हङकङजस्तो संसारकै महत्त्वपूर्ण वित्तीय सहरमा विभिन्न व्यावसायिक उद्यमशीलतामा सफल हुँदै गएका नेपालीहरुबारे पछिल्ला लेखहरुमा चर्चा गरेको थिएँ।
अहिले त एकलभन्दा सामूहिक लगानीका अवधारणा अगाडि आएका छन्। हङकङमा विदेशीहरुसँग र नेपाली–नेपालीबीचका व्यावसायिक साझेदारीहरु अहिले त झन् धेरै झाङ्गिदैछन्। तर नेपाली–नेपालीबीच चाहिँ कहिलेदेखि सुरु भयो त सामूहिक लगानीको चलन? यसको इतिहासबारे छोटो चर्चा गरौँ।
मलाई जानकारी भए अनुसार काउलुन चिमसाचुइ मिडिल रोडको भुइँतलामा सन् १९९६ ताक खोलिएको ‘लेडी डायना’ रेस्टुरेन्ट सायद पहिलो हुनुपर्छ। जसमा पूर्व ब्रिटिस गोर्खाहरु क्रमशः पलसिंह गुरुङ, श्याम गुरुङ, राजेश गुरुङ र भान्जा पुस्ताका खेम गुरुङहरु आवद्ध थिए। यो नेपाली लाइभ ब्यान्ड सहितको पहिलो नेपाली सामूहिक लगानीको रेस्टुरेन्ट थियोे। पछि पवन खेम्का र खेम गुरुङको द्वैध स्वामित्वतामा हस्तान्तरण भयो। रोजगार भिसामा नेपाल र भारतबाट गायक संगीतकार समेत झिकाएर लाइभ गीत–गजल सुरु गरिनुको साथै पछि नाम परिवर्तन गरि ‘संगीत’ बनाइयो।
त्यसैगरी उतिबेलाका अग्रणी नेपाली रेस्टुरेन्ट व्यवसायी त्रिलोक विश्वकर्माको अगुवाइमा कुलप्रसाद गुरुङ, अरुणा गुरुङ र कृष्णप्रसाद पाण्डेहरुद्वारा सन् २००१ मा जोर्डनको पर्ल ओरियन्टल टावरको तेस्रो तलामा खोलिएको एसियन भिलेज रेस्टुरेन्ट पनि गीत–गजल सहितको नेपाली सामूहिक लगानीको दोस्रो व्यवसाय थियोे। यी दुवै रेस्टुरेन्ट अहिले अस्तित्वमा छैनन्।
चिमसाचुइकै मिडिल रोडमा आफ्नै स्वामित्वको कार्यालय सहितको सनराइज ट्राभल नेपालीहरुको सामूहिक लगानीको पहिलो ट्राभल एजेन्सी थियोे। जसमा कालु घले, प्रवीणकिशोर राई, राजेन्द्र श्रेष्ठ, जगन्नाथ ज्ञवाली, जगत प्रधान, तोरण गुरुङ, एमबी लिम्बू, धर्म माङ्मालीहरुको समावेशी साझेदारी थियोे। जुन अहिले फरक स्थानमा राजेन्द्र श्रेष्ठको एकल स्वामित्वमा यथावत सञ्चालित छ।
त्यस्तै, सन् २००८ तिर सामूहिक लगानीमा जोर्डनको रोयल कमर्सियल भवनमा अल्फा ट्राभल खोलिएको थियो। मुख्यत टुर ट्राभल्स भन्नाले हवाई टिकट, होटल बुकिङ गर्ने भन्ने बुझिन्छ। तर यो ट्राभल्सले भने यी सुविधा लगायत स्थानीय नेपाली र विदेशीहरु लक्षित ‘अल्फा एडभेन्चर’ भन्ने फरक खालको प्याकेज योजना ल्याएको थियोे। जसमा आबद्ध हेम राई, गणेश इजम र ललित आङबुहाङहरुद्वारा हङकङकै विभिन्न प्राकृतिक स्थानमा सशुल्क पदयात्रा, विभिन्न साहसिक खेल र खानपिन सहित अंग्रेजीमा टेन्ट भनिने आधुनिक गोठमा एकराते बसाइको सुरुआत गरेका थिए।
जसमध्येका एकजना आत्मीय मित्र हेम राईको आकस्मिक निधनको खबरले स्तब्ध भएँ म। हालसालै जोर्डनबाट संयोगले एउटै बसमा सँगै बसेर गफ गर्दै आएका उनलाई त्यसको ठीक चार दिनपछि उनको तस्बिरमा भारी मनले हार्दिक श्रद्धाञ्जली भनेर लेख्नुपर्ला भनेर कल्पना समेत गर्न सकेको थिइनँ। पहिला साधारण चिनजानका उनीसँग २००८ मा अल्फा ट्राभलको उल्लिखित कार्यक्रमपछि मेरो घनिष्ठता बढेको थियो। हङकङमा पदयात्राको बाह्रखरी मैले उनैबाट सिकेको थिएँ।
उनीसँगका केही अविष्मरणीय क्षणहरु आँखा अगाडि आउन थाले। कङ्गन रेस्टुरेन्टमा ग्लास जुधाउँदै ‘लु है कमलजी! अब छहरा र पहराबाट डोरीमा झुन्डिएर उक्लँदै ओर्लंदै रमाइलो गर्नुपर्छ’ भनेको १५ वर्ष बितेछ।
मैले भनेको थिएँ, ‘हैन हेमजी, मलाई त उचाइदेखि डर लाग्छ। म दर्शक बनौँला।’
‘हैन कमलजी, बानी त हो, सबै सुरक्षित उपकरणसहित हुन्छ नि! पीर गर्नु पर्दैन म छु नि,’ भन्दै उनले मलाई हौस्याएका थिए।
सन् २००८ ताकको कुरा हो। उनी लगायत आयोजकहरुले भने अनुसार हामी करिब १२/१५ जना बिहानै स्टारफेरीबाट सेन्ट्रल हुँदै मुइ ओ जाने पानीजहाज चढ्यौँ। केनेडी टाउनको छेउ हुँदै धुवाँ फाल्दै सन् नब्बेको दशकमा भियतनामी शरणार्थी क्याम्प भएको दायाँतिर रहेको सानो टापुको छेडो पार गर्दै जहाज अगाडि बढ्यो।
हङकङका धनाढ्यहरुको बासस्थान पोक फु लाम र माउन्ट डेभिड पहाडलाई देब्रे पारेर हङकङलाई बिजुलीबत्ती र प्रदुषण दुवै दिने लामा आइल्यान्डको पावर हाउस पार गर्दा बिहानको १० बजिसकेको थियोे।
बिहान सधैँ ढिलो उठ्ने भएकोले मेरो लागि नितान्त नौलो अनुभव र कुतूहल थियोे त्यो दिन। समुद्रमा मकैको बिस्कुनझैँ छरिएको सूर्यको किरण हेर्दै चाङचाओ आइल्यान्ड पार गर्दैगर्दा समुद्री ज्वारभाटाको उतारचढावले जहाज निकै हल्लिँदा केही सहयात्रीहरु डराए।
मलाई भने डरसँगै बाल्यकालमा धादिङ केवलपुरको पातालको पँधेरो माथि तेर्सिएको बरको रुखको हाँगामा सोइसाला खेलेको याद आयो।
करिब ४५ मिनेटमै मुइ ओ ओर्लियौँ। बाहिरपट्टि गणेश, ललित र उनै हेम राई हामीलाई पर्खिरहेका रहेछन्। त्यहाँबाट करिब ३० मिनेट हिँडेपछि ऐतिहासिक सिल्भरमाइन बे गुफामुनिको छहरामा पुगियो। हामीलाई तयारी खाना र पेय पदार्थहरु दिएर उनीहरू डोरी बाँध्न थाले। ठूलो झरनामाथिको एउटा ठूलो रुखको फेदमा डोरी बाँधेर तल्लो छेउसम्म पु¥याएर सुरक्षा उपकरणहरु जाँचपछि हामीलाई तयार हुन भने हेम राईले। अक्सर उचाइदेखि डर लाग्ने भएकाले म चाहिँ गरौँ या नगरौँ भन्ने दुविधामा सबैभन्दा पछाडि उभिएँ।
बेन्जु र अन्य सहयात्रीहरु रमाइरमाइ पार गरेको देख्दा आँट आयो।
‘कमलजी! लु है, ठ्याक्कै नेपालको तुइनजस्तो तर सुरक्षित,’ सहयात्री मित्र हेम लिम्बूले हौसला दिए। खेलिसकेपछि उहिल्यै २०४० सालतिर भृकुटीमण्डपको दसैँको रमाइलो मेलामा शाही नेपाली सेनाले राखेको यस्तैखाले तर सानो खेल खेलेको याद आयो। अंग्रेजी भाषामा यसलाई जिपलाइन भनिँदो रहेछ।
सबैले रहर पुगुन्जेल खेलिसके पछि पुनः तीन जना आयोजक पथ प्रदर्शकको पछि लाग्यौँ।
मुइ ओको गाउँले बस्ती छाडेर जङ्गलको बाटो हुँदै करिब १ घण्टामा पुइ ओ भन्ने अर्को समुद्री किनारमा पुगियो। मलाई भने पाकेको रुखकटहरको मीठो बास्ना आयो। नभन्दै नजिकै दोबाटोमा चिनियाँ गाउँले आमा बारीमा फलेको रुखकटहर र काँक्रो बेच्न बसेकी रहिछन्।
‘हैन कमलजी के गरेको यो? ऊ त्यो पहाड चढने हो, कसरी बोक्न सक्नुहुन्छ?’ मैले कटहर र काँक्रो किन्दै गरेको देखेर गणेश इजमले अगाडिको विशाल चिमा वान पहाड देखाए। मैले भनेँ, ‘उपाय छ। पहाडको फेदीमा पुगेपछि सम्झाउनु होला।’
चिमा वान पहाडको फेदीमा हेम राईले उकालो चढ्नुअगाडि सबैलाई वार्मअप गराए। मैले रुखकटहर र काँक्रो पत्कर जम्मा गरेर लुकाउँदै गर्दा सबै हाँसे। मैले थपेँ, ‘पाँच पाण्डवले वनवासपछिको एकवर्षे गुप्तवासमा यसैगरी हातहतियार लुकाएका थिए अरे।’
सबै उकालो लाग्यौँ। भदौको महिना सल्लाघारीबीचको उकालो हावाको फिर्कोसम्म थिएन। एउटा थुम्को पुग्यो, अर्को देखिन्छ। त्यहाँ पुग्यो, झन् अर्को फेरि अर्को। पसिनाले सबै निथ्रुक्क भइयो। उमेरले पाका भए पनि वेद खड्का दाइ सबैभन्दा अगाडि हुनुहुन्थ्यो भने किरण पन्त (नेपाल एअरलाइन्सका तत्कालीन कन्ट्री म्यानेजर) ले मलाई सबैभन्दा पछाडि हुनबाट भने जोगाइदिए। करिब सवा घण्टाको उकालो सकेपछि चिमावान पहाडको टुप्पोमा पुगियो।
दक्षिणतिर आँखाले नभ्याउने समुद्र, समुद्रमाथि पौडिरहेका साना, मझौला, ठूला र अजङ्गका पानीजहाज, उत्तरपश्चिममा हरिया पहाडहरू, समुद्रको स्पर्शमा लमतन्न कोल्टे परेका पुइ ओ, अपर चङ्सा र लोअर चङ्साका सागर किनार आँखा अघाउन्जेल हेरियो। केहीबेरको विश्राम र फोटो सेसनपछि आयोजक साथीहरु पसिना चुहाउँदै डोरी र फलामका हुकहरू लिएर चट्टानमा ठोकिएका फलामे किलाहरुमा गाँठो पार्न थाले। मैले गएर बुझ्दा त तिनै डोरीको सहायताबाट त्यो भीरबाट तल ओर्लिने अरे। मजस्तो उचाइदेखि डर लाग्नेहरुको लागि त अकल्पनीय थियो त्यो। सहयात्रीमध्ये सबैभन्दा बलियाबाङ्गा, सुरा प्रकाश केसी हेर्न गए। दुई कदम अगाडि बढेका केसी चार कदम पछि हटेर हात उठाएर भने, लौ यो चाहिँ त सकिन्न है। बाँकी अरु सबैले हो मा हो मिलाए।
आयोजकहरुले मलिनो मुख लगाए। ललितले तपाईंहरुलाई खासमा यही अनुभवको लागि यहाँसम्म ल्याएको भने पनि कसैले आँट गरेनन्। हेम राईले तुरुन्तै उपाय निकाली हाले, ‘लु त्यसो भए यही पहाडको तल एउटा सानो पहरो छ जहाँ म अक्सर स्कुलका स–साना विद्यार्थीहरुलाई प्रशिक्षण दिन्छु। त्यहाँ त सकिन्छ।’
ल गएर हेरेपछि सोचौँला भन्दै सबै पछि लाग्यौँ। फेरि उही ओरालो ओर्लियौँ सबै। पहाडको फेदीमा लुकाएको कटहर र काँक्रो बेलुका खानुपर्छ भन्दै बाँडेर बोक्यौँ। करिब पैँतालीस मिनेटको तेर्सो बाटोपछि थोरै जङ्गल, झाडी हुँदै इगल क्र्याक भनिने ठाउँ पुगियो। उचाइ पनि कम र तल समुद्र किनार भएकाले सबैले आँट गरेपछि फलामका किलामा डोरी बाँधेर तयार गरे आयोजकहरूले। करिब साँझ पर्नै लाग्दा सबैले पालैपालो र दोहोर्याइ तल झर्दै गोरेटोबाटोबाट माथि उक्लिए। अंग्रेजी भाषामा यसलाई ‘एफ सेलिङ’ भनिँदो रहेछ।
त्यसपछि सबैजना त्यो रातको बासस्थान तयार गरिएको ठाउँ पुइ ओ बिचको माथिपट्टिको समथल थलीमा आइपुग्यौँ। आयोजक साथीहरुले सबैको लागि अलगअलग प्लास्टिकका छाप्रा तयार गर्दा नेपालको दुर्गम स्थानको एउटा सानो सानो गाउँकै याद आयो। खानपानको लागि आयोजकहरुको अर्को समूहले तयार गर्दै थियो, जो हामीसँग पदयात्रामा थिएनन्।
सबैले नुहाइधुवाइ सकेपछि आआफ्नो टेन्ट देखाइदिए आयोजकले। यो अल्फा एड्भेन्चरको पहिलो कार्यक्रम भएकोले सानो औपचारिक कार्यक्रम पनि रहेछ। दिउँसो कार्यव्यस्तताले पदयात्रामा सामेल हुन नसकेका तत्कालीन महावाणिज्यदूत केशवप्रसाद भट्टराई श्रीमती गीता भट्टराई सहित आइपुगे। सानो औपचारिक कार्यक्रममा महावाणिज्यदूत भट्टराई लगायत सबैले अल्फा एड्भेन्चरको व्यावसायिक सफलताको शुभेच्छा राखे। न्यूनतम शुल्क राखिए पनि व्यवस्थापन र सुविधा हेर्दा यो साथीहरुले व्यापारमुखी नभएर विज्ञापन अर्थात प्रचारप्रसारमुखी कार्यक्रम राखेका रहेछन्।
सबै खानपिनतिर लागियो। थरीथरीका पोलेको मासु, टिमुरको छोप हालेको पिरो चटनी, बरफ पानीमा डुबुल्की मार्दै रहेका चिसो बियर र अन्य गैरमादक पेय पदार्थ। उता पुलाउ र आलुदममा तात्तातो बाफ आउँदै थियो। मुइ ओको बारीमा फलेको आधी रातो आधी हरियो डल्ले र आकाशे खुर्सानी। दिनभरिको थकाइ पछि बस के चाहियो। अन्त्यमा जङ्गलै बास्ना आउने पाकेको रुखकटहर।
दिनभरि त गज्जब रमाइलो तर त्यसरी टेन्टमा सुतेको भने मेरो पहिलो अनुभव। ढोका बन्द गर्यो गर्मी, खोल्यो लामखुट्टेको टोकाइ, घाँस र माटोको बास्ना, किराहरूको संगीत त झन् भैहाल्यो। नढाँटी भन्दा टाउकोमा तकिया पर्यो कि घुर्न सुरु भइहाल्ने एकदुई घर छिमेकी भएपछि अलि गहारै भयो निदाउन चाहिँ। तर जीवनमा पहिलो पटक जमिनमाथि र खुला आकासभन्दा तल सुतेको अनुभव। बिहानी पख निदाइएछ।
उठेर तयार हुँदा चियादानीमा उम्लँदै गरेको चिया, पाउरोटी, अण्डा र ससेजका परिकारहरु तयार थिए। बिहानीको खाजा पछि आयोजक उद्यमी साथीहरुलाई विशेष धन्यवाद दिँदै मीठो, रमाइलो अनुभव सङालेर मुइ ओको पानीजहाज चढ्ने बाटोतिर लाग्यौँ सबै।
जे होस् १५ वर्ष बितेछ। त्यतिबेलाका व्यवसायी आयोजकमध्ये गणेश इजम बेलायतबासी भएको धेरै भयो। ललित आङबुहाङ हङकङ–बेलायत गर्दैछन् आजकल। अल्फा ट्राभलको स्वामित्व अन्य उद्यमी साथीहरुले लिएका छन् अहिले।
अल्फा ट्राभल छोडेपछि हेम राई हिमालय एक्सप्लोर भन्ने कम्पनी खोलेर यस्तै दौडधुपमा व्यस्त देखिन्थे।
हङकङका सयौँ नेपालीहरु र विदेशीहरुले उनको आयोजनामा सशुल्क साहसिक खेलहरु खेलेको सामाजिक सञ्जालमा बग्रेल्ती देखिन्थ्यो। मौका पर्यो कि विदेशीहरुलाई नेपालको प्राकृतिक विविधताबारे बताउँदै प्रचारप्रसार गर्थे उनी।
माथि भनिएझैँ जोर्डनबाट आक्कलझुक्कल एउटै बसमा भेट हुँदा हाम्रा कुराको बिट मार्न नभ्याउँदै ओर्लने ठाउँ आइपुग्थ्यो।
उनी दक्षिण लान्ताउ द्वीपको पुइ ओ भन्ने समुद्री तट नजिकैको बस्तीमा बस्ने भएकाले तुङचुङबाट फेरि अर्को बस चढ्थे।
मैले पछिल्ला तीन वर्षमा हङकङभित्र गरेका पदयात्रासम्बन्धी संस्मरण आलेखका उनी मौन पाठक थिए। भेट्दा जहिल्यै भन्थे, ‘कमलजी तपाईंको लेख नेपालखबरमा आउने बित्तिकै म पहिला सेभ गर्छु। अनि फुर्सदमा पढछु।’
पूर्वी हङकङको सार्पपिकको पदयात्रामा बाटो बिराएर हङकङ प्रहरीद्वारा कसरी उद्धार भयो भन्ने लेख पढेपछि उनले मलाई फोन गरे।
लु कमलजी सुन्नुस है भन्दै पदयात्रामा लगाइने पोसाक, जुत्ता, छाता, लट्ठी, पानी, लाइटर, टर्चलाइट, चकलेट, इनर्जी दिने पेय पदार्थ, हिट स्ट्रोक, डिहाइड्रेसनको लक्षण, समाधान र रक्तचापको अवस्थाबारे बुझाउँदै हङकङका पदयात्राका लागि उपयोगी केही गुगल नक्साका लिंकहरु समेत पठाइदिएका थिए।
अझै सम्झन्छु, ‘लु एक्लै कहिल्यै नहिँड्नुस है। समूहमा मात्र। तर पनि कम्तीमा एकदुई जना फस्ट एड जान्ने भयो भने अझ राम्रो’ भन्दै वार्तालापको बिट मारेका थिए।
अरुहरुका सुरक्षामा यसरी चासो र चिन्ता गर्ने यी मित्रले कसरी आफ्नै सुरक्षा गर्न सकेनन्? मलाई लाग्छ, छातीमा असहज हुनेबित्तिकै उनले एम्बुलेन्स बोलाएको भए उनी पक्कै बाँच्थे। हङकङमा एम्बुलेन्स घर वा उद्धार स्थलमा आइपुग्नु भनेको लगभग आधा अस्पताल नै आइपुगेको जस्तो हो।
सायद सकेसम्म किन एम्बुलेन्स बोलाएर सरकारी राज्यकोषबाट खर्च गराउनु भनेर वा बढी नै आत्मविश्वास भएर हुनसक्छ। उनी ट्याक्सीमा अस्पताल जाँदै गर्दा अर्धचेत/अचेत भैसकेपछि ट्याक्सी ड्राइभरले उपयुक्त ठाउँमा रोकेर मात्रै प्रहरी वा एम्बुलेन्स बोलाउँदा सायद धेरै ढिलो भैसकेको हुनुपर्छ।
जे हुनु भइसक्यो। सामाजिक सञ्जालमा अक्सर धेरैले सेयर गरेका हुन्छन्, फूललाई थाहा हुँदैन, बिहान उसलाई मन्दिर वा स्मशान घाट कहाँ जानुपर्छ भनेर।
मानिसलाई पनि त्यस्तै पर्दोरहेछ। हेम राई र म दर्जनौँ दर्जन पटक सँगै जोर्डनबाट बस चढेर वार्तालाप गर्दै घर आउने उही ई ट्वेन्टी थ्री सिटी फ्लायर चढेर सेप्टेम्बर १० तारिख आइतबार तुङचुङबाट उनकै अन्त्येष्टि स्थल हुङहाम जानु अकल्पनीय थियोे।
पछिल्लो भेटमा हेमले साहसिक पर्यटनको लागि नेपाल संसारमै उपयुुक्त ठाउँ भएको र बाँकी जीवन नेपालमै गएर व्यावसायिक निरन्तरता दिने बताएका थिए। देशको राजनीति खिचातानी, सधैँ अस्थिर सरकार र भ्रष्ट प्रशासनबारे गुनासो गर्थे।
हङकङमा नेपाली समुदाय मात्र नभएर धेरै विदेशी निजी स्कुल र समूहहरुलाई समेत चिमावान, साइकुङक, तुङलुङ चाउ, वाङ लुङ हान इस्ट ड्रागन र जिन आइल्यान्डको सेरोफेरोमा प्राकृतिक मनोरञ्जन गराउने उनी एकल नेपाली थिए। ६ फेब्रुअरी १९६३ मा सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकाको थेवे गाउँमा जन्मिएका हेम राईले जीवनमा कुनै औपचारिक शिक्षा लिन पाएनन्। तर स्वअध्ययन, अनुभव र मेहनतबाट अगाडि बढेका उनी अन्तर्राष्ट्रिय क्वालिफाइड प्रशिक्षक हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ। यस्ता साहसिक खेलमा दुर्घटना पनि हुने गर्छन्। तर उनले दुर्घटनामा जिरो रेकर्ड कायम राखे सधैँ।
उनको आयोजनामा गरिने कार्यक्रमहरुमा जहिल्यै न्यूनतम शुल्क लिइन्थ्यो। यिनै अन्तरसंवादमा हराउँदै सम्झँदै बाटो सकिएको पत्तै भएन। ओर्लने ठाउँ आइपुगिसकेछ।
फुलको थुङ्गा लिएर ठीक समयमा हुङहामको फ्युनरल हाउस पुग्दा उनको हँसिलो श्यामश्वेत तस्बिरमुनि पुष्पगुच्छाको सानो पहाड नै बनिसकेको थियो। उनले व्यवसायबाट कति कमाए, कमाएनन् मलाई थाहा भएन तर शुभचिन्तक र मलामीहरु भने अनगिन्ती कमाएका रहेछन्।
त्यहाँ शोकमग्न सङ्खुवासभा, लोहोरुङ राई समाज वा किरात राई यायोक्खा मात्रै थिएनन्। जहाँ उनले साहसिक खेलमा ब्रिफिङ दिँदै टाउकोमा हेल्मेटको सुर्केनी र जिउमा सुरक्षा पेटी मिलाइदिएका मजस्ता सयौँ देशीविदेशी शुभेच्छुक दुखी मनहरु उनको अन्तिम विदाइ भेटको लागि प्रतीक्षारत थिए।
उनी केही ढिलो आइपुगे, काठको बाकसमा पहिलो र अन्तिम पटक।
झल्याँस्स उही चिमावान पेनेन्सुलाको चट्टाने थुम्कोमा दुवै काँधमा अटाइनअटाइ नाइलनका डोरी, हातमा फलामका हुक, निधार र जिउभरि पसिनाले लपक्कै भिजेको हँसिलो फरासिलो मित्र हेम राईको आकृति मेरो आँखाअगाडि छाया बनेर आयो र गयो फेरि।
बाक्लो कपाल, बन्द आँखा, जोडिएको ओठ, निश्चल शरीरको उनको पाउमुनि थुप्रिँदै गएका सेता फूलहरुका कुन्युमा दुई थुङ्गा फूल थपेर उनको निर्जीव आकृतिलाई नमस्कार गर्दै भारी मन लिएर बाटो लागेँ म!!
Shares
प्रतिक्रिया