ad ad

ब्लग


अमेरिकामा ममता र मुनाको हत्यापछि त्रसित दिदीबहिनीका नाममा

अमेरिकामा ममता र मुनाको हत्यापछि त्रसित दिदीबहिनीका नाममा

अमेरिकामा हत्या गरिएका ममता काफ्ले र मुना पाण्डे


मीना खड्का
भदौ १८, २०८१ मंगलबार २२:१२, टेक्सस, अमेरिका

बितेको महिना मन खिन्न भयो। नराम्रो खबरहरुले गर्दा काममा राम्रोसँग ध्यान दिन सकिएन। भर्खरै अमेरिकामा सार्वजनिक भएका दुई भयानक घटनाले सपनामा समेत तर्साइरहे। भर्जिनियामा ममता काफ्ले भट्टको समाचार सेलाउन नपाउँदै फेरि यता म बसेकै ठाउँ टेक्ससमा मुनाको हत्या भयो। ममताको घटनापछि धेरै दिदीबहिनीहरुले यस्तै त्रासको जीवन बाँचिरहेका बताइरहेका छन्।

अमेरिकाको हाम्रो नेपाली समाजमा डरलाग्दो स्थिति सिर्जना भएको मैले महसुस गरेँ। दुई हत्या प्रकरणसँगसँगै विभिन्न प्रश्न उब्जिएका छन्। मान्छेहरू यही विषयमा आ–आफ्ना विचार सञ्जालमा प्रकट गरिरहेका छन्।

केही मृतकको न्यायको लागि लडिरहेका छन् भने कोही यी घटनालाई सामान्यीकरण गर्नतिर लागिपरेका छन्। यसरी हेर्दा के लाग्यो भने केही अपराधी जेलभित्र छन् भने केही जेलबाहिर। यहाँ व्याप्त क्रूरता देखेर उकुसमुकुस भइरहेको छ। आफ्नै ख्याल गर्न सकिइरहेको छैन। अनायस पसिना आउँछ। दिक्क लाग्छ। रिस उठ्छ। अन्यायमा परेकाहरुको लागि केही गर्न सकिएन भन्ने पश्चाताप र हीनताबोध हुन्छ। कानुनभन्दा माथि केही हुँदैन। हामीले त गर्न सकिने पनि केही रहेनछ। सक्ने भनेको सूचित गराउने मात्र रहेछ।

मलाई थाहा छ, आ–आफ्ना अभिव्यक्तिहरु राख्न पाइन्छ। कतिपयले राम्रो सन्देश र जानकारी दिइरहेका पनि छन्। जो धन्यवादका पात्र हुन्। 

तर धेरै आपराधिक मनस्थिति भएकाहरु अपराध गर्नेको पक्षमै बोलिरहेका छन् अझैसम्म। 

ममता काफ्लेको शव लुकाएको मुद्दामा नरेश भट्ट पक्राउ परिसकेका छन्। महिनौँअघि भट्टले कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ’ भनेर सर्च गरेको प्रमाण भेटिइसकेको छ। बेडरुम र बाथरुममा भेटिएको रगतको मात्रा हेर्दा ममता काफ्लेलाई जीवित नरहनेगरी चोटपटक लागेको प्रिन्स विलियम काउन्टीकी सरकारी वकिल सारा सामीले अदालतसमक्ष बताएकी थिइन्। यतिधेरै सङ्केतहरु देखिइसकेका छन् कि अब शवबिना पनि नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाइ छ। 

यसरी योजनाबद्ध तरिकाले हत्या गरेको धेरैलाई थाहा भइसकेको अवस्था छ। तर केही मान्छेहरुले भनिरहेका छन्– ‘केही कारण थियो होला। त्यही भएर त मारेको होला। बिनाकारण त किन मार्थ्यो!’

यस्ता अनर्गल बोलेर बनाइएका भिडिओ र त्यसमा समर्थन गर्दै कमेन्ट गर्नेहरुको भिड देखेपछि छोरीहरुको सुरक्षा र यस्ता चेतना भएका व्यक्ति जन्माउने समाजप्रति गम्भीर प्रश्न उठेको छ। 

ममताको सन्दर्भमा कतिपयले यस्तो घरेलु हिंसालाई लुकाएको कारणले उनको हत्या भयो भनिरहेका छन्। कतिपयले उनको श्रीमानको आपराधिक मानसिकताको कारणले यस्तो घटना भएको भनेका छन्।

कतिपयले चाहिँ पीआर र ग्रिनकार्डवाला केटाहरू देखेर लोभले विचार नै नगरी हतारहतार आफूभन्दा बढी उमेर भएको मान्छेसँग बिहे गरेको कारणले यस्तो घटना भएको हो समेत भनेका छन्। 

जसले पीआर र ग्रिनकार्डवाला केटासँग बिहे गर्दा यस्ता समस्या हुन्छन् भनेका छन्, उनीहरुलाई मेरो प्रश्न छ– कुनै पनि कुरा बोल्नु भन्दाअघि यथार्थ के हो बुझ्नु भयो?

बुझ्नुभएको छैन भने बुझ्नुस्– ममता आत्मनिर्भर छोरी हुन्। नेपालमा नर्सिङको विद्यार्थी थिइन्। र, अमेरिकामा रजिस्टर्ड नर्स थिइन्। आफैँमा निर्भर भइसकेको व्यक्तिलाई अरुको कमाइको आश हुँदैन। केवल आफू र आफ्नो कर्मप्रति विश्वास हुन्छ। याद रहोस्। ममता सक्षम थिइन्। 

र, अब हामीले बुझ्नुपर्छ, एउटा सक्षम महिलाको हत्या गरियो। उनको साहस, क्षमता र सक्षमतालाई स्वीकार्न नसक्ने पुरुषवादी र आपराधिक मनोविज्ञान भएको व्यक्तिले उनको हत्या गरेको हो। 

यदि ममताको मृत्युलाई पीआर र ग्रिनकार्डसँग जोड्नुहुन्छ भने नेपालमा जिउँदै श्रीमतीलाई जलाएका घटनाहरुलाई केसँग जोड्नुहुन्छ? मलाई जवाफ दिन सक्नुहुन्छ? 

पतिपत्नीबीचमा कुरा नमिलेको कारणले यसअघि पनि ममता साथीकहाँ गएर बसेकी थिइन्। र, सम्बन्धमा अब बस्न नसक्ने भन्दै डिभोर्स पनि मागेकी थिइन्। छोरीले आफ्नै क्षमताले आफ्नो रोजाइको जीवन बाँच्न खोज्दा मर्नुपर्ने? यो कस्तो नियति हो?

पतिलाई मालिक मान्नु उसको सेवा गर्नु पतिधर्म हो भन्ठान्ने। पाले पूण्य मारे पाप भनेर सिकाउने। एउटा पितृसत्तात्मक समाजमा हुर्केको पुरुष चेतले मारेको हो ममतालाई। अब यो स्वीकार्नैपर्छ। 

मार्नु पाप मात्रै होइन। जघन्य अपराध हो। र, यो अधिकार कसैलाई छैन। जुन कुरा अब कानुनले सिकाउनु पर्छ। 

यो अपराध एउटा व्यक्ति मात्रैले होइन, यही सोच भएको समाजले गरेको हो। हत्यापछि पनि अपराधलाई सामान्यीकरण गरिनुले हाम्रो समाजको यथार्थ चित्र छरपस्ट भइरहेको छ। कृपया, यसलाई रोकौँ। 

बिहे गरेर विदेश आएकी एउटी छोरी मान्छे। जसको यो बिरानो ठाउँमा उही एक श्रीमान् नै साथी र अभिभावक हुन्छ। जबकि बुबाआमापछि धेरै विश्वास र आफूलाई सुरक्षित महसुस गर्ने भनेको नै श्रीमान् र उसको परिवारसँग हो। तर कसले सोच्न सक्छ श्रीमतीसँग छुटकारा पाउनकै लागि कसैले यतिसम्म क्रूर व्यवहार गर्न सक्छ भनेर?

प्रेम गरेर बिहे गरेको मान्छेसँग नै सतर्क हुनपर्ने अवस्था कति भयावह र डरलाग्दो हुनसक्छ। तपाईं कल्पनासम्म गर्न सक्नुहुन्छ? 

आफू सुरक्षित छैन जस्तो लागेपछि के उनले कसैलाई बताएकी थिइनन् होला? तर त्यसबेला कसैले साथ दिएको भए!

पटकपटक सम्बन्ध बचाऊ, सम्बन्धबिच्छेद गर्दा तिम्रो इज्जत जान्छ भन्नुको साटो तिम्रो साथमा म छु मात्रै भनिदिएको भए!

घरमा खुसी छैन भने आमाबुबा र समाजको इज्जत भनेर बस्न बाध्य नबनाइएको भए!

के आज यस्तो समय आउने थियो त? अवश्य आउने थिएन।

हरेक आमाबुबाले छोरीलाई हुर्काइसकेपछि यत्ति त भन्ने हिम्मत राख्नुपर्छ– तिमी भय र त्रासको सम्बन्धमा छौ भने बाबुको इज्जत जाला कि भन्ने डरले, आमाले पीर मान्लिन् कि भन्ने डरले, समाजले के भन्ला भन्ने सोचले, भोलि मेरो जिन्दगी के होला भन्ने चिन्ताले जबर्जस्ती सम्बन्धमा नबस। त्यस्तो कुरुप सम्बन्धबाट बाहिर आऊ। हामी छौँ तिम्रो साथमा। 

साथीहरूले पनि भनून्– म छु तेरो लागि। 

नत्र मलाई गाह्रो भयो भनेर कसैलाई सुनाउन नपाउँदै, पीडा पोख्न नपाउँदै, सम्बन्ध जोगाउन खोज्दाखोज्दै यसैगरी आफ्नै मान्छेले योजनाबद्ध ढंगले बेपत्ता बनाइदियो भने के अर्थ रहन्छ इज्जतको?

आफ्नो आँखाको नानी बनाएर हुर्काएकी तपाईंकी छोरीलाई कसैले एकनिमेषमै निमोठेर फ्याँक्न सक्ने रहेछ। त्यसैले समयमै सोध्नुस्। 

के थाहा तपाईंका छोरी, बहिनीहरु पनि ममताजस्तै भय र डरमै बाँचिरहेका पो छन् कि? तीज नजिकै आउँदैछ। माइत आएका प्रत्येक छोरीलाई सोध्नुस्– कस्तो छ? के थाहा मुस्कुराइरहेको सबै अनुहार खुसी नहुन पनि त सक्छ, होइन र? 

समाजले त जिउँदो हुँदा पनि शान्तिले बाँच्न दिँदैन। न त मृत्युपछि नै लुटिएको उसको परिवारको दुःख देख्छ। बरु उल्टै घाउमा नुन छर्किन्छ। 

यता मुनाको सन्दर्भमा पनि उस्तै छ कुरा। ‘सुगर ड्याडी रहेछ। त्यसैले मारेको रहेछ’ समेत भन्न पछि परेका छैनन् मान्छेहरु।

एउटा छोरी मान्छेले के गर्ने, के नगर्ने यो नितान्त उसको व्यक्तिगत कुरा हो। कुनै पनि मानिसलाई अर्को मानिसको हत्या गर्ने अधिकार छैन। 

हामी त मान्छे हौँ। जानअञ्जानमा गल्ती हुँदा माफ माग्न सक्छौँ। तर अपराधीले साथी, संगाती, नातागोता, घर परिवार केही भन्दैन। त्यसकारण कुरा मिलिरहेको छैन, सम्बन्ध अब अगाडि बढ्न सम्भव छैन भने सम्बन्ध तोडेर अलग भएर बाँच्न पाउनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .