कारोबार


भैरहवा विमानस्थलः एरो थाईको जहाजले यसरी गर्‍यो नयाँ धावनमार्गबाट परीक्षण उडान

भैरहवा विमानस्थलः एरो थाईको जहाजले यसरी गर्‍यो नयाँ धावनमार्गबाट परीक्षण उडान

सुदीप भण्डारी
फागुन ६, २०७८ शुक्रबार १८:१२, काठमाडौँ

भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सुरु भएको छ। 

बिहीबार एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज भैरहवा आएसँगै शुक्रबारदेखि परीक्षण उडान सुरु भएको हो। 

बिहान १० बजेदेखि नै आन्तरिकतर्फका नियमित उडान बन्द भए। केहीबेरको विमानस्थलका अधिकारी र प्राविधिकहरुबीच छलफल तथा ब्रिफिङ भएपछि दिउँसो साढे २ बजे जहाजले परीक्षण उडान सुरु गरेको थियो। 

सुरुमा उपकरणसहितको जहाजले स्टार्ट भएपछि २० मिनेट ग्राउण्डमै पंखा घुमाइरहयो। त्यसपछि केही दूरी गुडेर एरो थाइको विमानले भुइँ छोड्यो। झण्डै दुई÷तीन घण्टा जति आकाशमा राउण्ड लगाएको थियो। 

अबको १० दिनजति एरो थाईको यो जहाजले भैरहवामाथिको खाली आकाशमा दिउँसोको समयमा उडान भरिरहनेछ। यात्रु नभई पाइलट र केही प्राविधिक लिएर उड्ने विमानले विमानस्थलमा जडान भएका उपकरणहरुको परीक्षण गर्नेछ। 

‘उपकरणहरु राम्रोसँग जडान भएको छ कि छैन, उपकरणले राम्ररी काम गरेको छ कि छैन भनेर चेक गर्नको लागि आईकाओको नियमअनुसार हामीले ग्राउण्ड टेस्ट र फ्लाइट टेस्ट गर्नुपर्ने हुन्छ’, अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका प्रमुख प्रविन न्यौपानेले भने, ‘ग्राउण्ड टेस्टको काम करिब सकिएको छ। आजबाट हाम्रो फ्लाइट टेस्ट भएको छ। यो कार्य हप्ता–१० दिनसम्म जारी रहन्छ ।’ 

परीक्षण उडान सकिएपछि यसको रिपोर्ट प्रकाशित हुनेछ। रिपोर्ट आएपछि गौतमबुद्ध विमानस्थल उडानयोग्य भयो भनेर विश्वव्यापी रुपमा सन्देश प्रवाह हुने उनले बताए। त्यसको ५६ दिनपछि व्यावसायिक उडान सुरु गर्न सकिनेछ। 

अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी वानका प्रमुख प्रवेश अधिकारीले अहिले आज सुरु भएको परीक्षण उडानले बुद्ध जयन्तीअघि नै व्यावसायिक उडान सुरु हुने आशा पलाएको बताए। 

‘क्यालिब्रेसन फ्लाइट नहुँदासम्म हामीलाई आशंका थियो। प्राविधिक कारणले जहाज आउन सक्ने अवस्था भएन भने त्यो मिति हामीले निश्चित गर्न सक्दैनौँ भन्ने बुझाइ थियो’, उनले भने, ‘यद्यपि जहाज आइसकेपछि बुद्धजयन्तीको लागि अप्ठ्यारो पर्छ जस्तो लाग्दैन। हामीले समन्वयात्मक रुपमा अन्तर्राष्ट्रियस्तरको काम टुंग्याउनुपर्ने अवस्था छ।’ 

२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए। ३ वर्षमा सम्पन्न हुने भनिए पनि पटक–पटक म्याद थप भएर सात वर्ष लागेको हो। 

सुरुवाती समयमा मुख्य कम्पनी र सहायक कम्पनीबीचको विवाद, नदीजन्य पदार्थ निकासी रोकिनु, भूकम्प, नाकाबन्दीलगायतका कारण ढिलो भएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअन्तर्गत आईसीबी वानतर्फ ७ अर्ब र आईसीबी टुतर्फ ५० करोड खर्च हुने आयोजनाले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .