मौनता के हो? होहल्ला के हो? रङ के हो? रङ्गहीनता के हो? आवाज के हो? प्रश्न के हो? जवाफ के हो? उज्यालो के हो? अँध्यारो के हो? अनि, के हो जीवन?
अझै मौन छौँ हामी। फेरि यही मौनताको मैदानमा होहल्ला मच्चिरहेको छ। आखिर कसरी? यो के भइरहेको छ? रङहरू उडिरहेका छन्। तर, खै रङहरू? जे देखिरहेका छौँ, त्यो के हो? यो सुनसान श्मशानघाटमा आखिर कसको आवाज आइरहेको छ। यहाँ बसेर आखिर को प्रवचन दिइरहेको छ? यो आवाजको अपरिहार्यता आखिर के हो? आवाज नसुनिने ठाउँमा पनि आवाज सुनिनुले आखिर के कुराको सङ्केत गर्छ?
किन हरसमय भइरहन्छ प्रश्नहरूको झरी? फेरि यो झरी झर्दा-झर्दै किन बीचैमा अड्किजान्छ? किन यी प्रश्नहरूको झरीले भुइँलाई छुँदैन? आखिर भुइँ के हो? आखिर कहाँ छ भुइँ? हाम्रो भुइँ आखिर कहाँ छ? के हामी अहिले भुइँमै छौँ? कि हाम्रो भुइँको कुनै ठेगाना छैन अहिले? के हाम्रो कुनै ठेगाना छ? अँ भन त, तिम्रो ठेगाना कहाँ हो? थाहा छैन? मलाई पनि थाहा छैन। त्यसैले घोत्लिरहेको छु वर्षौँवर्षदेखि जीवन-चिन्तनको गुफामा। हेरिरहेको छु यो गुफाका हरेक चित्रहरूलाई। यहाँ लेखिएका एक-एक अस्पष्टताहरूलाई। यहाँबाट कुदेका एक-एक बाटाहरूलाई। ती बाटाहरू, जुन छन् पनि, छैनन् पनि।
उज्यालो हुनु भनेको के हो? अँध्यारो हुनु भनेको के हो? कहाँ उज्यालो छ? कहाँ अँध्यारो छ? मेरो एउटा साथी भन्छ, ‘म रातबाहेक कहीँ पनि उज्यालो देख्दिनँ।’
अनि भन्छ, ‘कुनै यस्तो दिन छैन जब मैले उज्यालो देखेको होओस्।’ आखिर के भनिरहेको छ यस्तो मेरो साथीले? के उसलाई मानसिक वार्डमा भर्ना गरिदिनुपर्छ? वास्तवमा ऊ आकाशमा देखिने कमलको फूलजस्तै छ, जसलाई अरू कतिले बाघको मुहार अथवा बाख्राको पुच्छर भनेर अर्थ लगाइदिन्छन्। अर्थ न हो, जे लगाइदिए पनि हुन्छ। फेरि कहिलेकाहीँ अर्थहरूले राजधानीको मुख्य चोकमा गएर आन्दोलन पनि गर्छन्। फेरि आन्दोलन केका निम्ति? यसको उपलब्धि आखिर के हो? यो कुराचाहिँ कसैलाई पनि थाहा छैन। के यो मजाक हो? सायद हो।
जीवनको सांग्रिलामा बस
ध्यानमग्न भएर हेर दूर-दूरसम्म
बुद्ध भएर हेर आफ्नै जीवनका-
चियाबगानहरू
वनजङ्गलहरू
पहाडहरू
नदीहरू
पक्षीहरू
फूल र काँडाहरू
घडीजसरी जीवन पनि कुदिरहन्छ। कुनै खोलाजसरी बगिरहन्छ। हावाजसरी बहिरहन्छ। वृक्षजसरी बढिरहन्छ। चित्रजसरी फैलिइरहन्छ। रङजसरी पोखिरहन्छ।
हातमा जीवनको गिलास समातेको छु। आखिर यो गिलास किन खाली छ? यो गिलासमा केचाहिँ हुनुपर्थ्यो? रिक्त हुनु भनेको आखिर के हो? के हाम्रो जीवन भरिएको हुन्छ? वास्तवमा हातमा जे समाएको छु, त्यो गिलास नै हो कि मेरै जीवन? फेरि यो रिक्तताले भरिएको गिलास पनि किन यति गह्रौँ? यति गह्रौँ त मेरो हृदय पनि छैन। यति गह्रौँ त मेरो मस्तिष्क पनि छैन।
फेरि हामी कहाँका हौँ? बाहिरका कि भित्रका? किन हामी देख्न सकिरहेका छैनौँ आफैँभित्रका आफैँलाई? आखिर हाम्रो स्व किन बरालिरहेको छ यसरी? मानौँ, ऊ बेवारिसे हो। के हाम्रो स्व अनि निजत्व वास्तवमै बेवारिस हो? किन अँगाल्न सक्दैनौँ हामी आफ्नै स्वत्वलाई जुन हाम्रो असली मुहार हो? जहाँ हाम्रो असली ठेगाना खोपिएको छ।
एकछिन ध्यानमग्न बनौँ, अनि हराऔँ हामी। अनि खोजौँ आफैँलाई। खोजौँ आफ्नो घर। खोजौँ आफ्नो ठेगाना। खोजौँ आफ्नो आकाशलाई। खोजौँ आफ्नो धरतीलाई। खोजौँ आफ्नो जीवन अनि जीवनका सम्पूर्ण अस्पष्ट आयामहरूलाई।
जीवनको दौडमा यसरी कुद्छौँ हामी, हामीलाई कुद्दाकुद्दै आफैँ छुटिगएको पनि थाहा हुँदैन। थाहा हुँदैन, आखिर हामी किन कुदिरहेका छौँ? हामीलाई कहाँ पुग्नु छ? के पाउनु छ? पाउने चक्करमा यसरी हामी आफैँलाई मात्र होइन, सबै-सबै थोक गुमाउछौँ। गुमाउछौँ- जीवनका तमाम रहस्य अनि चैतन्यलाई।
जीवनको हावा हरक्षण चलिरहेको हुन्छ। जहाँ पनि चलिरहेको हुन्छ। बाहिर पनि चलिरहेको हुन्छ। भित्र पनि चलिरहेको हुन्छ। जहाँ पनि पसिरहेको हुन्छ यो हावा। यो हावाले हाम्रो जीवनका हरेक वृक्ष अनि पातहरूलाई ममत्त्वसमान सुम्सुम्याइरहन्छ। तर, के हामी यो कुरालाई गहिरोगरी आभास गर्छौँ? त्यो कुरा छाँडौँ, के हामीभित्र गहिराइ छ? के हामी कुनै कुरा अनुभूत गर्नसक्छौँ? के हामीभित्र अनुभूतिको गहिरो कुवा छ?
हाम्रो सास चलिरहेको छ। हाम्रो धड्कन चलिरहेको छ। हाम्रो जीवन चलिरहेको छ। के साँच्चि हो यो कुरा? म घोत्लिइरहेको छु।
Shares
प्रतिक्रिया