अहिले मानसिक स्वास्थ्य विश्व स्तरमै चिन्ताको विषय बन्दै गइरहेको छ। यसको निदान खोज्ने प्रयास समेत भइरहेका छन्। विभिन्न देशले आ-आफ्नो सामाजिक संरचना अनुसारका योजनाका खाकाहरू तयार गरिरहेका छन्। सोही अनुरूपका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेका छन्। यद्यपि समाजलाई नियाल्दा ती पर्याप्त नरहेको बुझ्न सकिन्छ/देख्न सकिन्छ।
पछिल्ला केही महिनामा मात्रै देशका विभिन्न स्थानमा आत्महत्याका धेरै घटनाहरू घटेका छन्। सामाजिक सञ्जालमा प्रत्येक दिनजसो निराशाजनक भाव समेटिएका स्ट्याटस तथा आत्महत्याका भिडिओ देखिन्छ। केही समयअघि मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोण फरक थियो। जनचेतनाको अभावमा मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई गरिने व्यवहारमा अहिले भने थोरै परिवर्तन आएको पाइन्छ।
मेरा केही नजिकका मान्छेहरूमा समेत मानसिक स्वास्थ्य समस्या देखेको छु। केही मानिस समस्यालाई जितेर स्वस्थ पनि भएका छन् भने मनोचिकित्सकको सहयोगमा केहीले औषधि सेवन गर्ने, ध्यान गर्ने आदि इत्यादि गरिरहेका छन्।
कुनै बेला म स्वयम् पनि यसको सिकार भएको थिएँ। तर, साथीहरूको आत्मीयता, परिवारको सुमधुरता, ध्यान, औषधि आदि कुराको तालमेल मिलाएपछि यसबाट छुटकारा पाउन सजिलो भयो। सबैलाई उत्तिकै सजिलो नहुन सक्छ। यही मात्र कारणले नजिकका कति जनाको ज्यान समेत गएको हामीले समाजमा देखिरहेका/सुनिरहेका छौँ।
मानसिक स्वास्थ्यको तथ्याङ्क हेर्ने हो भने कहालीलाग्दो स्थिति देखिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक ८ जनामा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको छ। सङ्गठनका अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुन्छ र २४ वर्षको उमेरसम्म ७५ प्रतिशत देखिन्छ। १५ वर्षदेखि २९ वर्षका मानिसहरूको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको बुझिन्छ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को एक तथ्याङ्क अनुसार नेपालमा १३ वर्षदेखि १७ वर्ष उमेर समूहमा जनसङ्ख्याको ५.२ प्रतिशत र सोभन्दा माथिका व्यक्तिहरूमा १० प्रतिशत कुनै एक किसिमको मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ। नेपालको परिप्रेक्ष्यमा आर्थिक पाटो नै सबैभन्दा बढी मानसिक स्वास्थ्यको कारक बन्ने गरेको छ। देश तथा विश्वमा बढ्दो आर्थिक परिवर्तनले गर्दा व्यक्तिहरूमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको मनोचिकित्सकहरू बताउने गर्छन्।
आर्थिक रूपमा असक्षमता महसुस गर्नु यसको पहिलो खुड्किला हुनसक्छ। आर्थिक प्रतिस्पर्धाका कारण मानिसहरूमा महत्त्वाकाङ्क्षा बढ्ने गर्छ। जसको पूर्ति नहुँदा निकट भविष्यमा त्यही नै नैराश्यको मूल कारक बन्ने गर्छ। यसमा परिवार, साथीभाइ, समाजले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन्। वातावरणमा आएको परिवर्तन, मानिसहरूको आपसी सम्बन्धमा देखिएको खटपट, खानपान यसका अन्य कारक हुन्।
घरमा हुने गरेको विभिन्न प्रकृतिका हिंसा, बाल्यकालमा गरिने दुर्व्यवहार आदिले पनि बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। एक अर्काले गरेको कामको प्रशंसा गर्ने, प्रोत्साहन गर्ने, बालबालिकासँग रुचि अनुसारको खेल खेल्ने आदि गर्नाले पारस्परिक सम्बन्ध सुमधुर हुन्छ नै मानसिक रूपमा स्फूर्त समेत भइन्छ।
मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई कुनै एक व्यक्तिको योगदान पनि निकै ठूलो साबित हुनसक्छ। भवितव्य दुर्घटनालाई रोकथाम गर्न सकिन्छ। उसको कुरा सुनिदिएर, उसँग बोलेर या उसलाई रमाइलो लाग्ने वातावरण सिर्जना गरेर मद्दत गर्न सकिन्छ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले मनोचिकित्सकका परामर्श अनुसार व्यवहारमा परिवर्तन गर्दै लगे यसबाट छुटकारा पाउन सकिन्छ। यसका लागि परिवारसँग पर्याप्त समय बिताउने, परिवारको कुरा सुन्ने, उनीहरूका सामु आफ्नो मनोभावना पोख्ने गर्न सकिन्छ। साथीभाइसँग रमाउने, स्वस्थ खानपान अपनाउने, मन लागेको ठाउँ घुम्न जाने, मन लागेका पुस्तक पढ्ने या सङ्गीत सुन्ने, व्यायाम गर्ने समेत गर्न सकिन्छ। मानिस सामाजिक प्राणी हो भन्ने सम्झिएर समाजसँग घुलमिल भएर बस्ने प्रयास गर्न सकिन्छ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेय या कठै भावले हेर्ने/व्यवहार गर्ने गर्नाले पनि निरुत्साहित बनाउन सक्छ। मानिसलाई मीठो व्यवहार जिउँदो छँदै चाहिन्छ। जीवनभरि हालखबर समेत नसोध्ने तर सामाजिक सञ्जालमा राखेको निराशाजनक वक्तव्य या आत्महत्या नजिक रहेको स्ट्याटसमा कठै भन्नाले केही फरक पार्दैन। मानिसले एकैपटक यस्तो निर्णय लिँदैन भने मलाई लाग्छ। छिनोले झैँ साना-साना कुराले हिर्काउँदै लागेपछि कोही अन्ततः गएर टुक्रिन्छ या फुट्छ।
बाँचुञ्जेल को हो को हो? मरेपछि ओहो! गरेर केही फाइदा छैन। बाँच्दै सौहार्दपूर्ण या भनौँ सुमधुर व्यवहार गर्नुपर्छ। हाम्रो कुनै पनि बोली या व्यवहारले कसैको जीवनमा ठूलो भूमिका खेल्न सक्छ। ‘जिब्रोको गरिमा मीठो बोलीमा’ भने झैँ मुखबाट निस्किएको कुनै कुराले कसैलाई निकै ठूलो आघात पुर्याउन सक्छ। त्यसैले बोल्दा या व्यवहार गर्दा सतर्क हुन जरुरी छ।
कसैलाई मानसिक स्वास्थ्य समस्या भएको थाहा पाएपछि उसँग बोलिदिने, उसका कुरा सुनिदिने, सम्भव भए भेट्ने गर्नाले केही राहत दिलाउन सक्छ। त्यसैले कोही व्यक्ति जिउँदो छँदै उसको मनोभाव/पीडा बुझिदिने गरौँ। मानसिक स्वास्थ्यलाई समस्याको समाधानका लागि हातेमालो गरौँ।
Shares
प्रतिक्रिया