कारोबार


नाडामा सर्वसम्मति नहुने पक्का, चौधरीले प्यानल घोषणा गर्दै

नाडामा सर्वसम्मति नहुने पक्का, चौधरीले प्यानल घोषणा गर्दै

नाडाका अध्यक्षका प्रत्याशीद्वय थापा र चाैधरी


वसन्त अर्याल
मंसिर १४, २०७८ मंगलबार १५:३१, काठमाडौँ

अटो व्यवसायीको छाता संगठन नाडामा सर्वसम्मतको प्रयास असफल  भएपछि अध्यक्षका प्रत्याशीद्वय करण चौधरी र ध्रुव थापाले चुनावी प्रतिस्पर्धा नै गर्ने भएका छन्। 

सर्वसम्मतिको लागि भन्दै हालसम्म टिम घोषणा नगरेका चौधरीले बुधबार टिम घोषणा गर्ने भएका हुन्। 

चौधरीले बुधबार दिउँसो होटल अलफ्टमा आफ्नो टिम घोषणा कार्यक्रम राखेका छन्। सर्वसम्मतिको प्रयास असफल भएपछि टिम घोषणा गर्न लागेको चौधरीको पक्षमा रहेका व्यवसायीले बताएका छन्। 

नाडा निर्वाचन एक हप्ता मात्रै बाँकी रहँदा अध्यक्षका उम्मेदवार करण चौधरीले अझै आफ्नो टिम सार्वजनिक गरेका छैनन्।  

प्रतिस्पर्धी ध्रुव थापाले प्यानल घोषणा गरी देश दौडाहा गरिरहँदा चौधरीलाई छिटो प्यानल घोषणा गर्न दबाब रहेको थियो। 

करण चौधरीले सर्वसम्मतिको लागि टिम घोषणामा ढिलाइ गरेको बताए। 

‘मैले सर्वसम्मतिको लागि निर्वाचन नजिकिँदा पनि टिम घोषणा नगरेको हो’, चौधरीले नेपालखबरसँग भने, ‘मैले टिम घोषणा गरेपछि सर्वसम्मतिको सम्भावना रहँदैन।’

नाडाका पूर्वअध्यक्ष शम्भु दाहाललगायतले सर्वसम्मतिको प्रयास गरे पनि सफल हुन सकेन। 

‘पूर्वअध्यक्षसँग बसेर सर्वसम्मतिको लागि छलफल गरेका थियौँ तर सफल हुन सकेन’, करण चौधरीको पक्षमा लागेका एक जना नाडा कार्यसमिति सदस्यले भने। 

नाडाको ४५औँ साधारणसभा मंसिर २२ गते काठमाडौंमा हुँदै छ। पोखराबाट उदाएका ध्रुव थापाले आफ्नो टिमसहित लगातारजसो अटो व्यवसायीसँग छलफल गरिरहेका छन्।  

नाडामा अध्यक्षसहित १७ जना निर्वाचित हुन्छन्। ध्रुव थापाले यसअघि नै १७ जनाको टिम सार्वजनिक गरिसकेका छन्।  

जसमा हुन्डाईका निराकर श्रेष्ठ, टीभीएसका दीपक कुमार अग्रवाल, फोर्डका आकाश गोल्छा, बीवाईडीकी यमुना श्रेष्ठ, एसएमएल इसुजुका कपिल सिवाकोटी छन्। 

त्यसबाहेक प्रदिममान प्रधान, आमर ज्योति रञ्जित, बीएन पाठक, दिपक कुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन कन्साकर, सञ्जय कुमार खेतान, सुवासिस थपलिया रहेका छन्। 

धु्रवबहादुर थापाले आफू र आफ्नो टिम नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो शोको प्याटेन्ट लिनेदेखि मोफसलमा पनि केन्द्रकै आयोजनामा अटो शो गरिने अवधारणा अघि सारेका छन्। 

थापालाई ठूला नेटवर्क भएका हुन्डाई, टीभीएस, फोर्डबाहेक पोखराका अधिकांश व्यवसायीको समर्थन रहेको छ। रिकन्डिसन, पार्ट्सतर्फका अधिकांश व्यवसायी थापालाई सहयोग गरिरहेका छन्। 

अध्यक्षका प्रतिस्पर्धी ध्रुव थापाले यसअघि आफुले कृष्ण दुलालको लागि अध्यक्ष पद छाडेको भन्दै यो पटक आफू नछाड्ने बताए। 

उनले सर्वसम्मतिको लागि सधैँ आफूले त्याग गरेकोले यो पटक प्रतिस्पर्धामा उत्रिएको बताए।

‘करण चौधरी अघिल्लो पटक मात्रै नाडामा प्रवेश गर्नुभएको हो। अझै एक कार्यकाल उपाध्यक्ष बसेर मलाई सहयोग गर्नुस् भनेको मान्नुभएन’, थापाले नेपालखबरसँग भने, ‘उहाँले नछाडेपछि यो पटक निर्वाचन हुने देखिन्छ।’

उनले सहमतिभन्दा लोकतान्त्रिक विधिअनुसार प्रतिस्पर्धा नै देखिएको बताएका छन्। 

करण चौधरीको टिममा को–को छन्?
हाल नाडा उपाध्यक्ष रहेका करण चौधरीको प्यानलमा कार्यकारी समितिका अधिकांश सदस्यको समर्थन छ। 

नाडाको वर्तमान कार्यसमितिका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती चौधरीकै पक्षमा रहेका छन्। 

चौधरीलाई ठूला व्यावसायिक घरनाबाट पनि समर्थन छ। सबैभन्दा ठूलो नेटवर्क रहेको टाटाका राजनबाबु श्रेष्ठले करण चौधरीलाई समर्थन गरेका छन्। 

एमएडब्लु ग्रुपको प्रतिनिधित्व गरिरहेका मिलनबाबु मल्ल पनि चौधरीकै पक्षमा छन्। 

हिरोबाट अभिक ज्योति, आईएमई मोटर्सबाट निशान ढकाल चौधरीको प्यानलमा रहने चौधरी पक्षका व्यवसायीले बताएका छन्। 

‘आज पनि सहमतिको लागि छलफल नै गरिरहेका छौँ’, नाडा कार्यसमिति सदस्य मिलनबाबु मल्लले भने, ‘सहमति नभए बुधबार हाम्रो टिम सार्वजनिक हुन्छ।’

मल्लले टिममकाको को बस्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .