कारोबार


एजेन्डासहित नाडा अध्यक्षमा लड्न प्यानल घोषणा गरे थापाले, को–को केमा उठ्दै?

एजेन्डासहित नाडा अध्यक्षमा लड्न प्यानल घोषणा गरे थापाले, को–को केमा उठ्दै?

नाडा अध्यक्षका प्रत्याशी थापा प्यानल घाेषणा गर्दै। तस्बिर : विजय सिंह


वसन्त अर्याल
मंसिर १६, २०७८ बिहिबार १८:३२, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको लागि ध्रुव थापाले आफ्टो टिमसहित एजेन्डा सार्वजनिक गरेका छन्। 

उनले अनौपचारिक रुपमा यसअघि नै आफ्नो प्यानल र एजेन्डा सार्वजनिक गरे पनि बिहीबार औपचारिक रुपमा सार्वजनिक गरेका हुन्। 

फोर्स मोटर्सका आधिकारिक बिक्रेता ध्रुव थापाले नाडाको इतिहासमा पहिलो पटक समावेशी टिम भएको बताएका छन्। 

उनले काठमाडौं उपत्यकासहित मोफसलका व्यवसायीलाई समेट्दै टिम सार्वजनिक गरेको बताएका छन्। 

नाडाको निर्वाचनमा पहिलो पटक महिलाले उम्मेदावरी घोषणा गरेकी छन्। विवाईडीको अधिकारिक विक्रेता साइमेक्स इंककी कार्यकारी निर्देशक यमुना श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दिएकी छिन्। 

ध्रुव थापाले आफ्नो टिममा कर्पोरेट हाउसदेखि साना व्यवसायीहरुको साथ रहेको बताएका छन्। उनले अबको नाडा काठमाडौंमा मात्रै केन्द्रित नभई हरेक प्रदेशमा सशक्त उपस्थित हुने बताए।

‘प्रदेशका व्यवसायीको उपस्थिति सशक्त हुन आवश्यक देखिएको छ’, थापाले भने, ‘विद्युतीय गाडीमा अरु प्रदेशले कर लगाउँदैनन् तर बागमती प्रदेशले लगाउँछ। त्यसको विरोधका लागि कमिटी सक्षम हुनुपर्छ।’

थापाले सहयोग गर्ने कर्पोरेट टिममा मुख्य त लक्ष्मी ग्रुप, शंकर ग्रुप, दुगड ग्रुप, गोल्छा अर्गनाइजेसन, सारडा ग्रुप, कन्टिनेन्टल ग्रुपको सहयोग पुग्ने बताए। 

थापाले आफ्नो ग्रुपमा गाडी आयातकर्तादेखि डिलर, ब्याट्री, रिकन्डिसन, वर्कशप इक्विपमेन्ट, स्पेयरपार््ट्स व्यवसायी रहेको बताएका छन्। 

२२ गते काठमाडौंमा हुने ४५औँ नाडा साधारणसभाले नयाँ नेतृत्वचयन गर्नेछ। जसमा अध्यक्षबाहेक १७ सदस्य चुनिनेछन्। ती १७ जना पदाधिकारी चुनिने नाडाको विधानमा व्यवस्था छ। 

नाडामा ३१ सय ९० जना मतदाता छन्। यसअघिको निर्वाचनमा जम्मा   ९६४ भोटर मात्रै रहेका थिए। थापाका प्रतिस्पर्धी करण चौधरीले बुधबार नै आफ्नो टिम सार्वजनिक गरेका छन्। 

थापाको टिममा यी हुन् १७ सदस्य 
थापालाई ठूलो नेटवर्क रहेको हुन्डाईले समर्थन छ। हुन्डाईको तर्फबाट निराकार श्रेष्ठ सदस्यमा उम्मेदवार बनेका छन्। 

गोल्छा अर्गनाइजेसनबाट आकाश गोल्छाले सदस्यमा उम्मेदवारी दिएका छन्। गोल्छा फोर्ड मोटर्सको आधिकारिक बिक्रेता हुन्।  

करण चौधरीको टिमले बजाज मोटरसाइकलको आफूलाई साथ रहेको दाबी गरिरहँदा ध्रुव थापाको टिमले पनि बजाजको साथ रहने बताएका छन्। 

‘गोल्छा अर्गनाइजेसनबाट आकाश गोल्छा सदस्यमा लड्दै हुनुहुन्छ। बजाजको पनि हामीलाई पूरा साथ रहन्छ’, अध्यक्षका प्रत्याशी थापाले बताए। 

टीभीएस मोटर्स र प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको पनि थापालाई सहयोग रहेको छ। जगदम्बा मोटर्सका उपाध्यक्ष समेत रहेका दीपक अग्रवाल थापाको प्यानलबाट सदस्य पदमा लड्दै छन्। 

थापाको प्यानलमा पद्माश्री ग्रुपका सुवासिस थपलिया, नाडा गण्डकी प्रदेश अध्यक्ष मोहन खड्का, वर्कशप इक्विपमेन्ट व्यवसायी प्रदीपमान प्रधान, एसएमएल इसुजुमा आबद्ध कपिल सिवाकोटी, पार्ट्सको व्यवसाय गरिरहेका खेतान समूहबाट सञ्जय खेतान रहेका छन्। 

त्यस्तै स्पेयर पार्ट्स व्यवसायी दिपेन्द्र कुमार मिश्रा, क्यास्ट्रोल लुब्रिकेन्ट्स व्यवसायी अमर ज्योति, स्पेयर्स पार्टस प्रकाश सिग्देल, रिकन्डिसन संघका अध्यक्ष बीएन पाठक, हेलमेट तथा पार्ट्स व्यवसायी नारायण प्रसाद पौडेल, स्पेयर पार्ट्स नवराज भुसाल र सगुन वीरसिंह कंसाकार थापाको टिममा रहेका छन्। 

थापा प्यानलका यस्ता छन् एजेन्डा 
ध्रुव थापाले सवारीसाधन एसेम्बल र उत्पादनमा प्रस्ट खाका निर्माण गर्ने, अत्यावश्यक साधानको सूचीमा सवारीसाधनलाई राख्न पहल गर्ने, विज्ञ टिम निर्माण गरेर अटो क्षेत्रका समस्या र समाधानको उपायसहित राजइसँग सार्थक सम्वाद गर्ने एजेन्डा अघि सारेका छन्।  

थापाले नाडा सचिवालयलाई सुधार गर्ने योजना समेत ल्याएका छन्। नाडाको आफ्नै भवन निर्माणकार्य थाल्ने उल्लेख गरेका छन्। 

नाडा अटो शोलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र आन्तरिक बजार प्रवर्द्धन केन्द्रित गर्दै प्रदेशमा थालनी गर्ने, नाडा अटो शोको प्याटेन्ट दर्ता गर्ने, अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य र समन्वय गरेर बृहत् अटो शो आयोजना गर्ने उल्लेख गरेको छ।   

ध्रुव थापाले आफू अध्यक्ष भए डाटा हबको रुपमा विकास गर्ने बताएका छन्।  

त्यसबाहेक युरो मापदण्डको विषयमा, सडक सुरक्षाको विषय समेत एजेन्डा रहने बताएका छन्। 

मोफसलका व्यवसायीको समस्या, विद्युतीय सवारीसाधनसम्बन्धी स्पष्ट नीति ल्याउन पहल गर्ने बताएका छन्। नाडालाई अटो शोबाहेक अन्य क्षेत्रमा पनि चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .