कारोबार


अटो व्यवसायीको चुनाव : बाँडिए ठूला घराना, अध्यक्षमा को बलियो?

अटो व्यवसायीको चुनाव : बाँडिए ठूला घराना, अध्यक्षमा को बलियो?

अटाे व्यवसायीद्वय करण चाैधरी (दायाँ) र ध्रुव थापा (बायाँ)


वसन्त अर्याल
कात्तिक २९, २०७८ सोमबार ७:१४, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचनमा कडा टक्कर हुने देखिएको छ। 

नाडाको चुनावमा ठूला घराना बाँडिएसँगै कडा प्रतिस्पर्धा हुने भएको हो। 

नाडाको अध्यक्षको लागि यसअघि नै उम्मेदवारी घोषणा गरेका करण चौधरी र ध्रुव थापाको पक्षमा ठूला घराना खुल्न थालेका छन्।  

नाडाको अध्यक्षका प्रतिस्पर्धी चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी ग्रुपअन्तर्गतको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् भने ध्रुव थापा फोर्स मोटर्स नेपालको आधिकारिक बिक्रेता रहेका छन्। 

चौधरीको टिममा ठूला नेटवर्क भएका व्यवसायीको समर्थन रहेको छ भने थापालाई गाडी र मोटरसाइकल व्यवसायीबाहेक टायर, पार्ट्स, अटो मेसिनरीसम्बन्धी धेरै व्यवसायीको समर्थन रहेको छ। 

चौधरीसहितको टिमले तिहारअघि नै पोखराबाहेक सबै ठाउँमा देश दौडाहा सक्याएको छ भने थापाको टिम हालै पूर्वबाट अभियान सुरु गरेको छ। 

‘पोखराबाहेकका ठाउँमा हामीले स्थानीय व्यवसायीसँग भेटघाट गरिसकेका छौँ’, करण चौधरीको समूहमा रहेका नाडा महासचिव सुनिल रिजालले भने, ‘हाम्रो टिम बनिसकेको छ। पोखराका व्यवसायीसँग भेट्न छिट्टै जाँदै छौँ।’

ध्रुव थापाको टोली पूर्वको झापाको बिर्तामोड, दमकसँगै मोरङको विराटनगर, इटहरीबाट देश दौडाहा सुरु गरेको छ। थापा समूहमा खुलेका प्रदीपमान प्रधानले पूर्वका ४ ठाउँमा निर्वाचनसम्बन्धी कार्यक्रम भइसकेको बताए। 

करण चौधरीको टिममा टाटादेखि हिरो–होन्डासम्म
करण चौधरीको टिममा ठूलो नेटवर्क भएका अटो व्यवसायी छन्। चौधरीले आफ्नो सुजुकीको नेटवर्कले सहयोग गर्नेछ भने सबैभन्दा ठूलो नेटवर्क रहेको टाटाले सहयोग गर्ने भएको छ। 

दुईपांग्रेमा बजाज, यामाहा, हिरो, होन्डालगायत ठुला बिक्रेता चौधरीको पक्षमा खुलेका छन्। 

नाडामा रहेका अधिकांश पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी, चौधरीको प्यानलबाट चुनाव लड्दै छन्।

‘करण चौधरीको समूहमा अहिलेका पदाधिकारी र कार्यसमिति सदस्यको समर्थन छ’, महासचिव सुनिल रिजाल भन्छन्, ‘देशभर ठूला नेटवर्क भएका टाटा, हिरो, होन्डालगायतले समर्थन व्यक्त गरेका छन्।’

टाटाका सीईओ राजनबाबु श्रेष्ठ हाल भारतमा भए पनि नेपाल आएपछि चौधरीको पक्षमा खुल्ने टाटाकै अधिकारी बताउँछन्।

‘राजन सर भारत जानुभएको छ। उहाँ आएपछि खुल्नुहुन्छ’, टाटाका एक अधिकारीले नेपालखबरसँग भने, ‘टाटाबाट राजन सरले करण चौधरीलाई समर्थन गर्ने देखिन्छ।’

यामाहाका बिक्रेता तथा नाडा कार्यसमिति सदस्य मिलनबाबु मल्लले  टाटाबाट राजनबाबु श्रेष्ठ, हिरोबाट अभिक ज्योति, बजाजबाट अभिमन्यु गोल्छा, आईएमई मोटर्सबाट निशान ढकाल चौधरीको प्यानलमा खुलिसकेको बताए। 

ध्रुव थापाको टिममा हुन्डाईदेखि फोर्डसम्म 
यता ध्रुव थापाको टोलीमा हुन्डाईको आधिकारिक बिक्रेता तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ छन्। 

त्यस्तै नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छा छन्। 

त्यसबाहेक हिट्काे प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधानलगायत छन्। 

‘१७ जनाको लागि निर्वाचन हुने हो। जसमा १५ जनाको टिम करिब टुंगिएको छ’, थापाको पक्षमा खुलेका हिट्काेका अध्यक्ष प्रधानले भने, ‘साथीहरु टिममा जोडिने क्रम जारी रहेकाले अध्यक्ष ध्रुव थापाबाहेकका पदाधिकारी टुंगिएका छैनन्।’

प्रधानले टीभीएस मोटर्सका दीपक अग्रवालले थापा समूहलाई समर्थन गर्ने बताए। त्यसबाहेक दुईपांग्रे रिकन्डिसनका अध्यक्ष बीएन पाठक, कपिल शिवाकोटी, सत्यदिप इन्टरनेश्नलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका  राजन पौडेल छन्।   

त्यसबाहेक पोखराका अटो व्यवसायी सोरुपा टायर एन्ड ट्रेडका सञ्चालक मोहन बाबु खड्का, ग्लोबल सेल्स एजेन्सी प्रा.लिका प्रकाश सिंग्देल, रिसब ग्रुपका सञ्जय खेतान, रिद्धि कार्की, नारायणप्रसाद पौडेल र शुभाशीष थपलिया रहेका छन्। 

कति छन् मतदाता? कसरी चुनिन्छन् पदाधिकारी?
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ साधारणसभा मंसिर २२ गते काठमाडौंमा हुँदै छ। निर्वाचनमा करिब ३१ सय मतदाता छन्। जसले १७ जनालाई मतदान गर्नेछन्। 

‘करिब ३१ सय जना मतदाताले अध्यक्षसहित १७ जनालाई भोट हाल्नुपर्ने छ’, नाडाको महासचिव सुनिल रिजालले भने, ‘अध्यक्षसहित १७ जना चुनिएपछि त्यहीबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी चयन हुनेछन्।’

गत निर्वाचनमा कृष्णप्रसाद दुलाल सर्वसम्मत भए पनि यसअघिका निर्वाचनमा प्रतिस्पर्धाबाट अध्यक्ष चुनिएका छन्। निर्वाचनमा ठूला घरानाकै प्रतिस्पर्धीले जितेको देखिन्छ।

दुलालअघि टाटाका शम्भुप्रसाद दाहाल प्रतिस्पर्धाबाट अध्यक्ष बनेका थिए। उनले प्रतिस्पर्धी रामप्रसाद कँडेललाई पराजित गरेका थिए। सन् २०१५ को निर्वाचनमा पनि अध्यक्षमा अन्जान श्रेष्ठ प्रतिस्पर्धामार्फत नाडाको अध्यक्ष भएका थिए। श्रेष्ठले प्रत्याशी मनोज सेठियालाई पराजित गरेका थिए।

नाडाका कार्यसमिति सदस्य तथा यामाहाका बिक्रेता मिलनबाबु मल्लले सकेसम्म सर्वसम्मत गर्ने प्रयास भए पनि यो पटक निर्वाचन हुने देखिएको बताए। 

‘मेरो लागि त दुवै अध्यक्षका प्रत्याशी राम्रो हुनुहुन्छ। सकेसम्म सहमतिमै जाऊँ भन्ने छ’, मल्लले भने, ‘तर सहमति नभए नेतृत्वको लागि चुनाव त गर्नैपर्छ।’

उनले निर्वाचन भए दुई प्रतिस्पर्धीबीच कडा टक्कर हुने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .