कारोबार


हाेङ्सीपछि ह्वासिन सिमेन्टले पनि २० मेगावाट विद्युत् खपत गर्दै

विद्युत् खपत बढाउन स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्नुपर्छः वैद्य
हाेङ्सीपछि ह्वासिन सिमेन्टले पनि २० मेगावाट विद्युत् खपत गर्दै

वसन्त अर्याल
कात्तिक ३०, २०७८ मंगलबार १८:१९, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले देशमै उत्पादित विद्युत् पर्याप्त खपत नभएको गुनासो गरिरहेका बेला होङ्सीपछि अर्को ठूलो उद्योगले पनि २० मेगावाट विद्युत् खपत गर्ने भएको छ। 

केही दिनअघि मात्रै होङ्सी सिमेन्टले ३० मेगावाट विद्युत पाएको थियो।  अब फेरि अर्को ठूलो उद्योग ह्वासिन सिमेन्टले २० मेगावाट विद्युत खपत गर्ने भएको हो। 

३ हप्ताभित्र परीक्षण उत्पादन सुरु गर्न लागेको ह्वासिन सिमेन्टले २० मेगावाट विद्युत् खपत गर्नलागेको जनाएको छ। 

यसअघि उद्योगले विद्युत् पहुँच अभावका कारण देखाउँदै उतपादन गर्न नसकेको जनाएको थियो। तर अहिले विद्युत् प्राधिकरणले सबस्टेसन नै बनाइदिएपछि चिनियाँ लगानीको ह्वासिन सिमेन्टले तत्काल उत्पादन सुरु गर्ने जनाएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन ह्वासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गरेको छ। कम्पनीले स्विचिङ स्टेसनबाट उद्योगसम्म करिब १४ किलोमिटर प्रसारणलाइन निर्माणसम्पन्न गरेको छ।   

‘हामीलाई धेरै समय लाग्यो, धेरै खर्चिलो पनि भयो’, ह्वासिन सिमेन्टका नेपाली साझेदार सुरज वैद्यले नेपालखबरसँग भने, ‘अब सबै समस्या समाधान भएको छ। विद्युत् जडानसँगै परीक्षण उत्पादन सुरु हुन्छ।’

ह्वासिन सिमेन्ट उद्योगलाई विद्युत् पुर्याउने मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारणलाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६मा निर्माण गरिएको छ। 

योसँगै विद्युत् प्राधिकरणले करिब १ महिनाअघि सबस्टेसन चार्ज गरेको थियो। प्राधिकरणले ह्वासिनले चाहेको समयमा १३२ केभी लाइनबाट विद्युत् जडान गर्नसक्ने उल्लेख गरेको छ। 

‘हामीले हालसालै विद्युतको लाइन पाएका छौँ। अबको एक हप्तामा सबस्टेसनमा विद्युत् लाइन जडान हुन्छ’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्यले भने, ‘२० मेगावाट विद्युत् खपतको लागि प्राधिकरणसँग सम्झौता गरेका छौँ।’

सन् २०२० कै सुरुमा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु भएको उद्योग बल्ल उत्पादन चरणमा पुगेको हो। 

ह्वासिन चिनियाँ लगानीमा निर्माणाधीन ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट उद्योग हो। 

स्थानीयको अवरोध, कोभिड १९ महामारी, बाढीलगायतका कारण उत्पादनमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ। 

ह्वासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य हुन्। 

सुरुमा करिब १४ अर्ब लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उद्योगमा  लगभग २ अर्ब लागत बढेको छ। 

दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी उद्योगले स्थापना भएको छ। 

ह्वासिन सिमेन्ट क्लिङ्कर बेस उद्योग हो। २०१६ मा कम्पनी दर्ता भएको कम्पनीले ०१७ मा खानी खरिद गरेको थियो। २०१८ मा लगानी स्वीकृत भएको कम्पनीले २०१९ मा उद्योग निर्माण सुरु गरेको थियो। 

उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन गर्नसक्ने जनाएको छ। 

ह्वासिन नेपालको सिमेन्ट उद्योग करिब ५ सय रोपनी जग्गामा उद्योग निर्माण गरेको छ। धादिङ र मकवानपुरमा रहेको आफ्नै चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उत्पादन गर्नेछ। 

ह्वासिनले १ हजार बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिने उल्लेख गरेको छ। ह्वासिन नेपालमा चिनियाँ लगानीकै होङ्सी पछिको दोस्रो ठूलो सिमेन्ट उद्योग हो।

विद्युत् खपत बढाउन स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्नुपर्छः वैद्य
वैद्यले नेपालमा बढी उत्पादन भएको विद्युत् भारत निर्यात गर्नुभन्दा स्वदेशी उद्योगमा खपत बढाउने रणनीति बनाउनुपर्ने बताए। 

‘अब हामीकहाँ विद्युत धेरै हुन्छ। भारतलाई मात्रै विद्युत् निर्यात गर्ने भनेर हुँदैन’, वैद्य भन्छन्, ‘जुन उद्योगले बढी विद्युत् खपत गर्छ, त्यस्ता उद्योगलाई बढी सहुलियत दिनुपर्छ।’

उनले विद्युत बेचेर भन्दा नेपालमै खपत गरेर नेपालले ठूलो फाइदा उठाउन सक्ने बताए। 

नेपाल विद्युत् प्राधिकरणले नेपाली उद्योगीलाई विद्युत पर्याप्त विद्युत नदिएको तर भारतलाई विद्युत बिक्री गरेको भन्दै आलोचना गर्दै आएका छन्। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगसम्म विद्युत पुर्याउन प्रसारणलाइनको अभावमा खपत नभएको विद्युत् बाहिर बिक्री गर्नुपरेको बताउँदै आएका छन्। 

कार्यकारी निर्देशक घिसिङले नवलपरासी पूर्वको होङ्सी सिमेन्टलाई प्रसारण लाइन नबन्दै वैकल्पिक माध्यमबाट विद्युत् पुर्याएको बताए। 

होङ्सी सिमेन्टलाई प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनमार्फत उद्योगलाई गत शनिबारबाट विद्युत् आपूर्ति दिएको छ । 

विद्युत लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् आपूर्ति गरिरहेको थियो। यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको थियो। 

होङ्सीले ३० मेगावाट विद्युत खपत गर्नेछ। उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् खपत गर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .