदो रहेछ। त्रिभुवनको निधनपछि महेन्द्रकोमा र उनको पनि निधनपछि दरबारिया अंशबण्डामा तीन भाइको धनसम्पत्तिसँगै कर्मचारी बाँडफाँटमा उहाँ चाहिँ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको भागमा परेकोले जीवनकुञ्जमै बस्नुहुन्थ्यो। 

आर्यघाटमा सेतो पोसाकमा उभिएका तत्कालीन अधिराजकुमारद्वय ज्ञानेन्द्र र धीरेन्द्र अनि उहाँलगायत अन्य तीन जना ब्राह्मणको राजा महेन्द्रको शव सहितको श्यामश्वेत ठूलो तस्बिर मैले उहाँसँगै छाउनीस्थित श्री ५ महेन्द्र स्मृति संग्रहालयमा हेरेको थिएँ राजतन्त्रको बेला। अहिले गणतन्त्रमा छछैन, थाहा भएन। 

दुवै अधिराजकुमारहरु बुबाको क्रियाकर्ममा बस्दा वहाँ पनि १३ दिनसम्म सहयोगीको रुपमा हुँदाको धेरै कहानी सुनाउनु हुन्थ्यो। हरेक वर्षको कुशे औँशीमा जीवनकुञ्ज र शीतल निवास दुवै ठाउँहरुबाट अधिराजकुमारहरुले टीका, दक्षिणा, फलफूल, मिठाइ हातमा दिन्थे वहाँलाई।

वहाँ सेवानिवृत्त भैसकेपछि पनि धीरेन्द्र शाह गोदावरीतिर जाँदा वहाँको टौखेलको घरमा पस्दा ‘सरकार घरमा सवारी होइबक्स्यो नि’ भन्दै दङ्ग पर्दै सुनाउनु हुन्थ्यो।

वहाँ मलाई निकै माया गर्नुहुन्थ्यो। ‘कमल, पहिला एसएलसी पास गर, सकभर फस्ट डिभिजनमा है जागिर त पाइहालिन्छ नि’ भन्दै ढाडस दिनुहुन्थ्यो सधैँ।

वहाँकै घर गोदावरीमा बसेर ९ र १० कक्षा अनि पहिलो श्रेणीमै गोदावरीको किटीनी हाइस्कुलबाट एसएलसी पास गरेको थिएँ मैले।

त्यसपछि बिहान कलेज पढिरहँदा दिउँसो जीवनकुञ्जमा वहाँलाई भेट्न पुग्थेँ अक्सर। रानीपोखरीको डिलमा लौ आउनुस् आउनुस् लाजिम्पाट, पानी पोखरी, महारागञ्ज भन्दै तीन पांग्र टेम्पु चालक भट्याउथेँ। तीन मोहोर भाडा थियो। अहिलेको राष्ट्रपति भवन शीतल निवासपारि अन्तिम स्टपमा ओर्लिएर हिँड्दै ज्ञानेन्द्र शाहको निर्मल निवासपछि जीवनकुञ्ज पुगिन्थ्यो। मुख्य द्वारको भित्र दाहिनेपट्टि स्टाफ क्वार्टर थियो। भेटघाट गर्न आउनेहरु त्यहाँसम्म मात्र जान पाउँथे। 

नागरिकतामा उमेर बढाए पनि म १७ वर्षे केटो थिएँ। एकदिन वहाँ कमल तिमी बस्दै गर म खाजा लिएर आउँछु भनेर भित्र जानुभयो। त्यत्तिकैमा धीरेन्द्र शाह खैरो बेन्ज कार आफैँले चलाएर बाहिरबाट आए। शाही नेपाली सेनाका सेन्ट्रीले बन्दुक तलमाथि गरेर सलामी गरेको देख्दा म हेरेको हेर्‍यै भएँ। कालो चस्मा, लामो कपाल भएका धीरेन्द्र शाह फिल्मी नायक विनोद खन्नाजस्तै लाग्यो मलाई त्यो बेला। गाउँमा ढुकुर, तित्रा, कालिज मार्ने छर्रा बन्दुक मात्र देखेको म, आधुनिक हतियार सहितको सैनिक त्यति नजिकैबाट सायद पहिलो पटक देखेको थिएँ। एकरत्ति नहल्ली उभिएको सैनिकलाई मैले नजिकै गएर बन्दुक देखाउँदै सोधेँ, ‘दाइ एकछिन यो बन्दुक यसो हेर्न मिल्छ?’ ती सैनिक जस्ताको तस्तै उभिइरहे। भित्रबाट जुङ्गे जमदार आएर सेन्ट्रीसँग कुरा गर्न हुँदैन बाबु भन्दै भित्र जान भने। यो कुरा दिदीको ससुराले पनि थाहा पाउनुभयो। अनि वहाँले यहाँ आउँदा त्यसरी सेन्ट्रीसँग कुरा गर्न हुँदैन अनि सरकारहरु सवारी भएको हेर्दा झुकेर अभिवादन गर्नुपर्छ है भन्नुभयो। मैले हवस् भन्दै मुन्टो हल्लाएँ। 

जागिरको लागि म त्यहाँ धाउने थाहा पाएका जुङ्गे जम्दारले भोलि धीरेन्द्र सरकारले प्रभाकर शमशेरलाइ दर्शन भेट बक्सने लेखेको छ है एडीसीको टेबुलमा भनेर सुनाए। ती एडीसी रानी ऐश्वर्यको कोपभाजनमा जेल परेका मेजर भरत गुरुङ थिए। वहाँले ‘ल कमल भोलि नै प्रभाकर राजा सवारी हुने रहेछ। म बिन्ती गर्छु, चिन्ता नलेऊ, खाजा खाऊ’ भन्नुभयो। 

त्यो बेलाको खाजामा स्टिलको ठूलो ग्लासमा दरबारमै पालिएका गाइको जुजुधौजस्तै एकराते बाक्लो दही, आलु, काउली, हरियो लसुनको मगमग बास्ना आउने तरकारी र चुरुमचुरुम गर्ने चिउरा सम्झँदा अहिले पनि मुख रसाउँछ। 

भोलिपल्ट साँझतिर मैले पकेट डायरी पल्टाएर काठमाडौं गणेशथानबाट जीवनकुञ्जको क्वार्टरमा फोन गरेँ। 

‘ल कमल पीर नगर, मैले प्रभाकर राजालाई बिन्ती चढाएँ। भोलि दिउँसो लिएर आउनू हुकुम भाको छ’ भन्नुभयो। १ बजे सोल्टी दोबाटोमा आइराख है भन्दै फोन राख्नुभो। म दङ्ग पर्दै एक मोहोर फोन शुल्क तिरेर डेरामा फर्केँ र साथीहरूलाई सुनाएँ। 

ए लौ प्रभाकर शमशेरले भनेपछि त ढुङ्गाको अक्षर भन्दै अग्रिम बधाई दिए। म अब त सोल्टी होटलमा जागिर पक्काको कल्पना गर्दै पहिलो पटक काठमाडौंको आकासमुनि ढुक्कले निदाएँ त्यो रात। 

भोलिपल्ट वहाँलाई सोल्टी दोबाटोमा भेटेर बाफलतिर जाने सडक हुँदै अलि अगाडि दायाँबाट सोल्टी होटलको प्राइभेट रोडबाट पहिलो पटक हिँडेको थिएँ म। वहाँले बाटाभरि ठूलाबडाकहाँ जाँदा कसरी अभिवादन, नमस्कार गर्नेदेखि कसरी दरबारिया भाषामा कुरा गर्ने भनेर बताउनुभयो।

कलेजमा ‘अनेरास्ववियुको झण्डा हो यो रगतले रङ्गिएको रातो’ भन्ने गीत गाउने जोस र रोग लागिसकेको थियो मलाई। मनमनै हाँस्दै हुन्छ भनेँ। 

होटलको मूलगेटमा टलक्क टल्किएको सिसाको ढोका बेल ब्वाइले खोलिदिएपछि हामी भित्र छिर्‍यौँ। टलक्क टल्किएको सँगमरमरको फ्लोर, ऐनै ऐना टाँसिएका कलात्मक पिलर, लबीका आलिसान सोफा र टेबुल, बत्तीका झुमर विशेष किसिमको मिठो खुस्बु, चिसो वातावरण, फरकफरक पोसाक लगाएका कर्मचारीको जोसिलो चहलपहल। मलाई त्यहाँ पुग्दा त म आफैँ पो मैलो छु कि जस्तो लाग्यो। आहा, यस्तो ठाउँमा काम गर्न पाए त!

रिसेप्सनिस्टले ‘ए प्रभाकर राजाको अफिस यता’ भनेर बताएपछि मुख्य लबीबाट बायाँ हुँदै अलिपर कुनाबाट कलात्मक काठको बार समाएर सेतो सँगमर्मरको सिँढी हुँदै भूमिगत तलामा और्लियौं। 

फेरि अर्कै मिठो सुगन्ध, टेक्दा लचिलो मखमखी फूलको जस्तै बुट्टा भएको कार्पेट, दायाँबायाँ सजिसजाउ क्युरियो सपहरु, होटलका विभिन्न डिपार्टमेन्ट हेडका अफिसहरुको बोर्ड टाँसेको, हेल्थ क्लब, ब्युटीपार्लर पार गर्दै अन्तिममा प्रभाकर राणाको अफिस पुगियो। 

बाहिर एकजना इदिया राणा नाम भएका उनका निजी सचिव रहेछन्। ‘के कामले होला?’ उनले प्रश्न गरे। 

वहाँले भन्नुभयो, ‘म जीवनकुञ्जबाट होमप्रसाद आचार्य, प्रभाकर राजाले समय बक्सेको थियो आज दिउँसोको लागि।’

‘ए बस्नुस्, म बिन्ती चढाउँछु’ भन्दै चोरी औँलाले क्यार्रक्यार्र गर्दै फोन घुमाए। सानो स्वरमा कुरा सकेपछि हामीलाई भित्र जान इसारा गरे। एकैपटक एउटा खोल्ने र अर्को घचेट्ने कलात्मक काठका ढोका खोलेर भित्र छिरियो। 

वहाँले राजा दर्शन भन्दै झुकेर नमस्कार गर्नुभयो। मैले पनि ओठ चलाएजस्तो गरेर त्यसै गरेँ। सुट टाइमा घुम्ने मेचमा बसेका प्रभाकर शमशेर, दुईवटा फोनसहितको ठूलो रोजउडको टेबुल र अगाडि पनि बस्ने कुर्सीहरु, पछाडिको दराजभरि टन्नै मोटामोटा किताब, दुवै साइडमा भरिभराउ सजाइएका सिसा र रोजउडका कलात्मक सोकेश, उतिबेलाको हिन्दी सिनेमामा देखाइने प्रेम चोपडा वा डेनीको अफिस जस्तो पो लाग्यो मलाई त मनमनै। नाकको डाँडीमा चस्मा राखेर प्रभाकरले भने, ‘ए होमप्रसाद तिमी!’

‘हजुर राजा, ऊ केटा यिनै हुन्,’ वहाँले भन्नुभयो, ‘फस्ट डिभिजनमा एसएसलसी पास गरेका, मैले हजुरलाई बिन्ती बिसाको। बिहान क्याम्पस पढछन्, दिउँसो, बेलुकी जे काम भए पनि...’

वाक्य पुरा नहुँदै उनले भने, ‘ओहो! विद्यार्थी पो! ल बा यहाँ त बिहानबेलुकी, राति कुनै पनि समय ड्युटी हुनसक्छ। पढाइ बिगार्न हुँदैन। बरु हाम्रो सिप्रदीको अफिस खुल्दै छ। त्यहाँ जानू। म दिवाकरलाई भनिदिन्छु।’ उनले सेक्रेटरीलाई बोलाएर ठेगाना र फोन नम्बर दिन भने। त्यति भनेपछि हुन्छ हवस् राजा दर्शन भन्दै बाहिरबाट सिप्रदीको नाम ठेगाना र फोन नम्बरको सानो चिट लिएर बाटा लाग्यौं। 

आशा निराशा बराबर। ‘ल त ठिकै छ कमल। होटलभन्दा अफिस राम्रो। ल भोलि नै गएर त्यहाँ भनेको मान्छेलाई भेट न। प्रभाकर राणाले भनेपछि कसो नगर्लान् भन्दै वहाँ मिनीबस चढेर जीवनकुञ्जतिर काममा लाग्नुभो। म डेरातिर लागेँ। 

बेलुकी साथीहरूले सोधे– के भो आज?

‘के हुनु, विद्यार्थी र फस्ट डिभिजन नभनेको भए राम्रो हुन्थ्यो कि? प्रभाकर बुढाले त सिप्रदी भन्ने अफिसमा पो जान भने। आफूलाई त त्यो भव्य होटल झलझली आँखामा आइरहेछ। तलबै नआए पनि काम गरौँगरौँ लाग्ने।’

‘ए सिप्रदी, त्यो त भारतीय टाटाको नेपालमा आधिकारिक डिलर। नामै सिद्धार्थ, प्रभाकर र दिवाकरको नामको पहिलो अक्षर जोडेर। त्यहाँ पाए त अफिसको काम झन् गज्जब कमल,’ श्रीकृष्णले भने। 

अझ उनले थपे, ‘प्रभाकर त जुद्ध शमशेरको नाति, नर शमशेरका जेठा छोरा हुन नि।’

ए त्यस्तो पो हो। जो भएनि आफूलाई त ५/७ सयको जागिर चाहिएको छ काठमाडौंमा, बस भन्दै सिरक तानेँ मैले त्यो रात। 

भोलिपल्ट १० बजे नै त्यो भनिएको अफिस धरहरानजिकै पुरानो भन्सार वा बागदरबार वरिपरि कहाँ थियोे यकिन भएन अहिले, जे होस् पुगेँ। त्यो दिवाकर विक्रम राणाको निवास पनि रहेछ। 

एउटा खुला कोठाबाहिर किरण थापा चिफ एकाउन्टेन्ट लेखिएको देखेपछि नमस्कार गर्दै भनेँ, ‘मे आइ कम इन सर?’ एस, कम भन्दै हातले भित्र आउने इसारा गरे उनले। मैले आउनुको कारण बताएपछि एकछिन है भन्दै उठेर अर्को कोठामा गए। अनि निक्लिएर भित्र जाने इसारा गरे फेरि। ढोकाबाहिर काठको प्लेटमा दिवाकर विक्रम राणा, भित्र लेखेको देखेपछि सही ठाउँमा त पुगियो, अब होला वा नहोला भन्ने दोधारमा भित्र पसेँ। दौरासुरुवाल, कोट, टोपी लगाएका रातापिरो खाइलाग्दो व्यक्तित्व, दर्शन हजुर भन्दै भनेँ, ‘मलाई प्रभाकर राजाले जागिरको लागि हजुरलाई भेट्नु मर्जी भाको भएर।’ मैले पनि दुई दिनमै यसरी दरबारिया भाषा सिकिसकेको थिएँ। मलाई तलदेखि माथिसम्म हेरेर एकछिन माथ्लो दाँतले तल्लो ओठ टोक्दै भने, ‘ए, अँ इदियाको फोन आएको थियो। एकछिन बाहिर बस है।’

उनले फेरि किरण थापालाई बोलाएर केही कुरा भने। किरण थापाले बाहिर निक्लिएर मेरो एसएलसीको प्रमाणपत्र ओल्टाइपल्टाइ हेरे। अनि भने, ‘यो अफिस अहिले अस्थायी हो। हामी नयाँ अफिसमा सर्छौँ, चाडैँ नै। ल मेरो कार्ड राख। फोन गर्दै गर्नु। भएपछि हामी भनिहाल्छौं है त।’ यति भनेपछि हुन्छ भनेर नमस्कार गर्दै फर्किनुको विकल्प थिएन मसँग। 

त्यसपछि फोन गरेर सोध्न अप्ठ्यारो, फेरि पैसा पनि लाग्ने म लगभग हप्ताको एकचोटि धाएर तिनै एकाउन्टेन्टलाई नमस्कार गरेर सोध्थेँ, उनी निर्णय भएको छैन भन्थे। अनि म फर्किन्थेँ। करिब ५/७ चोटि धाएपछि फेरि उनै एकाउन्टेन्ट किरण थापाले भित्र राजासाहेबले भेट्न खोजिबक्सेको छ भित्र जानू भने। अब जागिर हुने भो त? मनमा आश पलायो। 

अगाडिको मेचमा बस भन्ने इसारा गरे अनि नम्र भाषामा प्रभाकरले भने, ‘बाबुको त पढाइ पनि राम्रो रहेछ, यो प्राइभेट अफिस हो। काम गाह्रो हुन्छ। तिमीजस्तो विद्यार्थीले त हाजिर गरेर भाग्न मिल्ने सरकारी जागिर पो खोज्नुपर्छ। बरु लोकसेवा जाँच देऊ।’ 

हवस् हुन्छ भन्दै त्यहाँबाट पनि बाहिरिएँ त्यो दिन। 

यसरी मेरो जीवनमा पहिलो जागिर खाने प्रयासमा पूर्णविराम लागे पनि हरेस खाएको थिइनँ। 

जैसीदेवलको सामूहिक बासस्थानबाट रविभवन पारि एकल बासस्थान पत्ता लगाएर सरेँ। हरेक दिन रविभवनको उचाइ हुँदै आवतजावत गर्दा देखिने सोल्टी होटलको धुरीले झन् लोभ्याइरह्यो मलाई। 

यो सन् १९८३ अगस्ट महिनाको पहिलो साताको कुरा हो। क्याम्पसमा ३ जना जति सोल्टीमै काम गर्ने सहपाठीरु भेटिए। जसमध्ये एकजना दहचोक घर भएका मित्रले भने, ‘ए कमल भ्याकेन्सी आएको छ है सोल्टीमा। फेरि दर्खास्त दिनु नि।’

मैले भनेँ, ‘प्रभाकर शमशेरको अफिसले नपत्याएको, खै फेरि भन्ने कुरा आएन।’ 

उनले भने, ‘सोर्सफोर्स त चाहिन्छ तर यसपालि नयाँ अस्ट्रियन जनरल म्यानेजर आफैँ अन्तर्वार्तामा बस्ने भन्ने सुनिएको छ।’

हुन पनि सक्छ। पैसा लाग्ने हैन क्यारे। 

यी मित्र उतिबेला त्यहीँ सेफ थिए। अहिले एउटा पाँचतारे होटलमा एक्जुकेटिभ सेफ छन्। फोन सम्पर्क हुन नसकेकोले नाम चाहिँ राखिनँ मैले। 

हो र भन्दै म त्यसैदिन बिहानको पढाइपछि सिधै सोल्टीतिरै लम्किएँ। फेरि उही मूलगेटमा गएर बुझ्दा पछाडिपट्टिको कर्मचारी प्रवेशद्वारबाट पर्सनल अफिसमा जान बेलब्वाइले सम्झाएपछि त्यतै लागेँ। 

एउटा फारम मागेर भरेर बमजन थरका असिस्टेन्ट पर्सनल म्यानेजरलाई बुझाएँ तुरुन्तै। उनले अन्तर्वार्ताको मिति बताउँदै २ वटा फोटो अनि शैक्षिक प्रमाणपत्रको ओरिजनल कपी लिएर आउन भने। केही आश पलायो फेरि। 

भनिएकै दिन र समयमा अफिसमा पुगेँ र बमजन सरलाई दुई वटा फोटो र प्रमाणपत्र बुझाएँ। अनि फोटो टाँसिएको मेरो फाइलसहित एकजना होटलका सुरक्षाकर्मीसँगै जान भने। होटलको बेसमेन्टको हाउसकिपिङ लन्ड्री, इन्जिनियरिङ, एकाउन्ट डिपार्टमेन्ट हुँदै जाँदा मैले भ्याएजति प्रश्न सोधेँ यी पथप्रदर्शकलाई। ललितपुर लुभु घर भएका खड्का थरका यिनी फरासिला रहेछन्। उनले भने, ‘सोर्सफोर्स त चाहिन्छ भाइ। तर पहिलापहिला सोर्सफोर्सले राम्रो क्यान्डिडेट परेनन् भनेर यसपालि जीएम साहब आफैँ बसेकाले सोर्सफोर्स नभएनि भन्न सकिन्न। नडराइ बोल्नु भन्दै उनै प्रभाकर शमशेरको अफिस जाने छेउमा रहेको सुनौला रुम भन्ने हलमा बस्न लगाए र मेरो फाइल भित्र दिएर आए। 

हलभरि अरु प्रतिस्पर्धीहरु पनि थिए। 

किन हो मलाई त्यो दिन भित्रदेखि नै बढी आत्मविश्वास आएको थियोे। चौथो नम्बरमा मेरो पालो आयो। मे आइ कम इन सर? गुड मर्निङ भन्दै भित्र छिरेँ। एक जना विदेशी र दुई जना नेपालीले अगाडि बस्न इसारा गरे। 

पछि थाहा भो, विदेशी जनरल म्यानेजर हबर्ड जी सोसना र नेपालीमा प्रेम शमशेर राणा फुड एन्ड बेभरेज म्यानेजर र अर्का टीआर भट्ट पर्सनल म्यानेजर रहेछन्। 

बस्नासाथै अमिताभ बच्चनजस्तै देखिने टीआर भट्टले भने– ‘कमल इन्टरड्युस योरसेल्फ।’

मैले अंग्रेजीमै नाम, जन्मस्थान र शैक्षिक योग्यताबारे भनेँ। 

अनि प्रेम शमशेर राणाले सोधे, ‘कमल एज यु सेड यु पास्ड द एसएलसी इन फस्ट डिभिजन। यु सुड स्टडी लाइक डक्टर अर इन्जिनियरिङ बट ह्वाइ यु वान्ट ज्वाइन टु वर्क इन दिस होटल?’

मैले त्यो बेला जानेको साधारण अंग्रेजीमा भनेँ, ‘सर आइ एम फस्ट सन् इन आवर फेमेली, इकोनमिक कन्डिसन अल्सो नट भेरी गुड, निड टु लुक आफ्टर माइ ब्रदर एन्ड सिस्टर्स स्टडी, एन्ड हाउस एक्सपेन्सेस अल्सो। इफ यु गिभ मी चान्स आइ विल स्टडी हार्ड एन्ड वर्क हार्ड। अल्सो आइ एम भेरी मच इन्ट्रेस्टेड टु वर्क इन होटल एज वेल।’ 

मैले आँखामा आँखा मिलाएर जवाफ दिइरहँदा जीएम सोसनाले मलाई निकै गहिरिएर हेरेर तुरुन्तै सोधे, ‘इफ यु डन्ट गेट दिस जब द्यान ह्वाट विल यु डु?

‘सर आइ विल स्टिल सर्च एन्ड ट्राइ अन्टिल आइ गेट।’

केहीबेर मौनता छायो। अनि सोसनाले आफ्नो पेपरमा सिसाकलमले केहीबेर लेखेपछि उज्यालो मुख लगाएर भने, ‘यु मे गो नाउ।’

म बाहिर निस्किएँ। ढोकामा बसेका उनै सुरक्षाकर्मीले ‘ल भाइ हाम्रो जीएम साहबले तपाईंलाई मन पराएजस्तो लाग्यो है। भोलि १२ बजेपछि रिजल्ट आउँछ’ भने।

भोलिपल्ट साढे ११ बजे नै पछाडिको गेटबाहिर सूचना पाटीमा हेर्दै कुरेँ। ठिक १२ बजे एकजना कर्मचारी आएर नाम टाँसे।

सबैभन्दा माथि नै कमलप्रसाद पौड्याल अनि क्रमशः प्रकाश चापागाईं, बीआर मानन्धर, सुरेन्द्र बस्नेत, देव शाह गरी जम्मा १२ जना उत्तीर्ण भएका नाम देख्दा खुसीको सीमा रहेन ममा। 

यसरी सोर्सफोर्स सहित आउँदा अगाडिको ढोकाबाट फर्काइएको म पछाडिको ढोकाबाट पसेर पहिलो स्थान सुरक्षित गर्न सफल भएँ। त्यो पनि आफ्नै बलबुतामा। तर ६ महिना अस्थायी र पुनः परीक्षापछि मात्र स्थायी हुने सर्त थियो। यसरी १५ अगस्ट १९८३ को दिन सबै मिलाएर नेरु ६६० को जागिरे नियुक्तिपत्र पाएँ।

होटल सोल्टीमा कमल पौड्याल

त्यतिबेला ७०० कर्मचारी भएको भारतको चर्चित ओबराय ग्रुपले यो होटलको व्यवस्थापन सम्हालेको भएर सोल्टी ओबराय भनिन्थ्यो। अर्का साझेदार ज्ञानेन्द्र शाहको तर्फबाट सोल्टी होटल लिमिटेडको प्रतिनिधित्व प्रभाकर शमशेरले गर्दा रहेछन्। उनको पनि सेयर छ भनिन्थ्यो।

जे होस् तुरुन्तै हाम्रो ट्रेनिङ सुरु भयो। ओबराय होटल अफ स्कुल मेनेजमेन्टको प्रोफेसर मितुल बेनर्जी र अहिले रिम्पोछे बनेका श्रीधर शमशेर राणाले हामीलाई सैद्धान्तिक र व्यावहारिक अध्यापन गराउँथे। राणा स्विट्जरल्यान्डबाट होटल म्यानेजमेन्टमा डिग्री गर्ने पहिलो नेपाली थिए। ६ महिनाको काम र ट्रेनिङ पास गरेर स्थायी भइयो। जसको सात वर्ष पछि १९ फेब्रुअरी १९९० मा अन्तत्वगत्वा मेरो हङकङसम्मको जीवन यात्राको अर्को ढोका खुल्यो यही होटलको कारणले। सायद म रेस्टुरेन्ट म्यानेजरको रोजगार भिसामा हङकङ आउने पहिलो नेपाली थिएँ। 

यी माथि उल्लेख्य मेरो जागिरको खोजीका ठोक्किएका पात्रहरूसँग जीवनका फरकफरक मोडमा मेरो जम्काभेट भयो फेरि। 

हरेक दिन सोल्टीको अफिस आउने प्रभाकर शमशेर र उनको अफिसमा अक्सर आइरहने दिवाकर राणाले मलाई त्यही सेरोफेरोमा देख्दा कहिल्यै चिनेनन्।  

दिवाकर राणा कहाँ छन्, छैनन् थाहा छैन मलाई। 

आकर्षक पहिरन, मिठो बोली र गम्भीर स्वभावका प्रभाकर राणा व्यापारी कम कूटनीतिज्ञ बढी लाग्थ्यो मलाई। उनले लामै समय नेतृत्व गरेको पाटा अर्थात प्यासिफिक एसियन ट्राभल एसोसिएसनको सोल्टीमै सम्मेलन हुँदा उनले गरेको अंग्रेजी भाषण विदेशीहरुले समेत आँखा नझिम्काई सुनेको साक्षी थिएँ म। उनी हावर्ड युनिभर्सिटी ग्र्याजुएट भन्ने सुनेको थिएँ। 

सन् २००१ को कुनै दिन काउलुन हङकङको स्टार हाउसमुनि आकस्मिक जम्काभेट भयो उनीसँग। मैले नमस्कार हजुर भनेँ। 

‘नमस्कार बाबु, मैले त चिनिनँ नि!’

म हजुरको पूर्वकर्मचारी सोल्टीको।’

‘ए अनि यहाँ के कसरी?’

‘म सोल्टीबाटै यहाँ आएको वर्क परमिटमा। अहिले १० वर्ष जति भयो। एउटा आफ्नै रेस्टुरेन्ट व्यवसाय सुरु गरेको छु। भर्खरै फुर्सद भए सवारी होस् न’ भन्दै कार्ड तेस्र्याएँ मैले। 

अनि कार्डलाई वल्टापल्टाइ हेरेर खुसी हुँदै भने, ‘बाबु आइ एम भेरी ग्ल्याड टु हिअर दिस, आइ एम स्टेइङ एट मार्कोपोलो होटल नियरबाइ, आइ ह्याभ फ्यु एप्वाइनमेन्ट टुडे, टुमारो मर्निङ आइ एम फ्लाइङ टु लन्डन। आइ विल डेफिनेट्ली भिजिट योर प्लेस नेक्स्ट टाइम ह्वेन आइ कम टु हङकङ।’ अनि मेरो कुम थप्थपाए।

त्यसपछि उनका विभिन्न व्यापारिक साम्राज्य र प्रगतिबारे पत्रपत्रिकामा पढिन्थ्यो। सायद चार सालअगाडि ८२ वर्षको उमेरमा उनको अमेरिकामा निधन भयो। 

अहिले उनको व्यापारिक साम्राज्यको बागडोर सम्हालेका सिद्धार्थ मैले काम गर्दा सायद विदेश पढ्ने भएर होटलमा कम आउँथे। सानाठूला सबैलाई हेलो दाइ भन्दै अक्सर ब्युटी पार्लर र रेस्टुरेन्टहरुमा खान खान आइरहने उनकी दिदी माया राणाबारे खासै सुनिन्न आजकल। 

मेरो जागिरको चासो राखेर मलाई धेरै माया गर्ने होमप्रसाद आचार्यको दरबार हत्याकाण्डअगाडि नै निधन भयो। 

मैले पटकपटक जीवनकुञ्जको ढोकामा देखेका दरबार हत्याकाण्डमा मारिएका धीरेन्द्र शाह राजपरिवारको पारिवारिक जमघट, समारोह र अन्य समयमा पनि होटलमा आइरहन्थे। 

सोल्टीमै काम गर्दाको कुनै दिनमा मेरो नाइट ड्युटी थियो। राति करिब ४ बजेतिर बेल ब्वाइले हतारिँदै आएर ल सरकार सवारी भाको छ लबीमा भने।

म गएर दरबारिया शैलीमै अभिवादन गरेँ। 

एकजना गोरी केटी र अर्का दुईजना युवक थिए उनीसँग। 

‘ब्रेकफास्ट खान मिल्छ नि?’

‘मिल्छ सरकार, किचन खुलै छ। तर सबै रेस्टुरेन्ट चाहिँ बन्द छन्। बरु स्वीट रुम खाली छ त्यहीँ गरौँ कि?’ भनेर सोध्दा ओ गुड गुड भने। 

‘ल हामी चार जनालाई अमेरिकन ब्रेकफास्ट सेट मिलाएर गर्दिनु है। अनि बिल चाहिँ प्रभाकरको अफिसमा पठाइदिनु है’ भन्दै बेलब्वायको पछिपछि हिमालयन विङ्सको ५१६/१८ स्वीट रुमतिर लागे। 

त्यसपछि उनले सायद तेस्रो विवाह गरेका पश्चिमी मूलकी एक महिलासँग झन्डै २ महिना सोल्टी होटलकै स्वीट रुममा बसेका थिए उनी। व्यक्तिगत नैतिक आचरण, राजनीति, विभिन्न खाले विवादास्पद छवि र व्यवसायबारे पञ्चायतकालमै पत्रपत्रिकामा पढिन्थ्यो यिनको बारेमा। 

तर होटलका कर्मचारीहरुसँग काम विशेषले बोल्दा राजसी घमण्ड र दम्भ चाहिँ थिएन उनीमा। 

मलाई त्यो दिनको अन्तर्वार्तामा उच्च अंक सहित पास गराएर रोजगारी दिने हवर्ड जी सोसना हलिउड अभिनेताहरुजस्तै उचाइ भएका थिए। सोसनाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई हाइ प्रिन्स भनेर हात मिलाएको देख्दा हामी अचम्मित हुन्थ्यौँ। 

फिलिपिना मूलकी श्रीमती सुसना र छोरी जेनिफर सहित होटलको स्वीट रुममा बस्थे। 

कालो मर्सिडिज बेन्ज सहित ड्राइभरको व्यवस्था थियो उनको लागि। मैले नेरु ३५०० तलब खाँदा उनको मासिक तलब १ लाख नेपाली अरे भन्ने सुन्दा अचम्म लाग्थ्यो। 

यिनी सन् १९८५ ताका सोल्टी छोडेर हङकङको फुरामा होटलमा जनरल म्यानेजर भएर आएका थिए। 

म हङकङ आएपछि यिनी फुरामा छाडेर मकाउको सान् डियागो होटलमा छन् भन्ने सुनियो। 

एक जना पोर्चुगिज मूलकि मार्गो कर्क भन्ने महिला हङकङमा रेस्टुरेन्टको नियमित ग्राहक सोसनाको पनि साथी रहिछन्। एकदिन उनले बेन्जु र मलाई मकाउ घुमाएर सोसनासँग भेट गराउने भन्दै मकाउ लगिन्। तर संयोगले उनी हङकङ आएकाले हाम्रो भेट हुन पाएन त्यो दिन।

हङकङको सोहोमा सन् २००० ताक शिव केसीले खोलेको एम्पायर बारको वार्षिकोत्सवमा भेट भयो सोसनासँग। 

मैले आफ्नो कार्ड दिँदै परिवार सहित रेस्टुरेन्टमा खान आउन अनुरोध गरेँ। पुराना लामो गफ गरियो राति अबेरसम्म। 

त्यही सालकै क्रिसमसमा उनले मलाई रेस्टुरेन्टको ठेगानामा एउटा पत्रात्मक क्रिसमस शुभकामना कार्ड पठाए। 

जसमा लेखिएको थियोः

कमल तिमी र तिम्रो परिवारलाई क्रिसमसको शुभकामना। तिमीलाई पछिल्लो पटक शिवको बारमा भेटेर गफ गर्न पाउँदा निकै खुसी लाग्यो। मैले बिर्सेका धेरै पुराना कुराहरु तिमीले सम्झायौ। 

मैले मकाउको सान डियागो होटलको काम पनि छाडेँ। उनीहरु आफैँ चलाएर खर्च कम गर्न चाहन्छन्। प्रायः होटलहरुमा आजकल नयाँ पुस्तालाई मात्र चान्स दिइन्छ। मेरो करिअरको कठिन काम चाहिँ काठमाडौंमा थियो। बिकी ओबराय, प्रिन्स ज्ञानेन्द्र र प्रभाकर शमशेरसँग तारतम्य मिलाएर व्यवस्थापन गर्नु सजिलो थिएन। सोर्सफोर्सबाट आउने कर्मचारीहरुबाट राम्रो कामको आश गर्न पनि सकिन्न। सुसना युनाइटेड एअरलाइन्समै काम गर्न थालेकी छिन फेरि। जेनिफर पढाइ सकाएर इन्डोनेसियाको बालिमा एउटा होटलमा काम गर्छिन्। मैले पनि अब सेन्ट्रलतिर एउटा होटल कन्सल्टेन्सी खोल्ने सोचाइ राखेको छु। समय मिलेमा तिम्रो रेस्टुरेन्टमा खाना खान आउनेछु। 
– हबर्ड जी सोसना

उनको नाम सहितको हस्ताक्षरले म अलि भावुक भएँ। पहिलो जागिरको नियुक्ति पत्र, इम्प्लोइ अफ द इअर/मन्थ, पदोन्नति, हरेक वर्ष पर्फमेन्स अनुसार बढ्ने अतिरिक्त तलबदेखि सन् १९९० मा हङकङको अध्यागमन विभागमा बुझाएको मेरा एक्सपेरियन्स लेटरसम्म रहेको उनको हस्ताक्षर बिल्कुलै फरक समय र परिवेशमा क्रिसमस कार्डको रुपमा मेरो हातमा आएको थियो। 

लाग्छ मान्छेको जीवन खोलाजस्तै हो, कहिले साँघुरो ढुंग्यानमा गड्गडाउनु, कहिले शान्त जँघारमा सुस्ताउनु, कहिले रहको भूमरीमा घुम्नु, हराउनु, मौसम अनुसार सुक्नु, फुक्नु, मैलिनु, सङ्लिनु र अविरल बग्दैबग्दै अन्तत्वगत्वा समुद्रमा विलीन भएर आफ्नो अस्तित्व समाप्त गर्नु, बस्। 

जे होस्, जीवनको यो यात्रामा पछिल्लो समय आइपुग्दा म हङकङको आकासमुनि सबैभन्दा स्वर्णिम समयमा हाँसीखुसीसाथ बाँचिरहेको छु भन्ने अनुभूति हुन्छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .