कारोबार


एमाले महाधिवेशनले सौराहामा १३ करोडको कारोबार, १ दिन लम्बिँदा बढ्यो ३ करोड खर्च

एमाले महाधिवेशनले सौराहामा १३ करोडको कारोबार, १ दिन लम्बिँदा बढ्यो ३ करोड खर्च

वसन्त अर्याल
मंसिर १४, २०७८ मंगलबार २१:३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चितवन महाधिवेशन १ दिन लम्बिँदा त्यस क्षेत्रमा ३ करोडबराबरको व्यावसायिक कारोबार बढेको छ। 

चितवनका व्यवसायीले एमाले महाधिवेशन अवधिमा १० करोड कारोबार हुने अनुमान गरेका थिए। तर महाधिवेशन लम्बिँदा कारोबार १३ करोड पुगेको अनुमान गरेको बताएका छन्। 

एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चल्ने भनिएकोमा १४ गतेसम्म चलेको हो। एमालेले सुरुमा होटल व्यवसायीसँग १ करोड ९० लाख रुपैयाँबराबरको सम्झौता गरे पनि १ दिन लम्बिएसँगै साढे ६३ लाख रुपैयाँ खर्च बढेको छ। 

क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले ३ दिनको लागि आयोजना गरिएको महाधिवेशन ४ दिनसम्म चल्दा ३ करोड बढी कारोबार भएको बताए। ​

उनले एमाले महाधिवेशनले चितवनमा १० करोड कारोबार हुने अनुमान गरिएकोमा १३ करोड बढी कारोबार भएको आकलन गरे। 

‘३५ सय कोठाको लागि पहिला १ करोड ९० लाखको सम्झौता गरेका थियौँ’, भट्टराईले नेपालखबरसँग भने, ‘त्यसलाई एक दिन थपिँदा ६३ लाख रुपैयाँ बढी लिएका छौँ।’​

एमाले पार्टीले ३५ सय बेड बुक गरे पनि बाँकी अन्य प्रतिनिधिले भरिँदा कारोबार बढेको व्यवसायीको भनाइ छ। 

होटल व्यवसायीहरुका अनुसार सौराहा आसपासमा करिब ६५ सय बेड छन्। महाधिवेशन अवधिभर सबै कोठा–बेड बुक भएका थिए।  

एमालेका आधा प्रतिनिधि बाहिरिए पनि केही अझै सौराहाका होटलमा रहेको व्यवसायीले बताएका छन्। 

‘पार्टीसँग भएको सम्झौता आज (मंगलबार)बाट सकिएको छ। तर व्यक्तिगत खर्चमा बस्ने एमालेकै प्रतिनिधि धेरै हुनुहुन्छ’, भट्टराईले भने, ‘१२ सयदेखि १५ सय प्रतिनिधि चितवनमै रहेको अनुमान छ।’

सौराहाको इतिहासमा सबैभन्दा राम्रो कारोबार भएको व्यवसायीहरुले बताएका छन्। एमाले महाधिवेशनले सौराहाका सबै व्यवसायीले फाइदा लिएको भट्टराईले बताए।    

व्यवसायीहरुले एमाले महाधिवेशनले सौराहालाई प्रचारप्रसारका लागि ठूलो सहयोग गरेको बताएका छन्। 

‘सौराहाको पर्यटन विस्तारको लागि कोशेढुंगा साबित भएको छ’, उनले भने, ‘महाधिवेशनले तत्कालको लागि त्यति धेरै फाइदा नदिए पनि दीर्घकालसम्म राम्रो गर्नेछ।’

जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले एमाले महाधिवेशनले कोभिडको कारण मारमा परेको सौरहामा चहलपहल  बढाएको बताए। 

‘कोठाहरु ५ दिनको लागि शतप्रतिशत अकुपेन्सी भए’, क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले भने, ‘गन्तव्य प्रवर्द्धनलाई धेरै सहयोग गरेको छ। हामीले एमाले प्रतिनिधिलाई सन्तुष्ट बनाएरै पठाएका छौँ।’ 

घिमिरेले हिजो रातिसम्मको रकम पार्टीले तिरे पनि आज (मंगलबार)बाट बस्ने खर्च आफैँले गरेको बताए। 

उनले एमाले प्रतिनिधिले सौराहा छाडे पनि अहिले विवाहको सिजन भएको कारण राम्रै बुकिङ भएको बताएका छन्। 

चितवन फोरेष्ट रिसोर्टका अध्यक्ष भट्टराईले सौराहा जुनसुकै कार्यक्रम गर्नको लागि पनि सक्षम र सबल रहेको छ भन्ने सन्देश पनि बाहिर गएको बताए। 

‘हामीलाई एमालेको कार्यक्रम कसरी सफल बनाउने भन्ने चुनौती थियो। हामीले सानातिना कुराबाहेक सफल नै बनाएका छौँ’, उनले भने, ‘नेपालभरका मानिस सौराहा आएर बसेका छन्। प्रत्येक गाउँपालिका, वडाका प्रतिनिधि यहाँ आएर सौराहा के हो? सौराहामा के पाइन्छ भन्ने वस्तुस्थिति बुझेर गएका छन्।’ 

९ करोड खर्च भयोः एमाले 
एमालेले महाधिवेशन २ दिन थपिँदा महाधिवेशन खर्च २ करोड बढेको बताएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशनमा ७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा ९ करोड रुपैयाँ पुगेको जनाएका छन्। 

महाधिवेशन मंसिर १२ गतेभित्र सकाउने तालिका भए पनि सहमतिको प्रयास गर्दागर्दै अन्तिममा चुनाव नै गर्नुपरेपछि एमाले महाधिवेशन १४ गतेसम्म लम्बिएको थियो।  

पार्टीले ९ करोड मात्रै खर्च भएको बताए पनि सबै खर्च पार्टीले व्यहोरेको छैन। देशभरबाट कार्यकर्ता चितवनमा उतार्दा हजारौं गाडी प्रयोग भएका थिए। जसको खर्च केन्द्रीय पार्टी कार्यालयबाट नभई सम्बन्धित कमिटीले गरेका थिए। 

एमालेले असोज १५–१७ गोदावरीमा भएको विधान महाधिवेशनमा ४ करोड खर्च भएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .