हङकङमा ‘कान्छा’ नेताबाट देशको कुरा सुन्न जब सभाहलमै पुगियो

हङकङमा ‘कान्छा’ नेताबाट देशको कुरा सुन्न जब सभाहलमै पुगियो

ज्ञानेन्द्र शाही भर्खरकै हुँदा हामीले हङकङमा कृष्णप्रसाद भट्टराईलाई स्वागत गरेका थियौँ


कमल पौड्याल
भदौ १४, २०८० बिहिबार ९:१७, हङकङ

अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियस भए पनि लगातारको ११/१२ यूभी इन्डेक्सले हङकङको आकास र समुद्री सिमाना बिल्कुलै मेटाइदिएको छ। बिरलै देखिने सफा मौसमले लान्ताउ पिक, सनसेट पिकदेखि मकाउ सहर पछाडिका पर्वतीय श्रृङ्खलाहरु समेत नजिकै सरेर आएजस्तो भान हुन्छ। 

हङकङ विमानस्थलको निर्माणाधीन तेस्रो धावनमार्गमा अनगिन्ती अजङ्गका उपकरणहरु ठूलो आवाज सहित पृथ्वीको सतह कोपर्दै, भत्काउँदै, खोतल्दै, सम्याउँदै धुलो उडाउँदै छन्। 

दक्षिणी फिलिपिन्सबाट उठेको समुद्री आँधी डक्सुरी हङकङ पनि आउँछ कि भन्ने हल्लाखल्ला थियो। तर करिब ४५० किमि टाढाबाटै बाटो परिवर्तन गरेर ग्वाङदोङ हुँदै फुजियानतर्फ मोडिएपछि यो वर्षको दोस्रो ठूलो ताइफुन आउने सम्भावना टरेको थियोे। यद्यपि यो वर्ष ६/७ वटासम्म समुद्री आँधी आउने हङकङको मौसम विभागले बताएको छ। 

कोभिडको कहरमा पानी मारेको घट्टझैँ भएका सुनसान चेप लाप कोक विमानस्थलका धावनमार्गमा सानाठूला र अजङ्गका गरी आधा दर्जन बढी हवाईजहाजहरु आआफ्नो गन्तव्यमा उड्नको लागि पालो कुर्दैछन्। कोभिड कहाँबाट आयो कहाँ गयो? फेरि त्यस्तै दिन आउला नआउला? पृथ्वी ग्रहका हरेक बासिन्दा घातक कोभिडको सिकार आफैँ भइने हो कि परिवार वा आफन्त पर्ने हुन् कि भन्दै लामो समय भय र त्रासमा बाँचे। कति दुर्भाग्यवश बाँचेनन्। 

यसरी आफ्नै मनको अन्तरङ्गमा गम खाँदै यिनै सेरोफेरोको दृश्यहरु हेर्दैगर्दा एक जना चिरपरिचित मित्र भाइको फोन आयो। 

‘दाइ नमस्कार! सञ्च‌ै हुनुहुन्छ?’

‘नमस्कार भाइ! ठीक छ सबै।’

‘ल है दाइ, ज्ञानेन्द्र शाही हङकङ आउँदै छन्। १३ तारिख बेलुकी जसरी भए पनि फुर्सद राख्नुहोला। हङकङका नेपालीहरुको समस्याबारे अन्तर्क्रिया कार्यक्रम राखेका छौँ। आयोजक पनि ‘हामी नेपाली हाम्रो नेपाल’ हङकङ टिम हो,’ उनले भने। 

मैले भनेँ, ‘ए भाइ ज्ञानेन्द्र शाही भर्खरै तोते बोली बोल्न लाग्दा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हङकङमा फूलको गुच्छाले स्वागत गरेको मान्छे म। जसको तस्बिर सहितको संस्मरण समेत लेखिसकेको छु। 

‘त्यसपछि नेपालका दर्जनौं राजनेताहरु हङकङ आउँदाको भोजभतेर, भाषण, अन्तर्क्रिया र उजुरीमा प्रत्यक्ष आयोजक, सहभागीदेखि पर्यवेक्षक र पछिल्लो समय भने मौन रमिते मात्र भएको छु। 

‘७ जना प्रधानमन्त्रीहरुसँगकै साक्षात्कारबारे नेपालखबरमै आलोचनात्मक संस्मरण लेखेको छु। हङकङका नेपालीहरुले दिएका भनेका सुझाव र समस्या कुन कुन नेताले समाधान गरे मलाई भन्नुस्?’

‘हङकङमा विद्या भण्डारीसँगको त्यो भेट’ भन्ने लेखमा प्रष्ट भनिसकेको छु, ‘हङकङ आउने कुनै पनि राजनेताहरुलाई स्वदेश वा विदेशमा बस्ने नेपालीहरुको समस्या भन्नु, सुझाव दिनु भनेको जरामा रोग लागेको रुखलाई टुप्पोमा औषधि छर्किनुजस्तै हो। सहभागी हुनु भनेको आफ्नै समय बर्बाद गर्नु हो।’ 

हङकङमै भाषण सुनिएका नेताहरुमा कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, सुशील कोइराला, केपी ओली, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई रामचन्द्र पौडेल त भैहाले। गगन थापा, चक्र बास्तोला, महेश आचार्य, विश्वप्रकाश शर्मा, मीनबहादुर विश्वकर्मा, भीम रावल, पृथ्वीसुब्बा गुरुङ, शेरधन राई, सुजाता क‍ोइराला, धनराज गुरुङ, डा. रामशरण महत र देव गुरुङसम्मका भाषण सुनियो। अरु मझौला र कान्छा नेताहरू त कति देखियो, भेटियो गणना गरिसाध्यै छैन।

मेरो बुझाइमा ज्ञानेन्द्र शाही त्यहीमध्येका भाषण गर्न जान्ने, छोटो समयमा बढी चर्चा पाएका सबैभन्दा कान्छा पुस्ताका एकजना प्रतिनिधि पात्र वा नेता हुन्। 

मैले अझ थपेँ, ‘भाइ, तपाईं परिवर्तनकारी अग्रगामी प्रगतिशील अनि ज्ञानेन्द्र शाही त फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता, थाहा छ होला नि?’

उनले भने, ‘जुनसुकै पार्टीको भए पनि अहिलेको परिवेशमा सडकदेखि सदनसम्म जनताका आवाज हुन् ज्ञानेन्द्र शाही। अब अरुहरुबाट आश मर्यो दाइ, पार्टी ह‌ैन व्यक्ति हेर्नुपर्ने समय आएको छ अब। भाषण सुन्न भए पनि आउनुस् के। अझ तपाईंको त लेख नै आउनुपर्छ। तपाईंलाई चिठी पनि काटेका छौँ।’ 

‘भाइ, मलाई त्यस्तो औपचारिक निम्तोपत्र पर्दैन। दिउँसो जोर्डनकै बीपी इन्टरनेसनल होटलमा हङकङ स्काउटको एउटा कार्यक्रममा सहभागी हुनुछ। ल बेलुकी कम्युनिटी हलमा भाषण सुन्न आउने भएँ’ भन्दै कुराको बिट मारेँ मैले। 

राजनीतिमा यो भाषण भन्ने चिज पनि सारै अचम्म छ। हाम्रा दक्षिणी छिमेकका प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको सुन्दा भाषणमै विद्यावारिधि गरेझैँ लाग्छ। उत्तर चीनका नेता सी चिनफिङ निकै गम्भीर स्वभावका र ठिक्क आवश्यक मात्र बोल्ने लाग्छन् भाषा नबुझिए पनि। हाम्रै देशका शेरबहादुर देउवाको भाषण र बोलीबारे आलोचना खिसीटिउरी र क्यारिकेचर समेत गरिन्छ। तर पनि लामै समय र अहिलेसम्म पनि पार्टी र सत्ताको केन्द्रविन्दुमै सदाबाहर जमेका छन्। 

मैले बा केवलपुरे किसानको कविताको टुक्रा सम्झेँ।

सुन्दा भाषण भैरहेछ सबथोक, हेर्दा सबै निस्फल
गाउँ चाहिँ त झन् अघोर चुसियो, के को हुनु झल्मल
घुसैघुस बढेर भित्री तहमा हिउँको चुली भैसक्यो
ज्युँदो को छ यहाँ ल उठ्न परिगो रात्री निकै गैसक्यो!

चार दशकअगाडि पञ्चायतकालमा बाले लेख्नुभएको कविता प्रजातन्त्रदेखि गणतन्त्रमा त झन् अझै सान्दर्भिक लाग्नु ज्यादै दुःखको कुरा हो। 

उल्ले उल्लाई उडायो उल्ले उल्लाई उडायो
कार्यकर्ता भोकै छन् नेताले मोटर गुडायो!

प्रजातन्त्र र गणतन्त्रपछि पनि बाका यस्ता कवितांश जनजिब्रोमा निकै चर्चित रहे। सांसद ज्ञानेन्द्र शाहीको प्रसंगमा यस्ता कवितांश उल्लेख गरेर प्रतिगमनको मलजल गर्न खोजिएको भन्लान् पाठकहरुले तर यो देशको एउटा यथार्थ भने पक्कै हो। 

अझ पछिल्ला भुटानी शरणार्थी प्रकरण, सुन काण्ड र ललिता निवास प्रकरणजस्ता भ्रष्टाचारका महाकाण्डसम्म बाले देख्न सुन्न पाउनु भएको भए
कति कविता फुथ्र्य‍ो होला वहाँलाई!

बनारसमा पुष्पलालको भाषण र महाकवि देवकोटाको सामीप्यले बा मात्रै नभएर गोकुल जोशी र श्यामप्रसाद शर्मा समेत प्रगतिशील साहित्यतर्फ आकर्षित भएको सुनाउनु हुन्थ्यो। भाषण र व्यक्तित्वको कुरामा डा. केआई सिंह उहाँले बारम्बार चर्चा गर्ने नाम थियो। 

मैले अलिअलि राजनीति बुझ्ने भएपछि पञ्चायत कालमा हिरालाल विश्वकर्मालाई भाषण मन्त्री भनिन्थ्यो। राजाका जन्मदिवस, संविधान दिवस वा प्रजातन्त्र दिवसमा हरेक विकास क्षेत्र, अञ्चल र जिल्लाहरुमा मन्त्री र पञ्च नेताहरुलाई भाषण गर्न पठाइन्थ्य‍ो। जुन भाषणका अंश रेडियो नेपालमा सुनिन्थ्यो, गोरखापत्रमा छापिन्थ्यो। 

राजा वीरेन्द्रको देश भ्रमणमा सवारी मन्त्रीको रुपमा नवराज सुवेदीको भाषण पनि निकै चड्के हुन्थ्यो त्यो समय। ‘इतिहासको त्यो कालखण्ड’ भन्ने सुवेदीको किताब इतिहासमा रुचि राख्नेहरुको लागि चाखलाग्दो छ। राजाले भने विशेष समारोहहरुमा मात्र लिखित भाषण पढ्थे, जसलाई रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने गथ्र्यो। 

राजपरिवारका अन्य सदस्यहरुले पनि अक्सर भाषण गर्दैनथे। सरकारहरुको तर्फबाट उनै मन्त्री वा नेताहरुले ‘सरकारहरुबाट हुकुम बक्से बमोजिम’ भनेर प्रजाहरुलाई धन्यवाद दिन्थे।

अर्को मिठो भाषण गर्नेमा तत्कालीन खेलकुद परिषदका सदस्य सचिव शरदचन्द्र शाह थिए। 

घुँडा टेकेरै शाही परिवारका सदस्यलाई अभिवादन गर्ने सायद उनी एक जना मात्र थिए त्यो समयमा। अझ उनको भाषणको अन्त्यमा ‘सरकारको अनन्य भक्त, सेवक, सरकारको पाउको धुलो शरदचन्द्र शाह, सरकार जो हुकुम, जो निगाहा जो आदेश’ भनेको अक्सर दशरथ रंगशालामा खेलकुदका समारोहहरुमा सुनिन्थ्यो।

०३६ सालको जनमतसंग्रहपछि पञ्चायती चुनावलाई सदुपयोग गर्ने भनेर वामपन्थी नामधारीहरुले पनि पञ्चायती चुनावमा भाग लिने नीति लिएका थिए। अक्सर सबै जनपक्षीय उम्मेदवार भनिनेहरु भाषणमा चाहिँ पोख्त थिए। त्यसमध्येका काठमाडौंका उम्मेदवार पद्मरत्न तुलाधरको धाराप्रवाह भाषणको क्यासेट नै बिक्थ्यो। 

त्यसपछि सुनिएका देखिएक‍ा जननेता मदन भण्डारी सायद सबैभन्दा चाखलाग्दा, स्पष्टवक्ता, धाराप्रवाह र तार्किक भाषणका खानी नै थिए।

ज्ञानेन्द्र शाहीको भाषण सुन्ने निम्तोबाट सुरु भएको यो प्रसंगमा म विषयवस्तुभन्दा बाहिर धेरै बहकिएछु। 

जे होस् १३ तारिख बेलुकी हङकङको याउ मा तेइ सभाहलमा पुगियो। 

दुवैतिर नेपाली झण्डाको बीचमा ‘हामी नेपाली, हाम्रो आवाज, हाम्रो एकता’ लेखिएको ठूलो विद्युतीय ब्यानर तल ‘समृद्ध नेपाल निर्माणमा युवा राजनीतिज्ञ र प्रवासी नेपालीको भूमिका’ भन्ने विषय, एकापट्टि ज्ञानेन्द्र शाहीको ठूलो तस्बिर र पुछारमा आयोजक हामी नेपाली हाम्रो नेपाल (हङकङ टिम) र प्रवासी नेपाली एकता समाज लेखिएको रहेछ। 

त्यत्तिकैमा मित्र धीरजंग शाही ‘दाइ स्वागत छ’ भन्दै भेटिए। 

मैले भनेँ, ‘ल भाइ बधाई छ, हङकङको एउटा नयाँ र फरक शीर्षकको कार्यक्रम हेरिने, सुनिने भैयो आज।’ 

‘कसरी दाइ?’ उनले प्रश्न गरे।

‘यहाँ त पार्टीको, क्षेत्रको, जातको, जिल्लाको, गाउँको झण्डामुनि मात्र कार्यक्रम हुन्थ्यो। पहिलो पटक देशको झण्डामुनि कार्यक्रम बनेछ बधाई छ। कतै नयाँ बोतलमा पुरानै रक्सी त हैन होला नि?’ मैले हाँस्दै सोधेँ। 

उनले भने, ‘ह‌ैन दाइ, आज पार्टीको हैन, देशको कुरा हुन्छ। हाम्रो यो विशुद्ध गैरराजनीतिक संस्था हो। बरु दाइ सल्लाहकारमा भए पनि बस्नुपर्छ।’ 

मैले भनेँ, ‘भाइ, अब उप्रान्त कहीँकतै सल्लाहकारमा नबस्ने तर मनैले सल्लाह मागेमा भने दिन तयार छु म सधैँ।’

‘कार्यक्रममा स्वतस्फूर्त र स्वैच्छिकबाहेक कसैसँग सुको चन्दा पनि मागेका छैनौँ र माग्ने पनि छ‌ैनौँ। दाइ, हेर्दै जानुस् हामी बिल्कुलै फरक गर्छौँ,’ उनले भने।

उनलाई बधाई र निरन्तरताको शुभकामना भन्दै म अन्य परिचित सहभागीहरुसँग भलाकुसारी गर्न थालेँ। 

कुनै समय नेपालगञ्ज विमानस्थलमा ढिलो पुगेर र जहाज रोकेको कारण तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको झाँको झारेर चर्चा बटुलेका शाहीको कार्यक्रम भनिएकै समय साढे ६ मा पुगिए पनि सुरु हुने सुरसार थिएन। 

उपस्थितहरुमध्ये केही गिनेचुनेकालाई एक जना संयोजक बहिनीले माननीय माथि बाल्कोनीमा हुनुहुन्छ, परिचय गराउँछु भन्दै माथि लगेपछि जे होस् सांसद शाही चाहिँ समयमै आएर बसेका रहेछन् भन्ने लख काटेँ मैले। यस्ता कार्यक्रममा पहिलेपहिले कतिपय नेताहरु बाहिरबाट कति मान्छे आए भनेर फोन गर्दै बुझ्दै हल खचाखच भएपछि दलबल सहित बल्ल कार्यक्रमस्थल आउथेँ। तर उनी समयमै तमतयार रहेछन्। 

प्रमुख अतिथि र आयोजक तयार हुँदा पनि साढे ६ मा भनिएको कार्यक्रममा सहभागी श्रोताहरु ढिलो आएकै कारणले करिब १ घण्टा पछि सुरु भयो। 

मञ्चमा लगेर बिल्ला खादा पहिर्याउनेभन्दा यथास्थानमै सबैलाई आसनग्रहणको अनुरोध गरिए पनि वरिष्ठहरुको नामावली भने लामै थियो। आयोजकलाई पनि निकै गाह्रो छ। हङकङका कतिपय यस्ता कार्यक्रमहरुमा कसको संस्था जेठो, कसको कान्छो, को अन्तरिम को संस्थापकदेखि कसलाई पहिला, कसलाई पछि बोलाउने, को ठूलो, को सानो भन्नेदेखि चित्त नबुझे बीचमै कार्यक्रम छोडेर जाने समेत देखिएकै हो। अझै वक्तव्यबाजीदेखि जुहारीसमेत चल्छ।

स्थानीय कलाकारहरुको केही राष्ट्रिय गीत र नृत्यहरु र कविताको प्रस्तुति अनि केही छोटामिठा र केही पट्यारलाग्दा मन्तव्यपछि मुख्य अतिथि शाही मात्र स्टेजमा रहे। त्यसपछि आआफ्ना गुनासा उजुरी र सुझावको लागि फ्लोर खुला गरियो। सबैको कुरा सुनेपछि शाहीले एकमुष्ठ जवाफ दिने कार्यक्रमको रुपरेखा रहेछ। 

केही अपवाद छाडेर अधिकांश प्रश्नकर्ताहरु कुरोको चुरोभन्दा आफ्नै लामो परिचय र भूमिकामा अलमलिएका देखिन्थे। एउटै विषय धेरै दोहोरिए पनि। 

लगभग सधैँ झैँ नेपाल वायुसेवा निगम, नेपाल विमानस्थलको भन्सार, प्रहरी, प्रशासन र अध्यागमन विभागदेखि दूतावाससम्मका उजुरी आए। मोबाइल फोन, सुन र सुकुटीका गुनासा अलि धेरै नै थिए। ब्यानरमा भनिएको शीर्षकबाहिरै कार्यक्रम बहकियो। बरु सहभागी एक जनाले भने सरकारले निरन्तर देशबाट विदेशमा श्रमिकहरु यसैगरी पठाइ नै रहने नीति हो भने कम्तीमा दक्ष बनाएर पठाऔँ भन्दै प्रशिक्षण केन्द्र खोल्न सुझाए।

अब पालो जवाफको थियो। 

सबैको पालैपालो नाम सहित शाहीले जवाफ दिन थाले। नेपाल वायुसेवाबाट त उनी आफ‌ैँ भुक्तभोगी रहेछन्। हङकङ आउँदा अन्तिम समयमा नेपाल एअरलाइन्सको जहाज क्यान्सिल भएर क्याथेमा आउनुपर्दाको आफ्न‌ै उजुरी पो बताए उनले। अझ समानान्तर समयमा खुलेका थाइ एअरवेज र नेपाल एअरलाइन्सबीच आकास–जमिनको फरकको चर्चा गरे। 

म जस्तै मौन सहभागी हिमालयन ट्राभल्सका रत्न भाइले मलाई कोट्याएर भने, ‘दाइ यो त जोगीको घरमा सन्यासी पाहुना भनेजस्तो भएन र? समस्या सुन्न, समाधान गर्न कि बताउन आएका हुन् यिनी?’

अर्का सहभागीले भने, ‘हैन शाही स्पष्ट पक्ता हुन्। नसक्ने आश्वासन बाँड्दैनन्।’

रत्नले प्रतिवाद गरेनन्। 

खासमा नेपाल एअरलाइन्स, भन्सार, अध्यगमन, प्रहरी प्रशासनका समस्याबारे हङकङका नेपालीहरुले मेरै अनुभवमा पनि करिब ३ दशक अघिदेखि नै र चारपाँच जना त प्रधानमन्त्रीलाई नै गरिएको गुनासो हो। हजुरबुबा पुस्ताबाट नाति पुस्ता आइपुग्दा पनि समस्या ज्युँका त्युँ छ। 

एक सहभागीले हालसालै हङकङ आउँदा घरमा बनाएर ल्याएको सुकुटी, घिउ र अन्य कोसेलीको लागि भन्सारका प्रहरीले हाकाहाकी ७ हजार घुस मागेको सुनाए। यसबारे शाहीले काठमाडौं पुगेपछि विमानस्थल, भन्सार र प्रहरी प्रमुखसँग मिटिङ राख्ने बाचा गरे। उपहारको लागि लगिएको मोबाइल फोन र विवाह वा अन्य उत्सवमा लगाएर गएका सुन पछि लगाएरै हङकङ आउने हो भने त्यसको व्यावहारिक पक्षबारे संसदीय समितिमा आफूले अध्ययन र छलफल गर्ने बताए। दूतावास र नेपाल एअरलाइन्सबारे हङकङमा सम्बन्धित पक्षसँग बुझेर नेपाल पुगेपछि सम्बन्धित मन्त्रालयबाटै पत्राचार गरिने समेत आश्वासन दिए। 

राप्रपाका कुरा बढाइचढाइ वा कसैलाई पार्टीमा आउन शाहीको अनुरोध/आग्रह त थिएन। तर उनले यी सारा समस्याको जड वर्तमान गणतान्त्रिक व्यवस्थातर्फ इसारा मात्रै गरेनन्, राजतन्त्र नै नेपालको अब्बल व्यवस्था र समय थियो भनेर घुमाउरो भाषामा व्याख्या भने गरे।

म सम्झन्छु, ज्ञानेन्द्र शाहीले अन्तक्रिया गरेको सभाहलको एक तलामुनि कुनै समय एमाले नेता भीम रावलले भाषण गर्दैगर्दा झ्याल बाहिरबाट पटकपटक कालो झण्डा प्रदर्शन भएको थियो। अझ सुरक्षाको लागि सादा पोसाकका हङकङे प्रहरी तैनाथ थिए। 

हङकङको बाटो हुँदै नेपाल फर्कन लागेका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई कङ्गन रेस्टुरेन्टमा राखिएको कार्यक्रममा पुग्न कालोझण्डा र नाराजुलुस छिचोल्न हम्मेहम्मे परेको थियो। निकै तनावग्रस्त अवस्थामा कार्यक्रम सम्पन्न भयो। 

पहिलो पटक खुसीसाथ हङकङ आएका प्रचण्ड स्थानीय नेपालीहरुसँगको अन्तर्क्रियापछि भने त्यति खुसी देखिएनन्। जसको बारेमा मैले विस्तृत लेख नै लेखेको थिएँ। दोस्रो पटक चीन भ्रमणपछि हङकङ आए पनि स्थानीय हङकङेलीसँग भलाकुसारी नगरी सेन्जान बोर्डरबाट सिधै हङकङ विमानस्थल पुगेका थिए उनी। जहाँ आलोचनाभन्दा प्रशंसा गर्नेहरुको सानो समूहसँग मात्र विमानस्थलको भीभीआईपी कक्षमा भेटघाट गरेर उनी नेपाल लागे। 

काउलुन वाटरलु रोडको ५ तलामा रहेको नेपाली चर्चमा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हङकङ आउँदा कार्यक्रम राखिएको थियो। कार्यक्रममा भनाभन र घम्साघम्सीबीच फेरि उही कालो झण्डा देखाइयो। केही सहभागीहरुको सुझबुझ र थोरै संयमताले मात्र हात हालाहाल हुन पाएन। यदि त्यसो भएको भए नेता नेपाल समेत हङकङ प्रहरीको भ्यानमा बसेर बयान दिन प्रहरी चौकी जानै पर्ने हुन्थ्यो। 

देशको पूर्वप्रधानमन्त्री समेत सहभागी कार्यक्रम त्यस्तो इमर्जेन्सी एक्जिट समेत नभएको पुरानो भवनमा गर्न कसले सुझायो भनेर खैलाबैला भयो पछि। 

यद्यपि नेपालकै सहोदर भाइ विनोदकुमार उपाध्याय हङकङमा महावाणिज्यदूत थिए त्यो बेला। तर गल्ती उपाध्यायको पनि हैन। 

देशका राजनेताहरु विदेश जाँदा त्यो देशमा रहेको दूतावास वा महावाणिज्यदूतावासले भ्रमणको चाँजोपाँजो, समयतालिका मिलाउनु पर्ने हो। तर हङकङमा मैले अहिलेसम्म देख्दा पार्टीका भातृ संगठनका अगुवाहरूको समन्वयमा दूतावास पछि लाग्नुपर्ने हुन्छ। 

नेताहरू पनि दूतावासभन्दा आ–आफ्ना पार्टीका अगुवाहरुलाई नै नजिक सम्झन्छन्। 

कुनै समय हङकङमा खटिएका एकजना पूर्वमहावाणिज्यदूत हङकङका भातृ सङ्ठनका अगुवाहरुसँगको मनमुटाव र बेमेलपछि उनीहरुले पार्टी मुख्यालयमा गरेको गलत रिपोर्टिङले गर्दा पदोन्नति नभई सेवानिवृत्त भए। यद्यपि, उनी सोही पार्टीमै आस्था राख्थे र राख्छन् अझै। 

यति धेरै उच्च नेताहरूले समस्या झेलेको हङकङमा ज्ञानेन्द्र शाही निर्वाध रुपमा आएर कार्यक्रम सम्पन्न गरी नेपाल फर्किसकेका छन्। यो गणतन्त्रप्रतिको वितृष्णा र राजतन्त्रप्रतिको आकर्षण हो भन्नेहरु पनि भेटिए। कतिपय राजनीति विश्लेषकहरु भने निराशाले गर्दा पार्टीभन्दा व्यक्ति चुन्ने लहरले अब बुढा नेताहरू र उनीहरुका आसेपासे नसुध्रिए आउने चुनावमा धेरै ठूलो परिवर्तनको आकलन गर्छन्। 

जे होस् अन्य नेतागणले झैँ सांसद ज्ञानेन्द्र शाहीले पनि हङकङमा सुनेका नेपालीहरुका समस्या, सुझाव र उजुरी काठमाडौं विमानस्थल ओर्लनेबित्तिकै बिर्सेका रहेनछन्। यो लेखको बिट मार्दै गर्दा बाचाअनुसार विमानस्थमा सुरक्षा, नागरिक उड्डयन र भन्सार प्रतिनिधिसँग उनको भेटघाटबारे भिडियो र समाचार हेरियो। अगाडि हुन्छ भन्ने र पछि नगर्ने सम्बन्धित निकायहरुले अब के गर्छन् त्यसको परिणाम आउने समयले देखाउने नै छ। मुख्य रुपमा जुन नदीको मुहान नै दुषित छ, त्यो नदीबाट स्वच्छ पानीको आशा गर्न सकिन्न। 

जे होस् पछिल्लो समय एकपछि अर्को दुषित नदीको मुहान सफा गर्ने प्रयास, संयोग वा बाध्यताले केही होलाहोला जस्तो आशा जगाए पनि सरसफाइ मूलमै नपुगी तलै अड्किएको देखिन्छ। 

तर पनि पछिल्लो समय छताछुल्ल भएका भ्रष्टाचारका काण्डैकाण्डका हल्लाखल्लाले भ्रष्टाचारमा खुट्टा उचाल्नेहरु दुई पटक सोच्न थालेका मात्र छैनन्, धेरैको निन्द्रा समेत खलबलिएको छ अहिलेलाई। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .