Draft


प्रचण्डका पाँच चुनौति : कमाण्डबाटै हाँकेका दाहाललाई जटिल हुनसक्छ समिति पद्दति

प्रचण्डका पाँच चुनौति : कमाण्डबाटै हाँकेका दाहाललाई जटिल हुनसक्छ समिति पद्दति

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १४:२४,

गत साता राष्ट्रिय युवा संघको पहिलो केन्द्रीय कमिटीको सपथग्रहण तथा बैठकको शुभारम्भ गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माले भने– ‘दुई सिंह एउटा जंगलमा बस्दैन भन्थे। हामी सँगै बसेका छौं।’

ओलीको यस्तो भनाइ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको सम्बन्धप्रति लक्षित थियो।

दुई अध्यक्षबीचको कार्यविभाजनको विषय निकै जोडसँग उठिरहेको र दुवैबीच सरकारलगायत समग्र ‘पावर सेयरिङ’ का लागि चलेको तीव्र रस्साकस्सीबारे व्यापक चर्चा भइरहेका बेला ओलीको सो प्रतिक्रिया आएको थियो।

तर त्यसको एक साता नबित्दै सत्तारुढ दल नेकपाको सचिवालयले बुधबार ‘दुई सिंहबीचको सीमा’ अलि छुट्याइदियो।

संगठनात्मक र वैचारिक रुपमा संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको नेकपा, दुई अध्यक्षबीचको कार्यविभाजनपछि अर्को एउटा नयाँ चरणमा प्रवेश गरेको छ।

योसँगै कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका दाहाल सामु चुनौतिको चाङ पनि थपिएको छ।

ओलीसँगको सम्बन्ध

पार्टी अध्यक्ष दाहालका लागि सरकारको कमान्ड सम्हालेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध कसरी अघि बढ्छ त्यस विषयले धेरै कुरा निर्धारण गर्नेछ। बरियताक्रममा एक र दुई नम्बरमा रहेका दुवै अध्यक्षलाई समान हैसियतका भनिए पनि दाहाल यो पुरै अवधी ओलीको छायाँमै रहे।दाहालले कार्यविभाजनको विषय निरन्तर उठाइरहेपछि ओलीले दाहाललाई यो अवधीमा लतार्दै आएका थिए। अहिले आएर दाहालले पार्टीको सशर्त जिम्मेवारी पाएका छन्।

‘अहिले पनि पुरै रुपमा ओलीले पार्टी अध्यक्षको जिम्मेवारी छाड्ने पक्षमा छैनन्। कार्यविभाजन सम्बन्धमा गरेको निर्णयले पनि त्यो देखाउँछ,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने, ‘माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमसँग प्रचन्डको राम्रो सम्बन्ध रहेको छ। त्यसमा समस्या नहोला। तर प्रचण्डले ओलीसँगको सम्बन्धलाई कसरी सन्तुलनमा राख्छन, यो नै प्रमुख विषय हो।’ श्रेष्ठका अनुसार पार्टी शीर्ष नेताहरुले प्रचण्डलाई नेताको रुपमा स्वीकार्लान। तर पुरै एमालेकै एउटा ठूलो पङ्तीबीच स्वीकार्य हुनका लागि समस्या पर्न सक्छ, जुन एउटा ठूलो चुनौति हो।

गुटको व्यवस्थापन

पूर्ववत् पार्टीका गुट तथा तत्कालिन उपगुटहरु एकिकृत पार्टीमा समेत सक्रिय छन्। मोहन वैद्य किरण र बाबुराम भट्टराईको तत्कालिन माओवादी पार्टीबाट बार्हिगमनपछि माओवादीभित्र प्रचण्डलाई चुनौति नै दिनसक्ने शक्ति रहेन। तर गुटहरु सक्रिय भने थिए। जसमा नारायणकाजी श्रेष्ठको पूर्व एकताकेन्द्र पृष्ठभूमिको गुट र अर्को रामबहादुर थापा वादलको जो वैद्यसँग पार्टी फुटाएर गए तर पछि वरिष्ठ नेताहरुको एउटा समूहसहित दाहालकै दलमा फर्के। अरु दोस्रो तहका प्रभावशाली नेताहरुका आ–आफ्नै उपगुटहरु पनि सक्रिय छन्।

नेकपाभित्र शीर्ष नेताहरुको छुट्टाछुट्टै शक्तिशाली गुट रहेको छ। एमालेभित्र ओलीबाहेक, महाधिवेसन देखिकै माधवकुमार नेपालको प्रभावशाली गुट छ। त्यत्तिकै शक्तिशाली नभएपनि आन्तरिक राजनीति र समिकरणलाई बेलाबेला उलटपालट पार्ने व्यक्तिको रुपमा चिनिने बामदेव गौतम वरिपरि एउटा समूह सँधै रहन्छ। पार्टी र सरकारको नेतृत्वले कहिले पनि कम आँक्न नहुने व्यक्ति हुन् गौतम। ओलीलाई पार्टी अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका गौतम अहिले पनि उत्तिकै सक्रिय र महत्वाकांक्षी छन् गौतम।

ओली र नेपाल गुटभित्रै पनि छुट्टाछुट्टै उपगुटहरु निकै सक्रिय छन्। त्यसलाई व्यवस्थापन गरेर केन्द्रदेखि तल्लो तहसम्म पार्टी पद्धतिअनुसार सञ्चालन गर्नु निकै चुनौतिपूर्ण छ। ‘नेकपामा अब शुरु हुने मुख्य कसरत भनेको महाधिवेशनका लागि शक्ति सञ्चय हो। त्यसका लागि सबै गुट–उपगुट मरिमेटेर लाग्नेछन्। अन्तरविरोधलाई समाधान गर्दै पार्टी सञ्चालन गराउनु पर्ने हुन्छ’ राजनीतिक विश्लेषक झलक सुवेदीले नेपालखबरसँग भने, ‘दाहालका लागि पार्टीको केन्द्रदेखि तल्लो कमिटीसम्म सहज रुपमा सञ्चालन हुने अवस्था सिर्जना गरेर मात्रै पुग्दैन, पार्टीको समर्थकहरुलाई पनि यसमा सहभागी गराउनु पर्ने चुनौति छ।’

दाहालका लागि ओली, नेपाल र पूर्वमाओवादीबीचको सन्तुलन नमिलाइकन उनले आफूले मात्रै एकपक्षीयरुपमा पार्टी सञ्चालन गर्नसक्ने स्थिति छैन।

संगठन र विचार निर्माणको चुनौति

एकीकरणको १८ महिनापछि पार्टी केन्द्रदेखि जिल्ला तहसम्म बल्ला पार्टीको प्रमुख संरचना निर्माण भएको छ। तर, वैचारिक अस्पष्टता अझै कायम छ। एकता महाधिवेसनबाट वैचारिक लाइन प्रष्ट पार्ने भनेर नेतृत्वले सैद्धान्तिक विषय सल्टाउनुको साटो पर सारेपछि अहिले दुवै पक्षका कार्यकर्ता बैचारिकरुपमा अन्योलमा छन्। जतिजति महाधिवेसन नजिकिँदै जान्छ, त्यति नै बैचारिक विषय थप मुखर भएर आउनेछ। एमालेको ठूलो पंक्ति जनताको बहुदलीय जनवादसँग भावनात्मक रुपमा जोडिएको छ भने उता सशत्र विद्रोहबाटै आएका माओवादी कार्यकता पंक्तिमा जनयुद्धको धङधङी बाँकी नै छ। यो विषयले कुनै पनि मोडमा संवेदनशिल वा आक्रामक रुप लिनसक्छ। महाधिवेसनको रस्साकस्सीका बेला सबै प्रतिस्पर्धी तत्कालिन जोडघटाऊको अश्त्रको रुपमा प्रयोग गर्नसक्छन् भने पार्टी नेतृत्वमा रहेका दाहालले त्यो विषयलाई कति संयम र कुशलतापूर्वक सल्टाउनसक्छन् भन्ने अर्को जटिल विषय हो।

भातृ संगठनहरुको संरचना पूर्ण रुपमा निर्माण भइसकेको छैन। ठूला भातृ संगठनमा जिल्लाका नेतृत्व तोक्नेमा राष्ट्रिय युवा संघ मात्रै रहेको छ। कतिपय भातृ संगठनको केन्द्रीय समिति समेत बन्न सकेको छैन। पार्टीका केन्द्रीय नेतालाई विभाग तोके पनि अन्य सदस्यहरु चयन भएकै छैनन्। कुनैपनि भातृसंगठनका संरचनाले पूर्णता पाएका छैनन्।

जिल्ला कमिटीहरुमा विवाद उत्तिकै छरपष्ट छ। प्रदेश दुईको समस्या सबैभन्दा जटिल छ। त्यहाँका पूर्व माओवादीबीचमैं ठूलो विवाद छ। बादल समूह भित्रिएपछि देशभर समायोजन भएपनि प्रदेश दुईका माओवादी जिल्ला कमिटी गठन नै हुन सकेको थिएन। एमालेतर्फका नेता पनि प्रदेश दुई मा अन्यत्रभन्दा बढि विभाजित छन्।

समयमा महाधिवेशन

पार्टी अध्यक्षको रुपमा प्रचन्डका लागि अर्को चुनौति हो–समयमा महाधिवेशन सम्पन्न गर्नु। नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा एक वर्षभित्र एकता महाधिवेशन गर्ने घोषणा गरिएको थियो। तर दुई वर्षमा पनि महाधिवेसन हुन नसक्ने निश्चित भैसकेको छ।

पार्टीलाई संगठनात्मक र वैचारिकरुपमा सुदृढ बनाउनका लागि समयमा एकता महाधिवेशन गरि नेतृत्व चयन र वैचारिक प्रष्टता हुनु आवश्यक छ। तर पार्टीभित्रका मुख्यत तीन पक्ष (दाहाल, ओली र नेपाल) बीच महाधिवेसनका लागि सहकार्य नभएसम्म यी विषय सल्टिने छैन।

लामो समय महाधिवेशन गरेर लोकतान्त्रिक विधिबाट नेतृत्व छनोट गर्न नसकेमा पार्टीको वैधानिकता र नेतृत्वको हैसियतमा समेत प्रश्न उठ्नेछ।

फरक स्कुलिङ

करिब पाँच दशक लामो निरन्तर फरक धारको राजनीतिपछि नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएको हो। एमाले पुष्पलाल श्रेष्ठ र माओवादीहरु मोहनविक्रम सिंहको स्कुलिङबाट हुर्के। एमाले लामो संसदीय राजनीतिबाट आयो भने माओवादी सशस्त्र विद्रोहपछि पूर्णरुपमा खुला राजनीतिमा जोडिएको धेरै समय भएको छैन।

माओवादी र एमालेको पार्टी सञ्चालनको अभ्यास पनि फरक छ। माओवादीमा पार्टी सञ्चालन मुख्यतः कमाण्ड पद्धतिबाट सञ्चालन हुँदै आएको हो भने एमाले संगठन मुलतः समितिको पद्धतिबाट निर्देशित थियो। ‘कमाण्ड पद्धतिमा नेतृत्वले बोलेपछि सकियो। तर संगठन पद्धितबाट चल्नेमा नेताहरुबीच तीव्र मतभेद हुन्छ। सबैले कुरा राख्छन् तर निर्णय चाहिँ कमिटिबाटै हुन्छ,’ श्रेष्ठले भने, ‘कमाण्ड पद्धतिमा पार्टी हाँकेका नेतालाई कडा संगठनात्मक पद्धतिमा पार्टी चलाउन चुनौतिपूर्ण हुन्छ।’ त्यसले पूर्व एमाले पंक्तिसँग पार्टी सञ्चालनको विषयमा मतभेद हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .