ad ad

ब्लग


यी ४ प्रकारले रुसी सेनामा पुगिरहेका छन् नेपाली, मर्नु न बाँच्नुको अवस्थामा परिवार

यी ४ प्रकारले रुसी सेनामा पुगिरहेका छन् नेपाली, मर्नु न बाँच्नुको अवस्थामा परिवार

कृतु भण्डारी
चैत २३, २०८० शुक्रबार २०:१८, काठमाडौँ

रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताका लागि पहल गरिदिन गृहमन्त्रीज्यूसमक्ष रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट ध्यानाकर्षण गराउँदछ।

वैदेशिक रोजगारीको प्रलोभनमा रुसी सेनामा भर्ना हुन पुगेका नेपाली युवाको संलग्नताबारे गृहमन्त्रीज्यू अवगतै हुनुहुन्छ। रुसी सेनामा आबद्ध नेपालीका परिवारसँग जोडिएर निरन्तर विवरण संकलन गर्ने तथा नेपाल सरकारलाई जानकारी गराउने कार्य गर्दै आएका छौँ।

हालसम्म हामीले ६२० जनाको विवरण संकलन गरेका छौं, जसमध्ये ३९ जनाको मृत्यु भइसकेको छ। १८ जनाको मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी छ। २७२ जना सम्पर्कविहीन हुनुहुन्छ।

५ जना युक्रेनको कब्जामा, ११७ जना घाइते र ९ जना करार रद्द गरेका व्यक्तिहरू सम्पर्कमा हुनुहुन्छ। १५ जना रुसी राहदानीका लागि आवेदन दिएका र १९ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका व्यक्तिहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ।

हामीसँग ह्वाट्सएप ग्रुपमा जोडिएका ४२० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गर्नुहुन्छ। ती सामग्रीहरू देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ।

यस पृष्ठभूमिमा रुसबाट नेपाली दाजुभाइहरूले निरन्तर हामीलाई सम्पर्क गरी जीवनरक्षा गरिदिन अनुरोध गरिरहनुभएको छ।

ह्वाट्सएप तथा पीडित परिवारका माध्यमबाट विवरण संकलन गरिरहँदा रुसी सेनामा आबद्ध नेपालीको मृत्युको खबर अन्यन्तै भयावह र चिन्ताजनक बन्दै गएको छ।

त्यहाँबाट फर्किएका युवाले रुसी सेनामा १४ हजार ७ सय नेपाली रहेको दाबी गरिरहँदा त्यहाँको अवस्था निकै भयावह रहेको अनुमान गर्न सकिन्छ। प्राप्त अपुष्ट सूचनाका आधारमा यो संख्या यतिमा सीमित छैन भन्ने देखाउँछ।

भाडाका सिपाहीको रूपमा रुसी सेनामा नेपाली नागरिकको भर्ती र त्यसले सिर्जना गरेको जनधनको क्षतिको विषय नेपाल सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्नैपर्दछ।

आफ्ना परिवारका सदस्यलाई उद्धार गरिदिन आग्रह गर्दै हालसम्म कम्तीमा २ हजार परिवार हामीसँग प्रत्यक्ष जोडिनुभएको छ। प्राप्त विवरण तथा हामीसँग भएका सूचनालाई हामीले नेपाल सरकारलाई निरन्तर उपलब्ध गराउनुका साथै पीडित परिवारलाई सरकारसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गरिरहेका छौँ।

बिचौलियाको प्रलोभनमा परी रुसी सेनामा भर्ना हुन पुगेका नेपालीहरू रूसी राष्ट्रपतिले कानुन संशोधन गरेर एक वर्ष काम गरेका सैनिकलाई रूसी नागरिक भएर परिवारकासाथ रुसमै बस्ने सुविधा दिने भनी गरेका घोषणा, छोटो समय काम गर्दा रुसी राहदानी प्राप्त गर्ने अवसरको लोभ, महिनामा ४ लाखभन्दा बढी कमाइ हुने बिचौलियाहरूको आश्वासन, सेनामा भर्ना हुन तोकिएको उमेरको सीमा २५ वर्षबाट बढाएर ४५ वर्ष बनाएको स्थिति, दलाललाई प्रतिव्यक्ति ६ देखि १८ लाख रुपैयाँसम्म कमिसनको व्यवस्था र रुसले सेनामा सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न प्रचारमूलक सामग्रीसमेत उत्पादन गरी प्रचार लगायतका कारण आकर्षित भएर नेपाली युवा रुसी सेनामा भर्ना भएका छन्।

मानव तस्करको प्रलोभनमा झुटा विवरण घोषणा गरी रुस गएका, खाडी मुलुक तथा मलेसियामा रोजगारीमा रही थप तलबको प्रलोभनमा पारिएका, विभिन्न पेसा-व्यवसाय तथा अध्ययनको सिलसिलामा रुसमै रहेका तथा नेपाली सुरक्षा क्षेत्रमा कार्यरतसमेत गरी ४ प्रकारका युवाहरू विभिन्न माध्यमबाट रुसी सेनामा भर्ना भएको देखिन्छ।

पीडित परिवार तथा रूसी सेनाबाट फर्किएर आएका नेपाली युवाका अनुसार बिचौलियाहरू अहिले पनि नेपालमै सक्रिय छन्। उनीहरूले पीडित परिवारलाई उद्धार गरिदिन्छु भन्दै रकम मोलमोलाइ गरिरहेको पाएका छौं। नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोअनुसार दोषीउपर कारबाही गर्न विद्यमान कानुन आकर्षित नहुने भएकाले कानुन संशोधन गर्नुपर्छ।

तसर्थ, दोषीउपर कारबाही गर्न हामी गृहमन्त्रीसमक्ष जोडदार माग गर्दछौं।

रुसी सेनामा भर्ना हुन पुगेका नेपालीलाई सुरक्षा कवचको रूपमा प्रयोग गर्ने, सेना छोड्न चाहनेलाई पक्रिएर पुनः युद्धभूमिमा फर्काउने, घाइतेको राम्रो उपचार नहुने, आदेश मान्न अटेर गरेको अभियोगमा नेपालीमाथि कुटपिट लगायतका दुर्व्यवहार गरिनेजस्ता घटनाले परिवारजनलाई थप चिन्तित बनाएको छ। यो हामी सबैका लागि चिन्ताको विषय हो।

रुस र युक्रेनको युद्धमा कुनै साइनो सम्बन्ध नभएका नेपाली युवाको ज्यान गुम्ने परिस्थिति, अनि मृतकको शवसम्म पाउन नसक्ने अवस्थाका कारण परिवारका सदस्यहरू विक्षिप्त छन्। महिनौंदेखि सम्पर्क नभएका परिवारका सदस्यको अवस्था अज्ञात हुँदा एकातिर परिवारजन प्रताडित छन् भने अर्कोतिर परिवारको सम्पर्कमा भएकाहरू पनि सकुशल घर फर्किने वातावरणको पर्खाइमा छन्।

स्वदेशमा परिवारजनलाई पर्खेका अथवा मृत्युवरण गरेका परिवारजनको शवको प्रतीक्षा गरेका परिवारको पीडा कति असह्य छ, भनिरहनुपर्दैन। वास्तवमा परिवारजन मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्।

युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरूले अनाहकमा मृत्युवरण गर्नुपर्ने अवस्था, बाँचेकाहरू चाहेर पनि स्वदेश फर्कन नपाउने, जबरजस्ती युद्धमा होमिनुपर्ने बाध्यता, युद्धबन्दीको रूपमा नारकीय जीवन व्यतीत गर्न बाध्य नेपालीको अवस्था निकै नै दर्दनाक छ। यो दर्दनाक अवस्थालाई तत्काल सम्बोधन गर्न नेपाल सरकार थप क्रियाशील हुनैपर्दछ।

रूसी सेनामा रहेका नेपाली युवाको संख्या यकिन नभएको, मृत्यु भएकाको शवसमेत परिवारले प्राप्त गर्न नसकेको र सरकारले देखिने गरी केही गर्ने सक्दैन भन्ने सामाजिक मनोभावना लामो समय रह्यो भने नागरिकले राज्यलाई अन्तिम अभिभावक मान्ने विश्वासमै सन्देह सिर्जना हुने स्थिति रहन्छ।

जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएका नागरिकको उद्धार, घाइतेहरूको उचित उपचार, रुसी सेनामा रहेका नेपाली नागरिकको जीवनरक्षा र स्वदेश फिर्ताका लागि बहुक्षेत्रको पहल मार्फत रुसी सेनामा रहेका नेपालीहरुको उद्धार र सकुशल घर फिर्ताको लागि सार्थक कूटनीतिक प्रयास गरिदिन उपप्रधान तथा गृहमन्त्रीसमक्ष विशेष आग्रह गर्न चाहन्छौं।

साथै, रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारको राहतको लागि सरकारका सबै संयन्त्रलाई परिचालन गराइदिनुहुन पनि हामी आग्रह गर्दछौं।

तलका उल्लेख गरिएका कार्य तत्काल सुरु गरी नागरिकको जीउधनको सुरक्षा गरी राज्य नागरिकको अन्तिम अभिभावक हो भन्ने कुराको पुनःपुष्टि गरिदिन सम्पूर्ण परिवारजनको तर्फबाट आग्रह गर्दछौं।

१. रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था।

२. करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका व्यक्तिहरूलाई पुनः यद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउने व्यवस्था।

३. युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था।

४. युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था।

५. मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रूसी सेनाबाट पाउने तलबभत्ता उपलब्ध गराउने व्यवस्था।

६. बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउने व्यवस्था।

७. रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्ने व्यवस्था।

८. प्रलोभनमा पारी रूस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारवाही गर्ने व्यवस्था।

९. नेपालीहरुको उद्धार नभइसकेको अवस्थामा रुस जाने श्रम स्वीकृति तत्काल खारेज गर्नुपर्ने व्यवस्था।

१०. पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था।

१९. विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था।

१२. रुसी सेनाबाट फर्किएर आएका युवाको पुनर्स्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था।

१३. कूटनीतिक सम्बन्ध भएका देशहरूमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौताबिना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने व्यवस्था।

(रुसी सेनामा आबद्ध नेपालीका परिवारका तर्फबाट कृतु भण्डारीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमक्ष बुझाएको ध्यानाकर्षणपत्र)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .