तपाईंलाई थाहा छ, शरीर पनि बोल्छ नि। बस्, हामी बुझ्ने कोसिस गरिदिँदैनौँ। आजभन्दा करिब १५-१६ वर्षअघिको कुरा हो, मातातीर्थमा ठूलो मेला लागेको थियो। म मेरी फूपूकहाँ थानकोट पुगेकी थिएँ। हामी (म र फूपूका परिवार) रोटेपिङ खेल्ने मुख्य उद्देश्यका साथ फुपूसँग मेला भर्न गयौँ।
रोटेपिङ घुम्न थाल्यो। भर्खर अघिसम्म सबैभन्दा बढी उत्साहित फुपूकी माहिली छोरी डाँकिएर रुन थाली। मलाई पनि डर लाग्यो। तर, मैले भने म डराएँ भन्ने देखाउन चाहिनँ। मलाई लाग्यो म देख्दै अफ्ठ्यारो गरी बसिरहेकी छु। यसरी बसे त सबैले डराई भन्ने बुझिहाल्छन्। त्यसपछि, म अलि सजिलो गरी बसेँ। तर अचम्मको कुरा के भयो भने सजिलो गरेर बसेपछि डर नै हरायो। रोटेपिङ माथिबाट तल झर्दा मुटुतिर चिसो भएझैँ लागेको थियो। सहजसँग बसेपछि चिसो अघिझैँ अनुभूति भएन।
मलाई अनौठो लाग्यो। म फेरि कुचुक्क परी बसेर हेरेँ। फेरि चिसो भयो। डर लागेझैँ भयो। फेरि सहज भएर बसेँ डर भागेझैँ भयो। त्यो दिन मैले बुझेँ- डर भन्नु हाम्रो शरीरले महसुस गर्ने असहजपना न रहेछ। डर महसुस हुनु भनेको शरीरले हामीसँग कुराकानी गरेको रहेछ- 'मलाई सहजसँग राखिदेऊ न।' तर, शरीरको भाषा हामी बुझ्दोरहेनछौँ। शरीर पनि बोल्छ भन्ने हामीलाई लाग्दो नै रहेनछ। तर, शरीर बोल्छ। शरीरले कथा पनि भन्छ।
निर्देशक सुदाम सिके शरीरमार्फत् कथा भन्न रुचाउँछन्। 'पाँच', 'ऐया! माया', 'लाइक, लेट्स अभिनय गरौँ' जस्ता कथाहरू उनले शरीरमार्फत् भनिसकेका छन्। उनलाई शब्दसँग आफ्नो खास दोस्ती कहिल्यै बनेन जस्तो लाग्छ। सानैदेखि नाच्न मनपर्ने उनलाई 'शरीर पनि बोल्छ है' भन्ने हेक्का नहुँदैदेखि पनि शरीरको भाषाप्रति चासो हुन थालेको रहेछ। फर्किएर आजको ठाउँबाट हेर्दै गर्दा उनलाई यस्तै लाग्छ।
शरीरको भाषाले आखिर उनलाई मोहनी किन लगायो? खास के भेट्छन् उनी यो भाषामा? भन्छन्, 'शरीरको भाषा भनेको अमूर्त भाषा हो। अब्स्ट्र्याक्ट पेन्टिङजस्तै। या त आकाशमा तैरिएर नाचिरहने बादलको जस्तै।' साँच्चै, तपाईंले कहिल्यै बादलका आकारहीन आकृतिहरू नियाल्दै गर्दा अर्थपूर्ण भावानुभूति गर्नुभएको छ? प्रकृतिको एउटा नियम पूरा गर्न जमेको पानीको त्यो बाफमा कतै कहिल्यै तपाईंले आफ्नो जीवनको दर्शन, जगतको रहस्य भेट्नुभएको छ? सुदामलाई लाग्छ, शरीरको भाषा पनि बादलको भाषाजस्तै हो- प्राकृतिक, स्वाभाविक, एउटा ऐनाजस्तो!
उनी भन्छन्, 'फिजिकल नाटकको थिम यही भन्ने हुँदैन। हरेक नयाँ दिन, हरेक नयाँ अर्थ।' अझै विस्तृति दिँदै भन्छन्, 'एकै दिन पनि हरेक दर्शकले एउटै कथाभित्र अनेक अर्थ भेट्न सक्छन्। सायद, फिजिकल नाटकको यही बहुआयामिक गुणप्रति म लोभिन्छु।'
त्यसो त शब्दमार्फत् भनिने कथाहरूमै पनि हरेक पाठक/दर्शकको आ-आफ्ना बुझाइ हुन्छन्। आज पनि पारिजातकी पात्र सकमबरीको मृत्यु किन भयो सोध्ने हो भने एउटा कारणमा जवाफ टुङ्गिँदैन। स्पष्ट शब्दमा नबोल्नु वा बिम्बमा बोल्नुले त अनेक सम्भावनाहरूको ढोका खोल्न सक्दछ भने शब्दमै नबोल्नु, बिना आवाजको भाषा बोल्नुले त हरेक दर्शकभित्रको कल्पनाको आँखालाई उघार्ने नै भयो। त्यस अर्थमा, फिजिकल प्ले दर्शकहरूका लागि कल्पनाको एउटा अवसर पनि हो। आफ्नो मनभित्र चिहाउने एउटा अद्भूत ऐना पनि हो। शरीरको छाया त भौतिक ऐनामा नियाल्नुहुन्छ। आफ्नो हृदयको छाया कहाँ नियाल्नुहुन्छ दर्शक?
दर्शक, श्रोता पनि त हो। शाकिराको एउटा गीत छ नि- 'हिप्स डोन लाई!' पक्कै सुन्नुभएकै होला। एउटा अन्तर्वार्तामा उनलाई सोधिएछ, ' 'हिप्स डोन्ट लाइ' को अर्थ के हो नि?' उनले भनिछिन्, 'म मेरा म्युजिसियनहरूलाई सधैँ यही भनिरहन्छु- हिप्स डोन्ट लाइ! किनभने, तपाईंलाई मान्छेको बोलीले, कहिलेकाहीँ त मान्छेको आँखाले पनि धोका दिन सक्छ। तर, मान्छेको बडी ल्याङ्वेज ख्याल गर्नुस्। त्यसले तपाईंलाई कहिल्यै धोका दिन सक्दैन। मान्छेको भित्र के छ, शरीरले जस्ताको त्यस्तै भनिरहेको हुन्छ। हामी अक्सर बोली सुन्ने र अनुहार पढ्ने हुँदा धोका खान्छौँ।'
सुदामलाई पनि शब्दमा सीमितता महसुस भइदिन्छ, त्यसैले शब्दमार्फत् पोखिन नसकेका कुराहरू उनी शरीरको भाषामार्फत् बुझाउने प्रयास गर्छन्। भन्छन्, 'कति कुरा भन्न खोज्दाखोज्दै अर्कै भएर निस्किन्छन्। शब्दको सहारामा कुरा गरिरहँदा मनको कुरा निख्रिने गरी बोल्न सकेको महसुस हुँदैन। आज एकदम राम्रो बोलियो लाग्दै गर्दा पनि
केही न केही त छुटिरहेकै हुन्छ। तर, शरीरलाई बोल्न छोडिदिने हो भने उसले भित्रको कुरा सक्दो निचोरेर बाहिर निकाल्छ।'
मलाई लाग्छ यो भनिरहँदा पनि उनी खासमा 'हिप्स डोन्ट लाइ!' नै भन्न चाहन्थे। खैर, बोलेर भन्न नसकेको/छुटेको कुरा उनी शरीरमार्फत् भन्नेछन्। आउँदो बिहीबार उनी आफ्नो नाट्य टोली (आकाश नेपाली, बिनिता गुरुङ, सरिता कठायत, निष्ठा त्रिपाठी लगायत) लिएर बंगलादेशको मञ्चमा भन्दैछन् हिप्स डोन्ट लाइ!
कथाको घेरा यहीँसम्म हुनुपर्छ भन्ने निश्चित घेरामा नबाँधिएको 'कथाघेरा' मार्फत् सुदामले यो किसिमको प्रयोगवादी नाटकहरू निरन्तर रूपमा गर्दै आएका छन्। उनको नयाँ फिजिकल नाटक 'उबुर उबुर टिक्की' आउँदो बिहीबार बङ्लादेशको जेसोरमा हुन गइरहेको साउथ एसियन थिएटर फेस्टिवलमा मन्चन हुँदैछ। सुदामलाई लाग्छ यो फर्मको नाटकले फैलिन पाउनुपर्छ। नाटक लिएर बंगलादेश जाँदै गर्दा उनी खुसी छन्। नाटकको निर्देशक रहेका उनी आफू अभिनेताको टोलीमा समेत छन्।
भन्छन्, 'जसरी क, ख, ग, घ को सीमित परिधिभित्र बसेर पनि हामी हरेक दिन नयाँनयाँ शब्द र अर्थ खोज्ने भेट्टाउने गरिरहेका हुन्छौँ, त्यसैगरी शरीरको सीमित चालहरूबाट पनि हामी असीमित अर्थ भेट्टाउन सक्छौँ। शरीरको चालहरूमा खेल्दै खेल्दै नै त्यसको भाषालाई बुझ्दै जाने हो। त्यसैले शरीरको भाषालाई अझै बुझ्दै जाने लोभमा म आफू पनि स्टेजमा छु।' फेरि थप्छन्, 'मलाई फेरि फिजिकल पर्फमेन्स सकेर निस्किँदा एउटा छुट्टै आनन्द पनि महसुस हुन्छ। मनभित्रका तनावहरू, गुनासा, तिक्तता, विरक्तिहरू सबै निस्किएर गएजस्तै महसुस हुन्छ। आफू बोझबाट मुक्त भएजस्तो र एकदम हलुङ्गो भएजस्तो।'
म यसअघिको उनको नाटक 'लेट्स अभिनय गरौँ' हेरेर फर्किँदै गर्दाको अनुभूतिलाई पुन:साक्षातकार गर्न पुग्छु। निराश युवाहरूको विरक्ति पोखिएको उक्त नाटक हेर्दै गर्दा मैले आफूभित्र पनि केही हलचल अनुभूत गरेकी थिएँ। र नाटक सकिएसँगै एउटा आत्मसन्तोषको श्वास फेरेको पनि म सम्झिन्छु। यस अर्थमा, फिजिकल प्ले एउटा थेरापी पनि त रहेछ।
साँच्चै, थेरापी भन्दै गर्दा सम्झना भयो। एकताका म बेग्लै थिएँ। मलाई अँध्यारो मनपर्थ्यो। झ्याल त के, झ्यालको पर्दा खोल्न समेत इच्छा हुँदैन थियो। घामको किरणसँग घृणाजस्तै हुने गर्थ्यो। मैले सुन्ने गीतहरू पनि त्यस्तै हुनेगर्थे। सुनिती अधिकारी र चित्रा सिंह। अनि शेर सुन्न मन लागे जौन एलिया। शरीरभरि सहन नसक्ने गरी पीडाबोध हुन्थ्यो। अस्पताल गयो रोग भेटिँदैन थियो। अचानक एकदिन लाग्यो यो शरीरको दुखाइ मेरो मनोवैज्ञानिक स्थितिको उपज हो। त्यसपछि आफै डाक्टर भई टोपलेर मनको स्थिति र शरीरको दुखाइबीचको सम्बन्धबारे खोज्न थालेँ। नभन्दै हरेक कुरामा एक्स्पर्ट गुगलले मेरो शंकालाई प्रमाणित गर्ने अध्ययनहरू भेटाइदिने काम गर्यो। समस्या डाइग्नोज त भयो अब उपचार नि?
उपचार खोज्ने क्रममा भेटियो- सोम्याटिक एक्सरसाइज! जसले भन्थ्यो अव्यक्त तनावहरू हाम्रो शरीरका विभिन्न भागमा खात लागेर बसेका हुन्छन्। विशेषगरी, कम्मरको वरिपरि। कम्मर र खुट्टाको जोर्नी वरिपरि। त्यसको लागि विशेष किसिमको कसरत हुनेरहेछ जसको अभ्यासपछि मेरो शरीरको दुखाइ मात्र हराएन बरु उज्यालोप्रतिको मेरो घृणा पनि हरायो। वर्षौंपछि मैले झ्यालको पर्दा खोलेँ। यो लेख्दै गर्दा पनि पर्दा खुलेको झ्यालबाट उज्यालो चिहाइरहेकै छ। त्यसपछि, चित्रा सिंह मेरो मनमा त बसिरहिन् तर मेरो शरीरभित्र उनलाई गढ्न दिइनँ। किनभने त्यसपछि मैले मेरो शरीरको भाषा बुझ्न थालेँ। शरीरमार्फत् मनको हालखबर बुझ्न थालेँ, आफूलाई बुझ्न थालेँ। शाकिराको हिप्स डोन्ट लाइ! बुझ्न थालेँ।
निर्देशक सुदाम सिकेलाई धेरै धेरै शुभकामना। तपाईंलाई पनि 'हिप्स डोन्ट लाइ' बुझ्न मन छ भने बंगलादेशबाट फर्किएपछि उबुर उबुर टिक्की हेर्न टेकु जानुहोला। बंगलादेशबाट फर्किएपछि चैत १ गतेदेखि दुई हप्ताको लागि नाटक कौसी (थिएटर) मा लाग्नेछ।
Shares
प्रतिक्रिया