ad ad

ब्लग


विदेशमा पसिना बगाइरहेका पितालाई छोरीको पत्र : म विवेकशील भएँ बुवा!

विदेशमा पसिना बगाइरहेका पितालाई छोरीको पत्र : म विवेकशील भएँ बुवा!

जस्मिन ओझा
भदौ १७, २०८१ सोमबार १९:१९, काठमाडौँ

बुवा, आज मलाई हजुरको बेहद याद आइरहेको छ। बालापनको त्यो अबोध मलाई आजभन्दा करिब १४ वर्षअघि देश छोडेर परदेश जाँदा तपाईँकी छोरी सानी थिई। हेर्नुस् आज २३ वर्षकी सक्षम र विवेकशील नारी भएकी छ। त्यस बेला स्काइपमा बुवा, म र भाइ घण्टौँ भिडिओ च्याट गर्थ्यौँ। आजसम्म आइपुग्दा माध्यम फेरिए। तर पनि उही गतिमा अनवरत कसैगरी भर्चुअल दुनियाँमा रमाउँदै हजुरको साथ पाएछौँ।

बुवा शब्दले मेरो लागि के अर्थ राख्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न पनि सक्दिनँ। बुवाले सधैँ मलाई असल बनाउन मार्गदर्शन गर्नुभएको छ, टाढा रहेर धेरै संघर्ष गर्नुभएको छ। म कहिलेकाहीँ स्वार्थी देखिन सक्छु, रिसाउॅंछु, कराउँछु, चिच्याउँछु तर यी सबै भित्र मेरो माया लुकेको छ भन्ने कुरा तपाईंलाई थाहा छ नि हैन बुवा?

हजुरलाई थाहा छ? म सानो हुँदा, हरेक दिन बिहान उठेर हतारहतार तयार हुँदै बुवा अनलाइन आउने समयको पर्खाइ हुन्थ्यौँ। २१ औँ शताब्दी प्रविधिको विकासले हिजोका दिनमा पठाउने चिठी पत्रभन्दा आज निकै सजिलो बनाएको छ। प्रत्यक्ष नभए पनि भर्चुअल कन्फ्रेन्स मार्फत हजुरलाई शुभकामना दिनु र आशीर्वाद प्राप्त गर्नुको आनन्द छुट्टै आउँथ्यो। 

मलाई करिब युगौँको पर्खाइजस्तो लागेको थियो। पर्खाइमा बस्दाबस्दै १४ औँ वर्षमा हजुरको अनुहार हेर्ने अवसर जुऱ्यो। आजकै दिन मनाउन त पाइएन तर पनि मेरो प्रतीक्षाको फल बल्ल समाप्त भएको थियो। बुवाप्रतिको भावनात्मक प्यास मेटिएको थियो। एउटा सुरक्षित र न्यानो अँगालो भेटिएको थियो। म यसरी शब्दमा बयानै गर्न सक्दिनँ कि मलाई कस्तो अनुभूति भएको थियो। हजुरसँग करिब डेढ दशकपछि भेट्दा के प्राप्त गरेकी थिएँ। 

हरेक वर्षझैँ यो वर्ष पनि बुवासँगै बसेर यो विशेष दिन मनाउन पाइएन। म फेरि एक पटक रित्तो भएँ बुवाको सामीप्यको अभावमा तर सँगै बसी हजुरलाई खुसी दिन नपाए पनि हजुरले मप्रति गरेको विश्वास, माया, ममता र स्नेह सधैँभरि मानसपटलमा छचल्किरहेका छन्। मलाई मार्गदर्शन र ऊर्जा दिइरहेका छन्। बुवालाई सम्झिन र माया गर्न आजकै दिन कुर्न पर्छ भन्ने कुरामा मेरो सहमति छैन। हरेक दिन ‘फादर्स डे’, ‘मदर्स डे’ बन्नुपर्छ भन्ने सोचमा हिँड्ने मान्छे हुँ म।  

मजस्तै हजारौँ सन्तान होलान् जसको बुवा विदेशमा हुनुहुन्छ वा आफूभन्दा निकै टाढा आफ्ना सन्तानको सुखद भविष्यको लागि पसिना बगाउँदै हुनुहुन्छ। भोगाइका क्रममा दर्दनाक र पीडादायी समयमा जन्मदिने बुवाबाट टाढा हुनुको दुःख मभन्दा राम्रोसँग अरू कसले बुझ्ला र? भविष्य बनाउने दौडमा बुवाआमादेखि छुट्टिएर बसेका कतिपय सन्तान फादर्स डे, मदर्स डेमा इन्टरनेटको सहाराले जोडिने प्रयत्न त गर्लान् तर त्यस पछाडिको असन्तुष्ट र निन्याउरो अनुहार कसैगरी लुकाउन सकिँदैन। 

समय फेरिएको छ। क्रियाकलाप बदलिएका छन् तर आमाबुवाप्रतिको श्रद्धा र महत्व उही उचाइमा छ। उहाँहरूको अभाव उही हुन्छ। उहाँहरूप्रतिको भाव उस्तै हुन्छ। जसलाई व्यक्त गर्न सामाजिक सञ्जाल अपूर्ण छन्।

तर आफ्ना अभिभावक जति नै टाढा भए पनि मायामा भने कहिल्यै कमी हुँदैन। मैले जीवनमा प्रेम लिन सिकेँ, दिन सिकेँ, सन्तुष्ट हुन सिकेँ, दुःखका बीच हाँस्न सिकेँ, बाँडेर खान सिकेँ, अप्रत्यक्ष नै भए पनि जे सिकेँ यी कुराहरू मैले मेरो बुवाबाट सिकेँ। यसमा मलाई गर्व छ। उहाँ मबाट निकै टाढा हुनुहुन्छ तर यो कुरा लिएर सन्तुष्टि हुन्छ कि ‘जे गर्दै हुनुहुन्छ मेरो सुन्दर भविष्यको लागि सपना साँच्दै हुनुहुन्छ।’

अरूको सन्तान देखेर हजुरलाई र अरूको बुवा देखेर हामीलाई याद आउने, पीडा हुने कुरा त यथावत् छ तर ती पीडाबीच मलाई हरेक परिस्थितिसँग सामना गर्न आत्मबल हजुरको आशीर्वादले सदैव मिलिरहनेछ।

बुवा–आमाबिना आफ्नो अस्तित्व सोच्न पनि असम्भव कुरा हो। यदि उहाँहरूले जन्म नदिनुभएको भए म आज यो स्थितिमा हुने थिइनँ। सानो छँदा मैले गल्ती गर्दा बुवाले गाली गरेर कराएको अझै याद छ मलाई, विद्यालयबाट आउने बित्तिकै दौडेर चकलेट भन्दै बुवाको वरिपरि झुम्मिने म मात्र नभएर मजस्ता लाखौँ करोडौँ छोरीहरू छन्। बुवाहरूको महानता पनि त्यस्तै छ, बुवा नै संसारका छोरीहरूको लागि सच्चा नायक हुन्। यसो सम्झिँदा बुवासँगका मेरा प्रत्यक्ष यादहरू त धेरै छैनन् तर जति छन् ती मेरो नलेखिएका जीवनका किताबहरूमध्ये एउटा सुन्दर अध्याय हो। 

मलाई पाठ सिकाउने, मभित्र साहस भरिदिने, मैले नारी सशक्तीकरणको लागि गरेको अभियानलाई रोक नलगाई अझ लड्नुपर्छ भनेर हिम्मत दिने मेरो बुवालाई सलाम छ। 

बच्चादेखि आमासॅंग पुल्पुलिएर हुर्किएकी म, अरू साथीहरू बुवाको फोन आयो भन्ने बित्तिकै डराउने एउटा छुट्टै किसिमको सम्बन्ध र माया देख्दा दङ्ग पर्थें। हरेक वर्ष बुवाको मुख हेर्ने दिन आउॅंदा बुवासॅंगको फोटो पोस्ट गर्न पनि एउटै मात्र फोटो हुन्थ्यो। त्यसले गर्दापनि निराश हुन्थेँ। सौभाग्यले अघिल्लो दसैँमा मात्रै १४ वर्षपछि नजिकबाट बुवाको अनुहार हेर्ने अवसर जुर्‍यो। त्यति लामो समयपछि परिवारसॅंग भेट भएको बुवा १ महिनामै फर्कनु पर्ने भयो। यो हाम्रो लागि निकै दु:खको कुरा हो। तपाईंलाई थाहा छ? तपाईंलाई बिदा गर्न एयरपोर्ट पुगेको दिनमा जस्तो आँसु आजसम्म आएको थिएन नि!

आजको दिनमा आफ्नो सम्पूर्ण जीवन परिवारमै गुमाएका आमाबुवाहरूलाई छोराछोरीहरूले अंश र सम्पत्तिको लागि अनेकन् हर्कत गरेको देख्दा लाज लाग्छ, दुःख लाग्छ। ‘कुमालेको चक्र’ जस्तै हाम्रो जिन्दगी घुमिरहन्छ। आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन् आजका युवाले? यो गम्भीर प्रश्न बनेको छ। यो कुराहरूलाई चटक्कै नबिर्सौँ।

आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउन आफूले दुःख, कष्ट र पीडा सहँदै भोकै बसेर भए पनि निरन्तर सङ्घर्षको बाटोमा पसिना बगाइरहने सबै बुवाहरूलाई कोटि कोटि नमन! मैले पानामा कोरेका कुरालाई जानी नजानी बुवाको चरणमा पस्किएकी छु। 

बुवा, तपाईंले विदेशमा पसिना बगाउनु भएको छ र त मैले यहाँ त अनेकन छोरीहरूको लागि आवाज उठाउन पाएको छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .