कारोबार


पुरानो धारमा फर्किएन मेलम्ची, बर्खामा बाँकी बस्ती पनि बगाउने डर

पीडित स्थानीय भन्छन्- ९ महिना बित्यो क्षति हेर्न समेत सरकार आएन
पुरानो धारमा फर्किएन मेलम्ची, बर्खामा बाँकी बस्ती पनि बगाउने डर

९ महिनाअघिको बाढीले खण्डहर बनेको मेलम्चीबजार (इन्सेटमा पीडित दावा लामा)। तस्बिर : बसन्त अर्याल/नेपालखबर


वसन्त अर्याल
चैत ३, २०७८ बिहिबार १०:६, मेलम्ची (सिन्धुपाल्चोक)

वर्षौँदेखि होटल व्यवसायमा रमाइरहेका दावा लामा त्यसपछि कैयौँपटक आफ्नो घर खोज्न बाढीले बगर बनाएको मेलम्ची छेउ गइरहन्थे। 

यो देख्दा गाउँलेहरुले उनलाई पागल भएकोसम्म भने। तर उनी झण्डै ४५ लाख खर्चेर बनाएको घर चटक्कै कहाँ भुल्न सक्थे र! 

नौ महिनाअघि आएको बाढीले उनको साढे २ तले पक्की घरको नामोनिशान मेटाइदिएको थियो। त्यस अघिसम्म लामा २०६० तिर बनाएको त्यही घरमा होटल चलाइरहेका थिए। 

मेलम्ची खानेपानी आयोजनामा पुग्ने सडक। त्यसको छेवैमा उनको होटल। आउजाउ गर्ने मानिसको कमी थिएन। त्यसमाथि स्थानीय ग्राहक छँदै थिए। चलिरहेको थियो लामाको जिन्दगी। 

उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ का स्थायी बासिन्दा हुन्। गत असार १ मा मेलम्चीको बाढीले वितण्डा मच्चाएसँगै ९ महिनादेखि उनी बेकामे भएका छन्। न कुनै व्यवसाय छ, न त घरखेत नै। मेलम्चीको छेउका उनका घरखेत बगरमा परिणत भएका छन्।

त्यो दिन लामा र उनकी श्रीमती होटलकै काममा व्यस्त थिए। छिमेकीहरु ‘बाढी आयो ख्याल गर्नु’ भन्दै बेसीबाट गाउँतिर उँभो लागे। लामाले पनि श्रीमतीलाई गाउँ हिँड्न भने।

पहिले पनि सानातिना बाढी आएकाले केही नहुने भन्दै उनले मानिनन्। 

मेलम्चीमा सुरुमा धमिलो पानीसहित बाढी आएको थियो। एकै छिनमा ठूलो आवाज सुने। हेर्दाहेर्दै दाजुको घर बग्यो। ठूला ठूला ढुंगा र कालो लेदोसहितको बाढी पस्यो। 

आँखैअगाडि यी सब भइरहँदा गाउँमा भने रुवावासी सुरु भइसकेको थियो। गाउँलेले लामा दम्पतीलाई बाढीले बगाएको ठानेका थिए। किनकि यो दम्पती गाउँ पुगिसकेको थिएन। 

उनीहरु सकुशल बाबुको घर पुगेपछि बल्ल रुवाबासी रोकिएको बताउँछन् लामा। ज्यान त जोगियो तर लाखौँ खर्चेको घर र खेत केही बाँकी रहेन। 

लामा भन्छन्, ‘एक्कासि बाढी आउँदा घरबाट केही निकाल्न पाइएन। घरको सम्झना आइरहन्छ।’

सुरुमा उनीहरु करिब २ महिना त्रिपाल टाँगेर बसे। अहिले कृष्ण कँडेलको इन्द्रेणी ग्रुपले दिएको केही रकमले बनाएको टिनको अस्थायी टहरोमा बस्छन्। खानका लागि संस्थाहरुले राहत दिएको थोरै चामल र दाल छ। त्यसैले गुजारा चलाइरहेका छन्। 

महिनौँदेखि बेघर बनेका लामा खण्डहर गाउँको पीडा सुन्न ‘सरकार’ नआएको बताउँछन्।

‘हामी पीडितले भनेर सरकारले सुन्दैन भन्ने थाहा छ, त्यसैले अपेक्षा पनि छैन’, उनले नेपालखबरसँग भने। 

मेलम्ची आयोजनाले फेरि स्थायी सडक बनाए त्यहीँ सानो होटल चलाएर गुजारा टार्ने उनको सोच छ। तर कताबाट कहिले बाटो बन्छ अझै टुंगो छैन। 

असार १ मा मेलम्चीमा बाढी आउनुअघि नै याङ्ग्रीमा बाढीले क्षति पुर्याएको थियो। दिउँसो याङ्ग्रीमा र साँझ मेलम्चीमा बाढी आएको थियो। दुई खोलाको बाढीले मेलम्ची खोला छेउछाउ सखाप पारेको थियो। 

याङ्ग्री र लार्के दोभानका बासिन्दा गोपाल स्याङ्बो पनि बाढी गएको ९ महिनासम्म क्षति हेर्न समेत कोही नआएको गुनासो पोख्छन्। 

‘याङ्ग्रीमा बाढीले गरेको क्षतिबारे सरकार नै जानकार छैन जस्तो छ’, स्याङ्बो भन्छन्, ‘अहिलेसम्म सरकार गाउँमा आइपुगेको छैन।’

याङ्ग्रीमा ३ वटा पुलसहित सडक र बस्ती बगाएको थियो। त्यसयता केही गैरसरकारी संघसंस्था राहत बोकेर गाउँ पुगे पनि सरकार पुगेको छैन। घर, खेत बाढीले लगेपछि उनीहरु अस्थायी टहरामा बसेका छन्। यांग्री पुग्न पनि बाटो र पुल नहुँदा घण्टौँ हिँड्नुपर्छ। 

‘असारमा आएको बाढीले बाटो, पुल बगायो। २५ मिनेटमा पुगिने सडकमा घण्टौँ हिँड्नुपर्ने बाध्यता छ’, स्याङ्बो भन्छन्, ‘गाउँमा जाने पहुँच मार्ग नै छैन। बाटो खोलाले बगाएपछि काठका भर्याङ बनाएर स्थानीय आउजाउ गर्न बाध्य छन्।’

हुन पनि याङ्ग्री बस्तीमा पुग्ने सडकको ट्रयाक अहिलेसम्म खोलिएको छैन। 

मेलम्ची खानेपानी आयोजनाले स्थानीय पुनरुत्थानको लागि सरोकार समितिलाई वार्षिक ६ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। तर बाढी आएको वर्ष घटाएर साढे ३ करोडमा झारेको स्थानीय बताउँछन्। 

फेरि बर्खामा सम्भावित वितण्डाको डर 
बर्खा आउन अब ३ महिना बाँकी छ। हेलम्बुदेखि मेलम्चीसम्म १०–१७ मिटर उचाइसम्म ढुंगा, गिट्टी, बालुवाले भरिएको छ। 

पहिले घरखेत भएको ठाउँमा अहिले खोला बगिरहेको छ। वर्षायाम सुरु भएसँगै बाँकी गाउँ बगाउने चिन्ता छ मेलम्ची नगरपालिका वडा नं. ६ का भरत थापालाई।  

‘बाढीबाट जति क्षति गत असारमा भयो। अहिलेसम्म खोला पुरानो अवस्थामा नफर्किएकोले अब बाढी आए सबै बस्ती बगाउनसक्छ’, थापा भन्छन्, ‘हिउँद सकिएर वर्षातको समय सुरु हुँदै छ। फेरि बाढी आए मेलम्चीले थेग्न सक्दैन।’

बाढी नआउँदासम्म थापाको घर र मेलम्ची खोला १५०–२०० मिटर टाढा थियो। अहिले घर र खोलाको दूरी करिब २० मिटरमा खुम्चिएको छ। 

‘बसेको बस्ती, आउजाउ गर्न बाटो, पुल संरक्षण गरी खोलालाई पुरानै धारबाट हिँडाइदिने हो भने यो क्षेत्रमा थप क्षति हुन जोगिन्थ्यो’, थापाको विश्वास छ। 

मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिका असारको बाढीले प्रभावित छन्। 

स्थानीय तहहरु अहिलेसम्म कति घरधूरीलाई क्षति पुर्याएको एकीन तथ्यांक उपलब्ध गराउन सक्दैनन्। मेलम्ची नगरपालिकादेखि हेलम्बु गाउँपालिकासम्म मात्रै ५ सय घर विस्थापित भएको स्थानीयको आकलन छ।  

९ महिनासम्म स्थानीयले खेतीयोग्य जमिनसँगै खोलानजिकका बस्तीलाई जोगाउन तटबन्ध नबनाइदिँदा स्थानीय आक्रोशित छन्। मेलम्ची र याङ्ग्री लार्के खोला छेउ रहेका करोडौँका सम्पत्ति विद्यालय, स्वास्थ्य चौकी जोखिममा छन्। 

सिंहदरबार धाउँदै बाढी पीडित
बाढीपीडितको राहतका लागि तत्कालीन ओली सरकारले प्रतिपरिवार ५ लाख दिने घोषणा गर्यो। तर केही नपाएको बताउँछन् स्थानीय। योबीचमा सरकार फेरियो, मन्त्री फेरिए तर बाढी पीडितलाई कसैले मल्हम लगाएन। 

तीनै तहका सरकारले चासो नदिएपछि पीडित आफैँ सिंहदरबार धाइरहेका छन्। मेलम्ची आयोजना प्रभावित बाढीपीडित सरोकार समिति नै बनाएर आन्दोलन नै सुरु गरेका छन्। 

समितिका संयोजक उपेन्द्र तामाङ सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलाई बाढी प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरी विदेशी निकायसँग रकम जम्मा गरे पनि राहत नपाएकोमा आक्रोशित छन्।  

स्थानीय तहले बाढीपीडितलाई अस्थायी टहरा बनाउन २५ हजार रुपैयाँ दिएको छ। सरकारले बाढीले जग्गा जमिन सबै गएकालाई कुनै ठाउँमा जग्गा व्यवस्था गरी घर बनाइदिने आश्वासन आए पनि अहिलेसम्म केही पाएका छैनन्। 

‘२०७२ सालमा भूकम्पले घर भत्काएपछि बेसी झरेका सिन्धुबासी बाढी पछि गाउँमा पुगेका छन्। गाउँमा जस्ताको टहरो हालेर बसेका छन्’, तामाङ भन्छन्, ‘गाउँमा पनि जग्गा जमिन नभएकाहरु सिन्धुपाल्चोकबाट विस्थापित भएर काठमाडौं, हेटौंडा, बारा जिल्लामा पुगेका छन्।’

बाढीले थुप्रै पुल बगाएको छ। हिउँदको समयमा खोलाबाटै गाडी र मानिस आउजाउ गरे पनि वर्षायाममा कसरी आउजाउ गर्ने स्थानीयलाई समस्या छ।  

स्थानीयले संघीयतापछि स्थानीय, प्रदेश सरकार बनिसक्दा पनि पीडित नै सिंहदरबार नै धाउनुपर्ने भन्दै जनप्रतिनिधिसँग असन्तुष्ट छन्। जनप्रतिनिधिले केन्द्रसम्म आवाज उठाउन नसक्दा राहत नपाएको स्थानीयको बुझाइ छ। 

स्थानीय तहसँग क्षमता छैन, केन्द्रले एक–दुई बर्खा हेर्ने
मेलम्ची नगरपालिकामा मात्रै २५६ घर डुबेका÷बगेका छन्। ती घरधूरीलाई विभिन्न वडामा स्थापित गर्ने प्रयत्न भएको छ। अस्थायी टहराको लागि २५ हजार दिइसकेका छन्। 

‘हामी घर नभएकालाई थप २५ हजार दिन सक्छौँ। स्थानीय तहको त्योभन्दा बढी क्षमता छैन। प्रदेश र केन्द्रले सहयोग गर्नुपर्छ’, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल भन्छन्।  

असार १ गते मेलम्ची नगरपालिकाले खोलाको किनारामा भएका सबैलाई आर्मी ब्यारेक, सामुदायिक भवन, विद्यालय भवनमा सारेको थियो। जसले घर, खेत बगरमा परिणत भए पनि स्थानीय बाँच्न सफल भए। 

अर्याल विस्थापित परिवारको संख्याका आधारमा दाल चामलसहित किचन सेट समेत हस्तान्तरण गरेको दाबी गर्छन्। 

‘मेलम्ची नगरपालिकाका बासिन्दालाई ४ वर्गमा विभाजन गरी राहत बाँडेका छौँ। १०, १५, २० र २५ हजार क्षतिको आधारमा बाड्यौँ’, अर्याल  सुनाउँछन्, ‘अहिले पनि खेतबारी नहुनेलाई दाल चामल वितरण गरेका छौँ।’

बाढीपीडित क्षेत्रका संघीय प्रतिनिधि शेरबहादुर तामाङ हुन्। 

उक्त क्षेत्रबाट निर्वाचित सांसद तामाङ बाढी जाँदा मन्त्री थिए। स्थानीयलाई विश्वास थियो उनले पक्कै बाढीपछिको पुनरुत्थानमा सहयोग गर्छन्। सरकार परिवर्तनसँगै मन्त्रीको पद गयो। तामाङले स्थानीयको मुद्दा केन्द्रमा स्थापित गर्न नसकेको गुनासो छ।

नेता तथा सांसद तामाङ स्थानीयको माग तत्काल सम्बोधन गर्न नसकेको स्वीकार्छन्। 

‘हामीले तत्काल स्थानीयको क्षतिपुर्ति गर्नसक्ने अवस्था छैन। प्रारम्भिक अनुमानमा १ खर्ब बढीको क्षति भएको छ’, पूर्वमन्त्री समेत रहेका उनी भन्छन्, ‘यति ठूलो क्षति तत्काल सम्बोधन हुन सक्दैन। विभिन्न चरणमा पुनर्स्थापित गर्छौँ।’

पहिरो आएको भेमाथाङको विषयमा अध्ययन भइरहेको उनले बताए। फेरि बाढी आउन सक्ने बताउँदै १–२ बर्खा हेरेपछि मात्रै दीर्घकालीन नीति बनाउनुपर्ने बताउँछन् तामाङ।

‘हामी सरकारमा हुँदा ५ लाख दिने निर्णय त गरेका हौँ’, उनी भन्छन्, ‘कुन ठाउँमा बस्ती बनाउने भन्ने टुंगो नलाग्दा कार्यान्वयनमा जानसकेको छैन।’

६ वटा मोटरेबल र १२ वटा झोलुंगे पुल बगाएकोले वर्षातको समयमा आउजाउ गर्नै समस्या देखिन्छ। खेतीयोग्य जमिन र बास नहुँदा स्थानीय आत्तिनु जायज भए पनि भूकम्पपछिको पुनर्निर्माण जस्तै काम गर्न सकिने उनलाई विश्वास छ। 

आफ्नो तहभन्दा माथि आएको खोला गहिर्याउने योजना तत्काल रहेको उनले सुनाए। 

‘अहिलेसम्म खोलालाई पुरानो लेभलमा लैजानसकेका छैनौँ। थप क्षति रोक्न खोला गहिर्याउनैपर्छ’, तामाङ भन्छन्, ‘त्यसको विषयमा योजना बन्दै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .