ad ad

ब्लग


तिमीसँगको सम्बन्ध केही रहेन, अब सफल हुनू, खुसी रहनू!

तिमीसँगको सम्बन्ध केही रहेन, अब सफल हुनू, खुसी रहनू!

मीना खड्का
चैत २६, २०८० सोमबार १६:१८, टेक्सस

जीवन छुट्टै उचाइमा पुगेको छ। तिमी झिनामसिना कुरामा अल्झिएर बस्ने मान्छे थिएनौ। विगत फर्किएर हेर्न जरुरी लाग्दैन होला। ती किस्सा समेट्न झन् तिमीलाई फुर्सद छैन, थाहा छ।

निकै वर्षहरू बित्दा पनि मानसपटलमा किन ताजा बनिरहेको छ, त्यही अपरान्ह ४ बजेको चिया गफ। मलाई थाहा छैन। कहिलेकाहीँ सानातिना कुराले पनि मनमा ठूलो तरंग ल्याउने रहेछ। त्यसमाथि म बेकामे छु। न त कुनै उचाइ छ। न बाटो, न गन्तव्य। 

प्रेम बताइरहन जरुरी हुँदैन रे उसो त। मलाई पनि लागेको थियो, मेरो भावनालाई बिनाशब्द बुझ्नेछौ। त्यसैले मैले बताइनँ। न त जरुरी नै लाग्यो। बरु तिमीप्रतिको प्रेम मनमा बोकेर हिँडिरहेँ। जीवनका केही अप्ठ्यारा बाटोहरू।

तिमी प्रेम देखाउन सक्ने मान्छे थियौ। देशलाई प्रेम गर्छु भन्ने प्रमाणित गर्न राजनीतिमा होमिएका। र, सफल पनि भएका थियौ। राम्रो पहिचान थियो। पढाइमा टपर। राजनीतिमा सफल। 

समय नै कहाँ थियो र तिमीसँग? तर एक दिन चियाको लागि मलाई आग्रह गर्‍यौ। मैले नाइँ भनिनँ। 

तिमी एक्लैले चिया पिउँदै गफ गर्दा तिम्रा रहर र सपना सुनायौ। विद्यावारिधिको लागि राम्रो देशमा जाने। फेरि नेपाल फर्कने र देशको लागि केही गर्ने। लाग्यो, तिमी ठूलो सपना भएको मान्छे। 

त्यहाँ पुग्दा र तिम्रो गफ सुन्दासम्म म बेखबर थिएँ। आखिर के थियो कारण, मलाई बोलाउनुको। यसै पनि म धेरै बोल्ने मान्छे होइन। कुरा गर्न नै कहाँ आउने हो र मलाई! सायद आँखाहरूले केही प्रेम दर्शाउँछन् । तर फेरि तिम्रो आँखामा आँखा जुधाएर हेर्न सक्ने हिम्मत पनि त कहाँ जुटाउन सक्थेँ र मैले! 

कहिलेकाहीँ बडो साहसले तिम्रो आँखामा हेर्दा भने लाग्थ्यो, प्रेमिल आँखा नै पो हुन् कि यी? तर सकस पर्थ्यो। म छुट्याउन सक्दिनथेँ। पोखराको फेवातालमा माछापुच्छ्रे हिमाल मुस्कुराएजस्तो शालीन हाँसो हाँसिरहेको भरखरैजस्तो लाग्छ, सम्झँदा अहिले पनि। 

निकै औपचारिक गफगाफपछि फर्किने बेला मसँगै आधा बाटो हिँड्यौ तिमी। किन मसँगै हिँड्ने चाहना गरेका थियौ, थाहा छैन। तर त्यसलाई मैले बढी पो बुझेँ कि! 

लागेको थियो, केही खास छ तिम्रो मनमा मेरो लागि। तिमी पनि मैलेजसरी प्रेम गरिरहेका छौ मलाई। त्यसपछि पनि निरन्तर गफ भइरह्यो। तर उस्तै औपचारिक। त्योभन्दा अगाडि न तिमी बढ्यौ, न त म।  पहिलोपटक कामको सिलसिलामा भेट भएथ्यो। र, दोस्रो तथा अन्तिम त्यही भेट बन्यो। 

त्यसपछि पनि बेलाबेला निकै फोनमा बोल्यौँ हामी। तर कहिल्यै प्रेम दर्शाउन जरुरी ठानिनँ। चुनावी गफगाफ भए। अध्ययनबारे छलफल भयो। त्यसबाहेक अरू केही शब्द आउँदैनथ्यो। जीवनको यति लामो यात्रा तय गरेको मान्छेले यति चाँडै विवाहबारे सोचेको होला भन्ने पनि लागेन। तर ढिलो भइसकेको रहेछ। तिमी चाँडै वैवाहिक बन्धनमा बाँधियौ। 

र आज फेरि उही नामको फेस्बुक अकाउन्ट सर्च गरी हेरेँ। तिम्री श्रीमतीसहितको टीका र माला लगाएको विवाहको फोटोमा तिमी पनि मुस्कुराइरहेको देखेँ। 

मलाई थाहा छैन, तिम्रो चेतनामा मेरो कस्तो स्वरूप छ? कस्तो चित्र छ? तिमी मलाई स्मरण गर्छौ कि गर्दैनौ? कसरी गर्छौ? 

म त अस्तव्यस्त छु, हाम्रै देशजस्तै। यही ठाउँ छोडेर हिँड्ने आँट छैन। यहीँ अल्झिने आधार छ। जुन तिमीलाई थाहा छैन। म भरखरै सरकारी जागिरे भएकी छु। परिस्थितिले पलपल प्रभाव पार्नेरहेछ। कमसेकम कसैले ‘के गर्छौ’ भनी प्रश्न सोध्दा ‘जागिर छ’ भन्ने बलियो जवाफ छ मसँग। थोरधेर खुसी पनि छ। 

तिमीले जसरी ठूलो सपना देख्न मैले जानेकी छैन। चाहिने भन्दा बढी सपना देख्नु र अनावश्यक चाहना राख्नु भनेको दुखी भएर बाँच्नु हो। मेरो ठूलो कुनै सपना छैन, जुन पूरा नहोस् र दुःखी भइयोस्।

मलाई कुनै ठूलो देश जाने चाहना छैन। धनसम्पत्ति, नाम र पहिचानलाई नै सबथोक सम्झनु अनि त्यसकै लागि लागिपर्नु पनि त जित्नैपर्ने तनाव बोकेर बाँच्नु हो।

हरेक चिज बदलिँदो छ। पाइलैपिच्छे सफलताले पछ्याइरहेछ तिमीलाई। पूर्ण छात्रवृत्तिमा राम्रो देशमा विद्यावारिधिको लागि गएको सुनेकी छु। 

मैले तिमीबाट कहिल्यै प्रेमको आशा गरिनँ। न त गरेँ प्रेम नगरेकोमा गुनासो पनि। 

उसो त मलाई पटकपटक सतर्क बनाउन आमाले सधैँ मेरो इज्जतलाई संस्कार, संस्कृति र नैतिकतासँग लिएर जोड्नुहुन्थ्यो। उहाँले धेरै कुरा सही सिकाउनुहुन्छ भन्ने लाग्थ्यो मलाई पनि। र, यो कुरा यतिका वर्षपछि बताइरहँदासमेत मैले कुनै गल्ती गरेँ कि जस्तो लागिरहेछ भने तिमी आफै भन न, म कसरी बताउन सक्थेँ त्यसबेला तिमीलाई प्रेम गर्ने कुरा। 

म सम्झाउँदै छु आफैलाई। बितिरहेका वर्षहरूसँगै तिम्रो वैवाहिक सम्बन्ध कसिएको होला अझै। अब यस्ता शब्दहरूले तिमी र तिम्रो वैवाहिक जीवनमा कुनै फरक पर्दैन होला भन्ने लागेको छ। नपरोस् भन्ने कामना पनि छ। 

केही सम्बन्ध घाउ बनेर बस्छन्। खत बनेर बस्छन्। घाउ बिसेक भएपछि दुखाइ आफै हराएर जान्छ। तर मलाई कुनै दुखाइ महसुस गर्नुपरेको छैन। त्यही एउटा सानो झिल्को याद छ। जसले न जीवनमा केही बाधा गर्छ, न त यात्रामा। मान्छेहरूलाई उसको आदतहरूबाट छुटकारा पाउन मुस्किल हुन्छ। तर तिमी मेरो आदत होइन, केवल याद मात्र। 

तिमीसँग कुनै सपना सजाउने समय मिलेन। तिमी आफ्नै रफ्तारमा छौ जिन्दगीको। न बोलचाल हुन्छ, न त भेटघाट। न त गुमाउने डर, न पाउने आशा। अब तिमीसँगको सम्बन्ध केही रहेन। यही कि अब तिमी सफल हुनू, खुसी रहनू!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .