कारोबार


राप्रपा महाधिवेशनको बजेट ३ करोड, प्रतिनिधिलाई दिनको १५ सय

राप्रपा महाधिवेशनको बजेट ३ करोड, प्रतिनिधिलाई दिनको १५ सय

महाधिवेशनमा आएकाहरु खाना खाँदै। तस्बिर : विजय सिंह


वसन्त अर्याल
मंसिर १७, २०७८ शुक्रबार १३:४३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको लागि ३ करोड खर्च हुने अनुमान गरेको छ। 

बुधबारदेखि काठमाडौंमा चलिरहेको महाधिवेशनमा खान र बस्नसहित ३ करोड बजेट खर्च हुने अनुमान गरिएको राप्रपाले जनाएको छ। 

राप्रपा महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि रहेका छन्। पार्टीले खाना र बासको व्यवस्था गरे पनि काठमाडौं आउजाउको व्यवस्था भने प्रतिनिधि आफैँले गरेका थिए। 

राप्रपाका अधिकांश प्रतिनिधि होटलमा बसे पनि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ। प्रतिनिधि र स्वयंसेवकको लागि राप्रपाले भृकुटीमण्डपमा खाना र खाजाको व्यवस्था गरेको छ। राप्रपाले बुधबार दिउँसोबाट खाजा÷खानाको व्यवस्था गरेको हो। 

स्याङ्जाकी प्रतिनिधि छमकला कुँवरले आफ्नै खर्चले काठमाडौं आए पनि यहाँ बस्न र खानाको व्यवस्था पार्टीको तर्फबाट भएको जानकारी दिइन्। 

‘आफ्नै गाडी खर्चमा काठमाडौं आएकी हुँ’, राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी कुँवरले नेपालखबरसँग भनिन्, ‘भृकुटीमण्डपमा कुपन बाँडिएको छ। त्यहीअनुसार खाना र खाजाको व्यवस्था छ।’

होटलमा बस्ने व्यवस्था केन्द्रबाटै मिलाइए पनि होटलमा खाए आफैँले खर्च गर्नुपर्ने उनको भनाइ छ। 

चितवनका एक प्रतिनिधिले पनि आफूहरुले ३ हजार उठाएर काठमाडौं आएको बताए। 

‘चितवनबाट प्रत्येकले ३ हजार उठाएर आएका हौँ’, ती प्रतिनिधिले भने, ‘यहाँ होटलमा खाए आफैँ तिर्छौँ। भृकुटीमण्डपमा खाना निःशुल्क व्यवस्था गरिएको छ।’

राप्रपाले आफ्ना प्रतिनिधिलाई खुवाउनको लागि कुपन बाँडेको छ। राप्रपाले प्रदेश अध्यक्षलाई खान र बस्नको व्यवस्था गर्ने जिम्मा दिएको छ। प्रदेश अध्यक्षले आफ्ना प्रतिनिधिलाई खर्च दिन्छन्। 

हरेक प्रतिनिधिलाई एक दिनको १५ सय 
राप्रपाका नेता उद्धव पौडेलले हरेक प्रतिनिधिलाई खाना र बस्नको व्यवस्था गरिएको बताए। उनले खानाको व्यवस्था भृकुटीमण्डपमा गरिए पनि होटल प्रतिनिधि आफैँले छनोट गरेर बसेको जानकारी दिए।  

‘राप्रपाले सबै प्रतिनिधिलाई दिनको १५ सय रुपैयाँ दिएको छ’, महाधिवेशन व्यवस्थापनको जिम्मा पाएका पौडेलले भने, ‘प्रतिनिधि कहाँ कुन स्तरको होटलमा बस्ने भन्ने आफ्नो रोजाइ हो। होटलमा नबसेर आफन्तको घरमा पनि बस्न सक्नुहुन्छ। त्यसले पु¥याउनुपर्छ।’

पौडेलले खाना र खाजाको खर्च कति हुन्छ बिल आएपछि थाहा हुने बताए। 

‘बाहिरबाट आउने प्रतिनिधिलाई यातायात खर्च पार्टीले व्यहोरेको छैन’, पौडेलले भने, ‘करिब २ करोड रुपैयाँमा खाना, खाजा खर्च पुग्ने अनुमान रहेको छ।’

होटल बुकिङको लागि कसैले सहयोग गरे पार्टी कार्यालयले होटल मिलाउने व्यवस्था गरेको थियो। नभए प्रतिनिधि आफैँले होटल खोजेर बसेको पौडेलले बताए।   

‘महाधिवेशन बजेट खर्च ३ करोड हुने अनुमान गरिएको छ। त्यसमा खाना, बस्ने, मञ्च व्यवस्थापन सबै जोडिन्छ’, पौडेलले नेपालखबरसँग भने।

राप्रपा महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देनको प्यानल रहेको छ। पार्टीको खर्चबाहेक प्यानल आफैँले समेत खर्च गरेका छन्। पार्टीका प्रतिनिधिबाहेक पनि आफ्नो पक्षका उम्मेदवारको लागि भोट माग्ने कार्यकर्तालाई प्यानलले नै खर्च व्यवस्थापन गरेका छन्। 

पौडेलले थपे, ‘प्यानलअनुसार खर्च कसरी गरेका छन्, त्यो उनीहरुको कुरा हो खाना र बस्ने सबैको व्यवस्था पार्टीले गरेको छ।’ 

खर्च स्रोतको रुपमा राप्रपाले विभिन्न सहयोगबाहेक उम्मेदवारी शुल्कबाट व्यवस्थापन गर्ने जनाएको छ। जसअनुसार राप्रपाले अध्यक्षमा उठ्ने उम्मेदवारका लागि दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको छ।

राप्रपामा उपाध्यक्ष पदको उम्मेदवारी शुल्क ७५ हजार तोकिएको छ। महामन्त्री पदमा उठ्नेका लागि ५० हजार शुल्क कायम गरिएको छ।  केन्द्रीय सदस्य पदमा उठ्ने उम्मेदवारले १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .