कारोबार


५५ वर्षअघि नेपालमा मर्सिडिज कार बेच्थे गौतमदास श्रेष्ठ

५५ वर्षअघि नेपालमा मर्सिडिज कार बेच्थे गौतमदास श्रेष्ठ

स्वर्गीय गाैतमदास श्रेष्ठ।


वसन्त अर्याल
कात्तिक ८, २०७८ सोमबार १७:५४, काठमाडौँ

नेपालमा मर्सिडिज बेन्ज ८२ वर्षअघि उपहारको रुपमा र ५५ वर्षअघि व्यावसायिक बिक्रीवितरण हुने गरी भित्रिएको थियो। 

सन् १९३९ तिरै अर्थात् दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) का बेला जर्मन शासक हिटलरले तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमशेरलाई २ वटा मर्सिडिज कार उपहारका रुपमा पठाएका थिए। 

राजा त्रिभुवनलाई दिएको मर्सिडिज कार त अहिले पनि नारायणहिटी दरबार संग्रहालयमा सुरक्षित नै छ।  

तर ५५ वर्ष अघिदेखि भने पहिलोपटक यो विलासी जर्मन अटो ब्रान्ड नेपालमा व्यावसायिक रुपमै बिक्रीवितरण हुनथालेको हो। 

त्यतिबेला यसको बिक्रीवितरण थाल्नेमध्ये एक थिए– व्यवसायी गौतमदास श्रेष्ठ।  

उनै श्रेष्ठको सोमबार ८३ वर्षको उमेरमा निधन भएको छ।  

श्रेष्ठ लामो समययता कलेजो क्यान्सरबाट संक्रमित रहेका थिए।

वि.सं. २०२३ सालमा दीपकबहादुर सिंहसँगको साझेदारीमा श्रेष्ठले नेपालमा मर्सिडिज बेन्ज भित्र्याएर बिक्री थालेका थिए। 

उनीहरुको ‘दीपक गौतम कम्पनी’ नै नेपालमा मर्सिडिज बेन्ज बिक्री गर्ने आधिकारिक कम्पनी थियो। 

नेपालको राजपरिवारका सदस्यलाई समेत यही कम्पनीले मर्सिडिज कार उपलब्ध गराउँथ्यो। 

कम्पनीले उपलब्ध गराएका मर्सिडिजमा राजपरिवार सदस्यहरु हुइँकिन्थे। 

त्यतिमात्र होइन, प्रधानमन्त्री, मन्त्रीहरु, विदेशी राजदूतावासमा समेत गौतम दासकै कम्पनीले मर्सिडिज कार बिक्री गथ्र्यो। 

तर वि.सं. २०६३ मा मर्सिडिज बेन्जको साझेदारीबाट गौतम दासले हात झिकेको बताउँछन् हाल दीपक गौतम एन्ड कम्पनी प्रालिका व्यवस्थापक सुरेन्द्रराज श्रेष्ठ। 

‘गौतमदास श्रेष्ठ २०६३ सालबाट छुट्टिनुभएको हो’, श्रेष्ठले नेपालखबरसँग भने, ‘उहाँले साझेदारी छाडेपछि कम्पनीको नाम परिवर्तन भएको छ।’

हाल काठमाडौंको सुकेधारामा मर्सिडिज बेन्जको शोरुमसँगै सर्भिस सेन्टर समेत छ। 

मर्सिडिज बेन्जका जीएलबी, जीएलसी, सी क्लास, डी क्लास ई क्लासलगायतका मोडल नेपाल भित्रिरहेको कम्पनीले जनाएको छ। 

मर्सिडिजका सामान्य गाडीको समेत मूल्य १ करोड ७५ लाखदेखि ३ करोडसम्म छ। मर्सिडिज लक्जरियर्स गाडी ७ करोड रुपैयाँसम्म नेपालमा बिक्री हुँदै आएका छन्। 

मर्सिडिज कार । तस्बिर : माेटर्स नेपाल

होटल व्यवसायीका अभिप्रेरक
श्रेष्ठले सन् १९६० मा फ्रान्सबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका थिए। त्यसपछि नेपाल फर्किएसँगै उनको व्यावसायिक यात्रा सुरु भएको थियो। 

दीपकबहादुर सिंहकै साझेदारीमा श्रेष्ठले दरबारमार्गमा शेर्पा होटल सञ्चालन गरेका थिए। उक्त होटल हाल शेर्पा मलमा परिणत भएको छ। 

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह १९६० को दशकमा होटल उद्योगलाई अघि बढाउन श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउँछन्।  

‘उहाँले शेर्पा होटल सञ्चालन गरेर होटल क्षेत्रमा नयाँ दिशा दिनुभएको थियो’, शाहले नेपालखबरसँग भने, ‘१९९३ मा हानको अध्यक्ष हुनुभयो। होटल क्षेत्रलाई व्यावसायिक रुपमा फस्टाउन उहाँको ठूलै योगदान छ।’

श्रेष्ठ हानको छैठौँ अध्यक्ष बनेका थिए। उनका दुई छोरा सञ्जीव र राजिव छन्। चितवनमा श्रेष्ठको नारायणी सफारी सञ्चालनमा छ। हाल उनका छोराले उक्त होटल सञ्चालन गरिरहेका छन्। 

‘त्यो बेलाको परिस्थितिअनुसार होटलमा ठूलो योगदान गर्नुभएको छ’, शाह भन्छन्, ‘उहाँकै प्रेरणा र उहाँसँगै काम गरेका धेरै अहिले होटल व्यवसायी बनेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .