कारोबार


गौतमबुद्ध विमानस्थल : भारतले नयाँ हवाइ प्रवेशविन्दु नदिएपछि सिमराकै भर

मंसिर ६ गते एराेथाईकाे विमानले गर्दै छ क्यालिब्रेसन फ्लाइट
गौतमबुद्ध विमानस्थल : भारतले नयाँ हवाइ प्रवेशविन्दु नदिएपछि सिमराकै भर

वसन्त अर्याल
कात्तिक २३, २०७८ मंगलबार १९:६, काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित उडानको लागि सिमराकै हवाइ प्रवेशविन्दु प्रयोग गर्नुपर्ने भएको छ। 

भारतले सिमरा पश्चिमका कुनै पनि प्रवेशविन्दु नदिएपछि भैरहवा विमानस्थलले सिमरा नै प्रयोग गर्नुपर्ने बाध्यता भएको हो। 

नेपाल सरकारले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाइ प्रवेशविन्दु माग गरे पनि भारत यसका लागि हालसम्म तयार भएको छैन। 

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थल परीक्षणको तयारी भइसक्दा नेपालले माग गरेका ती प्रवेशविन्दु अझै पाएको छैन। 

आगामी मंसिर ६ गते एरोथाईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न नेपालमा जहाज ल्याउने तयारी गरिसकेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान परीक्षणको लागि हवाइ रुटले कुनै समस्या नहुने उल्लेख गरेको छ। प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले परीक्षण उडानको लागि हवाइ रुटले समस्या नपार्ने दाबी गरे। 

‘परीक्षण उडान अहिले भएकै रुटबाट हुन्छ। प्राधिकरणले अहिले उपलब्ध रुटअनुसार लाइन कोरेको छ’, कर्णले नेपालखबरसँग भने, ‘हामीले निर्धारण गरेको रुटअनुसार जहाज चलाउन सकिन्छ वा सकिँदैन भन्ने परीक्षण हुन्छ।’

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेलले भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा समस्या हुने देखिए पनि समाधान भएको बताए। 

‘गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्ने विधिअनुसार भारतीय सीमा छुने हुनाले समस्या थियो’, पोखरेलले नेपालखबरसँग भने, ‘भू–उपग्रहमा आधारित उडान विधि बनाएकाले भारतको सीमा छुँदैन।’

पोखरेलले भैरहवा आउने जहाज सिमरा हुँदै आउनुपर्ने बताउँदै भैरहवामा सिधै इन्ट्री दियो भने पनि १५–२० हजार फिटमाथिबाट मात्रै दिने बताए। 

‘भैरहवा प्रवेशविन्दु दिए पनि उडान तथा अवतरण गर्न विमान चितवनसम्म पुगेर फर्किनुपर्ने अवस्था हुनसक्छ। त्यसैले भैरहवाको लागि सिमराबाट आउँदा धेरै असर गर्दैन’, पोखरेलले भने। 

स्कटल्यान्डमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी माेदी। 

मोदीको आश्वासन
स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत हवाइ प्रवेशविन्दु सम्बन्धी कुरा उठाएका थिए। 

‘प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हवाइ रुटको विषयमा छलफल गर्नुभएको थियो’, देउवा र मोदीबीचको भेटबारे परराष्ट्र सचिव भरत पौडेलले भने, ‘छलफलमा प्रधानमन्त्री देउवाले भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरको हवाइ रुट दिन माग गर्नुभएको थियो।’

उनका अनुसार नेपालले ३ वटा हवाइ प्रवेशविन्दु माग गरेकोमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको चासो सम्बोधन गर्ने आश्वासन दिएका छन्। 

प्राधिकरणका पूर्वमहानिर्देशक पोखरेल भने नेपालगञ्ज प्रवेशविन्दु दिन भारतले पहिले नै इन्कार गरिसकेको बताउँछन्। 

‘महेन्द्रनगरको रुट दिँदैन भनेको छैन। महेन्द्रनगरबाट रुट पाउनु हाम्रो लागि सबैभन्दा राम्रो हुन्छ’, पोखरेलले भने, ‘आफ्नो जमिनमाथि लामो समय उडान गर्दा हामीलाई सहज हुन्छ।’

भारतको दिल्लीबाट भैरहवा आउने जहाज महेन्द्रनगर हुँदै आउँदा सबैभन्दा छोटो रुट हुन्छ।

एराेथाईकाे बिचक्राफ्ट विमान। तस्बिर : शटर स्टक

एरोथाईको जहाज आउँदै
यसैबीच, भैरहवा विमानस्थलमा परीक्षण उडानका लागि एरोथाईको जहाज आउँदै छ। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एरोथाईले मंसिर ६ गते जहाज र जनशक्ति पठाउने जानकारी गराएको छ। तर कुन जहाज आउने भन्ने एकीन नभएको प्रवक्ता कर्णले बताए। 

‘एरोथाईले जहाज पठाउँछौँ भनेको मात्रै छ। कस्तो जहाज ल्याउँछ। कति जनशक्ति आउँछ भन्ने टुंगो लागेको छैन’, कर्णले भने, ‘एरोथाई आउँदा परीक्षण उडानको लागि नेपालले थप खर्च गर्नुपर्दैन।’

एरोथाईले गौतमबुद्ध विमानस्थलको मौसम, सञ्चार, दिशा पत्ता लगाउने उपकरणलगायत जडानको ठेक्का पाएको थियो। ठेक्का सम्झौताअनुसार विमानस्थलमा जडान गरिएका उपकरण ठीक भए÷नभएको परीक्षण गर्नुपर्नेछ। 

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले पूर्वसम्झौताअनुरुप एरोथाईलाई क्लालिब्रेसन फ्लाइट गर्न अनुमति दिएको बताए। 

‘पहिला सम्झौता एरोथाईसँगै भएको थियो। कोभिडको कारण एरोथाई नआएपछि भारतसँग कुरा अघि बढाएका थियौँ’, प्राधिकरणका महानिर्देशक क्षेत्रीले भने, ‘एयरपोर्ट अथोरिटी अफ इन्डियालाई क्यालिब्रेसन फ्लाइटको लागि पत्र पठाएपछि एरोथाई आउने चिठ्ठी पठाएको छ।’

कोभिडको कारण अन्तर्राष्ट्रिय उडानमा अवरोध हुँदा आउन नपाएको बताउँदै आएको एरोथाईले जहाज पठाउने चिठ्ठी पठाए पनि कुन जहाज, कति जनशक्ति भन्ने विषयमा प्राधिकरणलाई अझै जानकारी गराएको छैन। 

लाइफ एयरले गरेकाे क्यालिब्रेसन फ्लाइट। तस्बिर : लाइफ एयर

के हो क्यालिब्रेसन फ्लाइट? कसरी गरिन्छ?
क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो। यसमा विशेष जहाज ल्याएरै उडान अवतरण गर्नुपर्छ। 

एरोथाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर क्लालिब्रेसन फ्लाइट गर्नेछ। परीक्षणको लागि करिब १ हप्ता लाग्नेछ। 

यस्तो उडानमा उड्डयन उपकरण र उडान विधिको परीक्षण गरिन्छ। परीक्षणको लागि विशेष विमान ल्याउनुपर्छ। यो दौडान सञ्चार उपकरण, कन्ट्रोल टावरको चेकजाँच गरिन्छ। 

प्रवक्ता कर्णले विमानस्थलमा जडान गरिएको लाइट मिलेको छ कि छैन। रेडियो फ्रिक्वेन्सी, रनवेलगायत सबै चेक गर्नको लागि क्यालिब्रेसन उडान गर्न लागिएको बताए। 

‘हामीले १ किलोको ढक किन्यौँ भने हजार ५० ग्राम हुनसक्छ। ९ सय ५० ग्रामको पनि हुनसक्छ। त्यसलाई मिलाएर हजार ग्रामकै बनाउनुपर्छ’, प्रवक्ता कर्णले उदाहरण दिँदै भने, ‘क्यालिब्रेसन फ्लाइट भनेको यस्तै हो। हामीले विमानस्थलमा भौतिक पूर्वाधार तयार पार्यौँ। तर उडान गर्दा उपकरण राखेको मिल्यो कि मिलेन। रेडियो फ्रिक्वेन्सीले डिजाइनअनुसार काम गर्यो कि गरेन सबै परीक्षण हुन्छ।’

जहाज ल्यान्डिङको लागि राखेको लाइटको एंगलिङ मिल्यो कि मिलेन सबै चेक हुने उनले बताए। 

‘टावरलाई हामीले सुन्नुपर्ने २० किमिसम्म हो तर १० किमि मात्रै सुनिन्छ भने त्यसलाई सच्याउनुपर्यो’, कर्णले थपे।

नियमित उडान भरिरहेका जहाजबाट क्यालिब्रेसन फ्लाइट नहुने प्राधिकरणको भनाइ छ। एरोथाईले यसअघि नेपालका विमानस्थल परीक्षण गर्दा विचक्राफ्ट जहाज ल्याएर उपकरणको परीक्षण गरेको थियो। 

एरोथाई थाइल्यान्डको प्रतिष्ठित हवाइ कम्पनी हो। थाई एयरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरोथाईले नै उपलब्ध गराउँछ। 

परीक्षण उडान गरेपछि गौतमबुद्ध विमानस्थलमा नियमित उडानको लागि अन्तर्राष्ट्रिय वायुसेवालाई आह्वान गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .